सहायकस्तर कर्मचारीका लागि सेवाकालिन तालिम

लोकपथ
14
Shares

नेपालगन्ज । सहायकस्तर कर्मचारीहरुका लागि ३५ दिने सेवाकालिन तालिम सम्पन्न भएको छ । लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय प्रदेश सुशासन केन्द्र बाँकेले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सहायकस्तरका कर्मचारीहरुलाई ३५ दिने तालिम प्रदान गरेको हो ।

तालिमको समापन गर्दै लुम्बिनी प्रदेशका कानून सचिव राजेन्द्र थापाले कर्मचारीहरुका लागि निजामती सेवा ऐनको अभावमा कर्मचारीहरुको सेवावृत्ति विकासमा समस्या भएको भन्दै तत्काल कानून बनाउनुपर्नेमा जोड दिए ।

उनले सो सम्बन्धी कानूनका केही मस्यौदासमेत तयार रहेकाले तत्काल त्यसलाई अध्ययन र सुझाव लिइ विधेयकको रुपमा ल्याउनुपर्ने माग गर्दै प्रदेश प्रशिक्षण प्रतिष्ठानलाई तालिम केन्द्रका रुपमा स्थापना गर्न तयार भएको विधेयक पनि पास गर्नुपर्ने बताए ।

सचिव थापाले कर्मचारीको दक्षता भनेको तालिम र अनुभव भएकाले योग्यता अनुसार ज्ञान र सिपका आधारमा सेवाग्राहीलाई सरल र चुस्त सेवा प्रदान गर्न निर्देशन दिए । प्रदेश सुशासन केन्द्रका कार्यकारी निर्देशक कमानसिंह थापाले कर्मचारीहरुलाई बेलाबेलामा दक्ष बनाउनुपर्नेमा जोड दिँदै कर्मचारीको सकारात्मक सोचको व्यवहारमा परिवर्तन ल्याई सेवाग्राहीलाई राम्रोसँग सहजीकरण गर्नुपर्ने बताए ।

उनले एक दुई जना कर्मचारीको गल्तीले सबै कर्मचारी बदनाम हुने गरेको भन्दै कर्मचारीको व्यवहार र प्रवृृत्तिमा भर पर्ने भएकाले हाजिरी मात्र नभई त्यसले गर्ने काम र उपलब्धिको मुल्याकन गर्नुपर्नेमा जोड दिए । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले तालिमले कर्मचारीको ज्ञान, सीप र प्रवृत्तिको विकास गर्ने भएकोले सेवा प्रवाहका काममा सेवाग्राही सन्तुष्ट गराउने गरि सेवा दिनुपर्ने बताए ।

प्रदेश सुशासन केन्द्रका सुशासन विज्ञ प्रेम नारायण श्रेष्ठले तालिम पश्चात कर्मचारीले सेवाग्राहीलाई सरल, सहज र चुस्त सेवा पाउने आशा व्यक्त गरे । तालिम लिएका सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । तालिममा सहभागीहरु मध्ये दिनेश पोख्रेल र भगवती बुढलाई सर्वोत्कृष्टको प्रमाणपत्र वितरण गरिएको सुशासन केन्द्रका विष्णु न्योपानेले बताए ।

कार्यालय संचालन तथा व्यवस्थापन, शुसासन, दैनिक प्रशासन कार्यसम्पादन लगायतका विषयमा प्रशिक्षण दिइएको सुशासन केन्द्रका शाखा अधिकृत मनोजकुमार थारुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?