पाइपलाइनमार्फत पेट्रोल ल्याउन भर्टिकल ट्यांकहरुको निर्माण शुरु

लोकपथ
65
Shares

काठमाडौं । नेपाल आयल निगमले आगामी अंग्रेजी नयाँ वर्षमा पाइपलाइनमार्फत पेट्रोल ल्याउने गरी दोस्रो चरणको पाइपलाइन परियोजना अन्तर्गत भर्टिकल ट्यांकहरुको निर्माण शुरु गरेको छ ।

निगमको मधेस प्रादेशिक कार्यालय अन्तर्गत बाराको अमलेखगञ्जस्थित डिपोमा पेट्रोल र ट्रान्समिक्स ट्यांकको गत मंसिर २९ गते शिलान्यास गरी निर्माण कार्य शुरु भएको हो । निगमले मोतीहारी–अमलेखगञ्ज पाइपलाइनमार्फत २०७६ भदौदेखि डिजेल आयात गरिरहेको छ । मोतीहारी–अमलेखगञ्ज पाइपलाइन परियोजना डिजेल र पेट्रोल दुवै ल्याउने भएपनि पेट्रोल भण्डार गर्न ट्यांकी नहुँदा डिजेल मात्रै आयात भइरहको थियो ।

अमलेखगञ्ज डिपोका प्रमुख प्रदीपकुमार यादवले अंग्रेजी नयाँ वर्षमा पाइपलाइनमार्फत पेट्रोल ल्याउने गरी भर्टिकल ट्यांकहरुको निर्माणमा आवश्यक सबै तयारी पूरा गरी निर्माण कार्यको शुरुवात गरिएको बताए । उनले दोस्रो चरणको योजना निर्माणको लागि नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनले संयुक्त रुपमा लगानी गर्नेगरी सम्झौता भएर काम अगाडि बढेको बताए ।

उनले दुई वटा पेट्रोल ट्यांकमध्ये निगम र आईओसीले १/१ वटा ट्यांकको लागत व्यहोर्ने जानकारी दिए । प्रमुख यादवले पेट्रोल र डिजेल दुवै हुनसक्ने मिश्रित इन्धन राख्नका लागि २ वटा ट्रान्समिक्स ट्यांक र डिपोभित्रको सुरक्षाका लागि ३ हजार किलोलिटर क्षमताको फायरवाटर ट्यांक भारतीय पक्षले निर्माण गरिदिने बताए ।

उनले निगमले करिव ७५ करोड भारतीय रुपैयाँ खर्च गर्ने अनुमान गरिएको बताए । उनले निगमले एउटा पेट्रोल ट्यांक, २४ वटा रिफिलर, प्रयोगशाला, फायरफाइटिङ सिस्टम, ओडब्ल्युएस र पीएमसीसी कक्षको निर्माण गर्ने बताए । उनले निगमको १ अर्ब ५४ करोड भारतीय रुपैयाँ बराबरको खर्च हुने अनुमान गरिएको बताए ।

उनले भारतबाट डिजेल र पेट्रोल दुवै पाइपलाइनमार्फत आयात गर्दा ढुवानी र टेक्नीकल खर्चमा मासिक रुपमा निगमलाई १५ करोड रुपैयाँ वचत हुने बताए । उनले अहिले डिजेल मात्रै पाइपलाइनमार्फत आयात गर्दा ढुवानी भाडा र टेक्नीकल खर्चमा वार्षिक रुपमा करिव २ अर्ब रुपैयाँ वचत भएको बताए ।

उनले दोस्रो चरणको भर्टिकल ट्यांकहरु निर्माण कार्य आगामी डिसेम्बरसम्म सम्पन्न गरेर अंग्रेजी नयाँ वर्षमा पेट्रोल पाइपलाइनमार्फत आयात गरिने बताए । प्रमुख यादवले दोस्रो चरणमा ४ हजार १ सय किलोलिटर क्षमताका २ वटा पेट्रोल ट्यांक, २५० किलोलिटर क्षमताका २ वटा ट्रान्समिक्स ट्यांक, पेट्रोलको लोडिङका लागि २४ वटा पूर्ण स्वचालित लोडिङ वे (रिफिलर), पम्प हाउस र प्रयोगशालाको निर्माण हुने बताए ।

उनले फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्याउने ओडब्ल्युएस सिस्टम तथा पीएमसीसी कक्ष निर्माण समेत हुने बताए ।
उनले भने, ‘मोतिहारी अमलेखगञ्ज मल्टिप्रोजेक्ट पाइपलाइन हो । यसबाट पेट्रोल,डिजेल र मट्टितेल तीनवटै ल्याउन मिल्छ । पहिलो चरणमा निगमले पेट्रोल र मट्टितेल भण्डार र ल्याप बनाउन सकिएको थिएन ।

त्यसैले पाइपलाइनबाट डिजेल मात्रै आयात गरियो । पाइपलाइनबाट डिजेल तीन वर्ष आयात गरियो । पाइपलाइनबाट डिजेल आयात गर्ने एक दिन पनि अवरोध भएन । २४ घण्टा समेत सञ्चालनमा आयो । पाइपलाइनबाट डिजेल आयात गर्दा निगमको टेक्निकल लागतलाई शुन्यमा झा¥यो ।

डिजेल आयात गर्दा ढुवानी भाडा र टेक्नीकल खर्च वार्षिक रुपमा करिब २ अर्ब रुपैयाँ वचत भयो । पहिलो चरणमा केही काम बाँकी थियो । अहिले निगमले बाँकी रहेको काम दोस्रो चरणमा पेट्रोलको एउटा ट्यांकी,ट्रान्समिक्स ट्यांक र अटोमेसन लोडिङ वेबको निर्माणका लागि गत डिसेम्बर १५ तरिका दिन शिल्यान्यास भएर काम शुरु भएको छ । अहिले मेकानिकल र ठेकेदार कम्पनीले निर्माण कार्य शुरु गरिसकेको छ ।’

उनले सन् २०२३ को डिसेम्बरसम्म निर्माण कार्य सम्पन्न हुने बताए । ‘सन् २०२४ को जनवरी देखि पेट्रोल र मट्टितेल पनि पाइपलाइनबाट ल्याउनेछौँ । उनले भने, ‘डिजेल र पेट्रोल दुवै पाइपलाइनबाट आयात गर्दा निगमको मासिक रुपमा ढुवानी भाडा र टेक्नीकल लस गरे १५ करोड रुपैयाँ वचत हुन्छ । अहिले १९ हजार ८ सय किलो लिटर डिजल रहेको छ । ३४ सय किलोलिटर पेट्रोलको रहेको छ भने सबै निर्माण कार्य सम्पन्न भएपछि ४१ हजार ८ सय किलोलिटर डिजेलको भण्डार क्षमता हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?