चैत ५ मा होला स्ववियु निर्वाचन ? (भिडियोसहित) 

यतिबेला राजनीतिक दलहरुको नर्सरी मानिने विद्यार्थी संगठन कमजोर बनेका छन् । विद्यार्थी राजनीति पनि सेलाएको छ । समयमै महाधिवेशन हुन नसक्नु र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन नसक्नाले शैक्षिक मुद्दाहरु समेत ओझेलमा परेका छन् ।

हरेक दुई दुई वर्षमा गरिनुपर्ने स्ववियु निर्वाचन २०६५ सालयता हुन सकेको छैन । ‘मिनी पार्लियामेन्ट’ को रुपमा हेरिने स्ववियुको चुनाव हुन नसक्नुले विश्वविद्यालय र क्याम्पसहरुमा बेथिती बढेको र शैक्षिक बहसहरु समेत कमजोर बन्दै गएका छन् ।
त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते देशभरका सरकारी तथा सामुदायिक क्याम्पसमा स्ववियू चुनाव गर्ने तयारी गरेको छ । तर एक दशकदेखि निर्वाचनको मिति तोकिँदै भत्किँदै आइरहेको कारण तोकिएकै मितिमा चुनाव हुने हो वा होइन भन्ने संशय पैदा भएको छ ।

हाल त्रिविका ६२ वटा आंगिक तथा सामुदायिक र प्राइभेट गरी १ हजार ४० वटा सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् । प्राइभेटबाहेक अन्य सामुदायिक क्याम्पसहरुमा विद्यार्थी संगठनको प्रत्यक्ष गतिविधि हुन्छ । २०६५ पछि ०७३ मा देशभरका २६ वटा क्याम्पसमा मात्र स्ववियु निर्वाचन भयो । तर त्यसपछि पनि पटकपटक मिति तोकिँदै तोडिँदै आएको छ ।

त्यसले एकातिर विद्यार्थी आन्दोलनलाई कमजोर बनाइरहेको छ भने अर्कोतिर विद्यार्थी राजनीतिकै लागि वर्षौदेखि कलेज कुरेर बसेका विद्यार्थी नेताहरुको भविष्य नै अन्यौलमा परेको छ ।

हरेक राजनीतिक दलको नर्सरीको रुपमा हेरिन्छ भ्रातृ संगठनलाई । ०३६ सालको विद्यार्थी आन्दोलनदेखि ०६२–०६३ को गणतान्त्रिक आन्दोलनमा विद्यार्थीले देखाएको सक्रियताले दलहरुलाई थप बल दिएको थियो । तर अहिले तीनै दलका भ्रातृ संगठनहरु अन्यौलमा छन् ।

अहिलेका अधिकांश केन्द्रीय नेता पार्टीका भ्रातृ संगठनको नेतृत्व गर्दै उक्त भूमिकामा पुगेका हुन् । तर अहिले तीनले खोलो तर्यो लौरो बिर्सो जस्तो गरेको देखिन्छ ।

देशको सबैभन्दा पहिलो र ठूलो त्रिभुवन विश्वविद्यालय अहिले समस्याको दलदलमा फसेको छ । स्ववियु विहीनताको अवस्थाले समयमा परीक्षा नहुने र परीक्षा भए समयमा नतिजा ननिकाल्ने हुँदा पनि विद्यार्थीको आवाज बाहिर आउन सकिरहेका छैनन् । त्रिविले स्ववियु निर्वाचनको मिति घोषणा गरेसँगै विभिन्न क्याम्पसमा राजनीतिक माहोल तातेको छ । तर अझै स्ववियु निर्वाचन हुन्छ नै भन्नेमा न त्रिवि विश्वस्त छ, न विद्यार्थी संगठनहरु नै । यसपाली पनि स्ववियु निर्वाचनको हालत ‘हात्ती आयो हात्ती आयो फुस्सा’ हुनेत होइन भन्ने आशंका पनि छ ।

यता स्ववियु निर्वाचन गराउने त्रिभुवन विश्वविद्यालयको अधिकारप्राप्त निकाय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्रा।डा। पशुपति अधिकारी भने चैत ५ मा निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गर्दछन् । सबै विद्यार्थी संगठनका अध्यक्षहरुसँग छलफल गरेको र सबैले ऐक्यवद्धता जनाएकाले आंशका गर्नुपर्ने ठाउँ नदेखिएको उनी बताउँछन् ।

लामो समय स्ववियु नहुँदा त्रिवि सभामा विद्यार्थीहरुको उपस्थिति न्यून भइ समग्र विद्यार्थीको हक हितका लागि लड्ने संस्था नभएकाले शैक्षिक समस्याका आवाज बाहिर नआएको उनको बुझाइ छ । जसले गर्दा अहिले विद्यार्थी संगठन र विश्वविद्यालय नै त्यसको महसुस गरी स्ववियु निर्वाचन गर्ने तयारीमा लागेका कारण अब निर्वाचन हुने उनी बताउँछन् ।

चुनावमा भाग लिने विद्यार्थी संगठनहरु भने जसरी पनि चुनाव गराउनुपर्ने बताउँछन् । विद्यार्थी, शिक्षक र कर्मचारीको त्रिपक्षीय सम्बन्धका आधारमा विश्वविद्यालयले आफ्ना गतिविधि अघि बढाइरहेको हुन्छ । शैक्षिक मुद्दा उठाउने आधिकारीक संस्था स्ववियु नै नहुँदा विद्यार्थीका पिरमर्का, पाठ्यपुस्तक समस्या, भर्ना र समयमा नतिजा प्रकाशन नहुने लगायतका समस्या शैक्षिक क्षेत्रमा विद्यमान छ । त्यस्तै त्रिवि सभामा विभिन्न नीति निर्माणहरु हुने गर्दछ । त्रिवि सभादेखि क्याम्पस सञ्चालक समितिसम्म स्ववियुका पदाधिकारी हुने भए पनि स्ववियु नै नहुँदा खास विद्यार्थीको प्रतिनिधित्व हुन सकेको छैन ।

यता नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा पनि स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने त्रिविको निर्णयले विद्यार्थी संगठनहरु सकारात्मक भएको बताउँछन् । पञ्चायतकालदेखि राजाले कु गरेको अवस्थामा समेत भएको स्ववियु निर्वाचन अब कुनै पनि हालतमा रोकिन नहुने शेर्पाले बताए ।

विश्वविद्यालयले विद्यार्थी संगठनलाई र विद्यार्थी संगठनले विश्वविद्यालयलाई देखाएर स्ववियु निर्वाचन नगराउने बहाना खोज्न नहुने भन्दै उनले आफ्नो संगठन चुनावका पक्षमा रहेको बताए । त्रिविले विद्यार्थी संगठनहरुलाई हस्ताक्षर गराएरै स्ववियु निर्वाचनको बहानाबाट नभाग्ने बनाउनु पर्ने उनको भनाइ छ ।

हिजो विद्यार्थी आन्दोलनकै कारण देशमा ठूला राजनीतिक परिवर्तन भएको बताउँदै अबको विद्यार्थी, शैक्षिक र सामाजिक आन्दोलन युवाहरुलाई आत्मनिर्भर बनाउने बाटोमा लाग्नुपर्ने उनले बताए । स्ववियू निर्वाचन हुन नसकेको अवस्थाले विद्यार्थी आन्दोलन नै कमजोर भएको बताउँदै उनले नियमित गर्न सकेको भए नयाँ नेतृत्व आउने मात्र नभई शैक्षिक बहस पनि थालिन्थ्या भने ।

सत्तारुढ नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका उपाध्यक्ष इन्द्र भुसाल पनि आफ्नो संगठन पूर्ण रुपमा स्ववियु निर्वाचन गराउने पक्षमा रहेको बताउँछन् । स्थापना कालेदखि नै स्ववियुले शैक्षिक गुणस्तर, विद्यार्थीको अतिरिक्त क्रियाकलाप अभिवृद्धिका लागि भूमिका खेलेको थियो । तर स्ववियु नहुँदा शैक्षिक क्षेत्रमा विकृति मौलाएको उनले बताए ।

अब घोषित मितिमै स्ववियु निर्वाचन हुनेमा कुनै शंका नरहेको बताउँदै उनले कुनै पनि संगठनले आफ्नो अनुकुलता नभएको भन्दै निर्वाचन रोक्नि नहुने बताए ।
निर्वाचनले विद्यार्थीको प्रतिनिधि छान्ने र तिनै प्रतिनिधिले विद्यार्थीको समस्या समाधान गर्नेदेखि शैक्षिक मुद्दामा काम गर्ने भन्दै उनले देशमा प्रतिकूल अवस्थामा समेत गराइएको निर्वाचन अहिले नहुने प्रश्नै छैन भने ।

पहिले विद्यार्थी संगठन सडक संघर्षमा जानुपरेको भन्दै उनले सिर्जनशीलतातिर लाग्नुपर्ने बताए । विद्यार्थीका सबैखाले क्षमता अभिवृद्धि गर्ने थलो स्ववियु रहेको र शैक्षिक बेरोजगारी अन्त्य गर्न समेत स्ववियुले भूमिका खेल्नुपर्ने उनी बताउँछन् ।

नेकपा एमाले निकट अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने पनि आफ्नो संगठन स्ववियु निर्वाचनको लागि तयार रहेको बताउँछन् । स्ववियुको औचित्यमाथि प्रश्न उठाउनेहरुलाई चुनौती दिँदै नमुना स्ववियु बनाउन सबै विद्यार्थी संगठनहरु लाग्नुपर्ने उनको भनाइ छ । त्रिवि पदाधिकारीदेखि क्याम्पस प्रशासन र विद्यार्थी संगठनहरुको सहकार्यबाट मात्रै निर्वाचन सम्भव हुने उनले बताए । अहिले पनि यो या त्यो बहानामा स्ववियुको निर्वाचन रोकिए विद्यार्थी नेता र समग्र आन्दोलनमाथि नै प्रश्न उठ्ने उनले बताए । त्रिवि मात्र नभएर अन्य विश्वविद्यालयमा पनि स्ववियु निर्वाचन हुनुपर्ने उनको जोड छ ।

लामो समय स्ववियु निर्वाचन नहुँदा विश्वविद्यालय र आंगिक क्याम्पसहरुमा विद्यार्थीको आवाज उठाउने मुख नै बन्द भएको उनले बताए । आधिकारिक कमिटी नहुँदा क्याम्पसभित्र अराजनीतिक गतिविधि भइरहेकाले चुनावले यो सबै बेथिति रोक्ने उनले बताए । यसबाट देशको भावी नेतृत्वकर्ता पनि जन्मनसक्ने उनको भनाइ छ ।

नेविसंघ, अखिल क्रान्तिकारी लगायत विद्यार्थी संगठन निर्वाचन भाड्ने लागेको आरोप लगाउँदै उनले चुनाव सार्ने बाटोमा नलाग्न सरोकारवालाई उनले चेतावनी पनि दिए । विद्यार्थीहरुको अबको बाटो पहिलेझै सडक संघर्ष नभई समाजका विकृती विसंगतीलाई चिर्ने हुनुपर्ने उनले उल्लेख गरे ।

स्ववियु कतिपय सन्दर्भमा विद्यार्थीका लागि राम्रो गर्ने निकाय मात्र भएको छैन, सरस्वतीको मन्दिरलाई विकृत राजनीतिको थलो बनाउने दोष पनि यसका नेतृत्वकर्तालाई जान्छ । उसलाई शैक्षिक क्यालेण्डरसम्म लागू गर्न नदिएको आरोप बेलाबखत लाग्ने गरेको छ । यद्यपि, विद्यार्थी संगठनले उठाएका शैक्षिक मुद्दामा विश्वविद्यालय र क्याम्पसले समयमै समाधान खोजिदिए शैक्षिक उन्ननयनमा थप बल पुग्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?