भण्डारण गरिएको सुन्तला कुहियो

लोकपथ
52
Shares

स्याङ्जामा शीतभण्डारमा भण्डारण गरिएको सुन्तला कुहिएपछि किसान चिन्तित भएका छन् । स्याङ्जा शीतभण्डार सहकारीले सञ्चालनमा ल्याएको शीतभण्डारमा भण्डारण गरिएको केही सुन्तला कुहिएको हो ।

किसानले बढी आम्दानी गर्ने उद्देश्यका साथ सुन्तला शीतभण्डारमा भण्डारण गरेका थिए । तर उल्टै कुहिएपछि घाटा हुने भन्दै उनीहरु चिन्तित बनेका हुन् । पुतलीबजारका रामबन्धु अर्यालले शीतभण्डारमा ५० क्यारेट सुन्तला भण्डारण गर्नुभएको थियो । केही दिन अघि हेर्दा छ÷सात क्यारेट जति सुन्तला कुहिएको उनले बताए । अब उहाँ चाँडै सुन्तला बिक्री गर्ने तयारीमा छन् । अहिले बोटबाटै प्रतिकिलो रु ८५ देखि रु ९० सम्ममा बिक्री भइरहेको छ । “कुहिन थालेपछि शीतभण्डारमा राखिएको सुन्तला प्रतिकिलो रु ५० देखि रु ६० सम्ममा बिक्री गर्नुपर्ने बाध्यता छ”, उनले भने ।

पुतलीबजार करेन्डाँडाका कृष्णजङ्ग केसीले भण्डारण गर्दाको बेला रु आठ लाख मूल्य पर्ने दुईसय ६६ क्यारेट सुन्तला भण्डारण गरे । सुन्तला कुहिएको पाएपछि उनले सस्तैमा सुन्तला बिक्री गर्न थालेका छन् ।

“मापदण्डअनुसार नै सुन्तला भण्डारण गरियो” उनले भने, “यस्तो प्राविधिक विषयमा व्यवस्थापन पक्षको लापर्बाहीका कारण धेरै किसानले नोक्सानी व्यहोर्नुपरेको छ ।” बर्सेनि रु एक लाख ५० हजारसम्मको सुन्तला बिक्री गरेर त्यसकै भरमा घरखर्च चलाउने किसान बढी मर्कामा परेको उनले बताए ।
किसानले बढी मूल्य पाउने आशामा भण्डारण गरेको सुन्तला कुहिँदा घाटा खेप्नुपर्ने बाध्यता तथा पेशाबाट नै पलायन हुने चिन्ता छ । गत वर्ष सुन्तला तथा आलुको भण्डारण राम्रो भए पनि यसपटक के कति कारणले सुन्तलामा खराबी आयो भन्नेबारे अध्ययन भइरहेको शीतभण्डारका अध्यक्ष अनन्तकुमार श्रेष्ठले बताए ।

स्याङ्जामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला सुपरजोन सञ्चालनमा छ । जिल्लाका विभिन्न ठाउँमा उत्पादन भएका सुन्तला यहाँ भण्डारण गरिएको थियो । भण्डारण गरिएको सुन्तलामा खराबी देखिएपछि सुन्तला सुपरजोन, कृषि ज्ञानकेन्द्र स्याङ्जा, रामपुर कृषि क्याम्पसलगायतका कार्यालयबाट प्राविधिक आएर निरीक्षण तथा अध्ययन गरिरहेको अध्यक्ष श्रेष्ठले बताए ।

हाल एक हजार तीन सय टन क्षमताको शीतभण्डार सञ्चालनमा छ । सोही ठाउँमा एक हजार दुई सय टन क्षमताको अर्को शीतभण्डार निर्माणको क्रममा छ ।

यसपटक सुन्तलाको उत्पादन धेरै भएकाले किसानले धेरै सुन्तला भण्डारण गर्न ल्याएको सुन्तला सुपरजोन कार्यक्रमका प्रमुख माधव लम्सालले बताए । शीतभण्डारमा भण्डारण गरिएको सुन्तला केही मात्रामा कुहिएपछि धेरै भण्डारण गर्ने किसानलाई बढी मर्का परेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?