प्रेमको आत्मदाहले छेडेको बहस : ‘राज्यले भुईंमान्छेलाई हेरोस्’

लोकपथ
208
Shares

देशको कानुन बनाउने सांसदहरु पस्ने मूल द्वारमै मंगलबार एक युवाले आत्मदाह गरे । नाम प्रेम भए पनि उनले आफ्नै ज्यान र आत्मालाई प्रेम गर्न सकेनन् । यसको पछाडी सयौँ कारण उजागर गरेर उनी बिदा भए ।

सामाजिक सञ्जालमा आत्मदाह अघि प्रेमले पोखेका भावनाहरुले हुबहु देशको अवस्था चित्रण गर्दछ । देशमै केही गर्छु भन्ने युवाले कसरी आफैँबाट हार खाएर आत्मदाहको बाटोमा पुग्दछ भन्ने यथार्थ चित्रण छ । ती हरफहरु पढिरहँदा देशको वास्तविक अवस्था झल्झल्ती आँखामा नाच्दछ ।

एउटा मात्र विषयवस्तु छैन, सरकारको लाचारीपन, युवाको बाध्यता, व्यवसायीको बाध्यता, अँध्यारो अनुहार लगाउने कसैलाई मानसिक रोगी करार गरेर आत्महत्यासम्म पुर्याउने समाजको निरीहपन समेत प्रेमले सन्देशको रुपमा छोडेर गएका छन् ।

देशमा केही हुँदैन भनेर देश चरम निराशामा रहेका बेला गरे के हुँदैन ? भन्ने भाष्य स्थापित गर्न गरेको सयौँ प्रयास नगरेका होइनन् । तर ती सबै प्रयास असफल भएपछि ३६ वर्षीय प्रेम आचार्यले जीवनबाटै हार खाएर मृत्युमार्ग रोज्न बाध्य भए । जसले ठूलो बहसको विषय बनाएको छ । यदि नागरिकप्रति सचेत राज्य हो भने ठूलो सोचनीय विषय हो ।

उनको मृत्युलाई एकातिरबाट कायरताको नजरले पनि हेरिएको छ । प्रयासहरु असफल भए भन्दैमा किन जीवनबाटै बिदा लिनुपर्यो ? यस्ता भाष्यहरु पनि सामाजिक सञ्जालमा देखिन्छन् । यदी उनी कायर हुन्थे त उनी सुटुक्क मृत्युवरण गर्थे भन्ने भनाइ र तर्क पनि सञ्जाल र सञ्चार माध्यममा छाइरहेका छन् ।

उनले नामै किटेर आफूलाई मर्न बाध्य बनाउनेहरु सार्वजनिक गरेका छन् । जसले राज्यको निरीहता देखाउँछ । किन कोहीले आफैँलाई मर्न बाध्य बनाउँछ भन्ने मनोवैज्ञानिक पाटो पनि होला तर यहाँ एकातिर राज्यको निरीहता र अर्कोतिर हाम्रो समाजको खराब चित्रलाई समेत फेहरिस्त प्रस्तुत गरेका छन् । प्रेम त मरे, तर प्रेमकै नियती भोगिरहेका हजारौँ प्रेमहरुको बारेमा सरकार कति सचेत छ ? हजारौँ प्रश्न जन्माएको छ । अब राज्यले अरु प्रेमहरुलाई मर्नबाट रोक्न के गर्छ ? मुख्य कुरा यही हो ।

भनिन्छ मान्छेले मृत्युअघि सत्य बोल्छ रे । प्रेमले कति सत्य बोले वा बोलेनन् भन्ने आफ्नै पाटो होला तर जे बोलेका छन्, त्यो यथार्थ हो । उनले उठाएका समस्या व्यवसाय गर्छु भन्नेहरुलाई मात्रै होइन् सामान्य नागरिकलाई समेत आभास हुन्छ । सास फेरेको समेत कर लिने सरकारले त्यही करबाट आम नागरिकको जीवन उकास्न कति काम गर्यो ? प्रश्न उठ्छ ।

देशमा सात दशकको अवधिमा धेरै व्यवस्था फेरियो तर अवस्था भने जस्ताको तस्तै छन् । अझ अन्य देशसँग तुलना गर्ने हो भने देश ध्वंशको दलदलमा फसेको छ । राज्यका अंगहरु फोहारी राजनीतिको दलदलमा फसाइएको छ । पद्धतीहरु भत्काइएको छ । देशमै केही गर्छु भन्नेहरुका लागि न यहाँ वातावरण छ, न गरेकाहरुलाई प्रोत्साहन नै । अहिले असल ब्रेनहरु विदेशीन बाध्य छन् । धनी र सुविधा सम्पन्न देशका लागि जान सहज हुन्थ्यो भने यो देश कुरेर को बस्थ्यो होला ? अहिलेको अवस्थाले त्यहि देखाउँछ । यतिसम्मकी न्याय खोज्न जाने अन्तिम स्थान न्यायालयमा नै न्याय किनबेच हुँदा राज्यबाट नागरिकले पाउने भनेको त्यही नेपालीको नागरिकको दर्जा मात्रै हो भन्दा फरक पर्दैन । अर्कोतिर ‘म नेपाली हुँ’ भन्ने प्रमाण अर्थात् नागरिकता पाउनका लागि समेत नागरिकले ठूलो सास्ती पाइरहेका छन् ।

प्रेमको मृत्यु दुई दिन सामाजिक सञ्जालको संवेदना र सञ्चार माध्यमलाई मसलाको विषय मात्र होइन । उनले उठाएका विषयमा मात्र राज्यले अलिकति ध्यान दिने हो भने देशका धेरै समस्या सुल्झिनेछन् । राज्यले नागरिकमा कर माथि कर, हरेक क्षेत्रमा बिचौलिया प्रथा, व्यवसायमा ठूला व्यवसायीको सिन्डीकेट, बैंकहरुको मनोमानी ढंगको ब्याजबृद्धिदेखि गिजोलिएको राजनीति र वैकल्पिक राजनीतिको नाममा गरिएको कूनीतिलाई प्रेमले देखाइदिएका छन् ।

उनको मृत्युलाई मनोवैज्ञानिक कारण मात्रैले मृत्यु भयो भन्नु अन्य पीडा भोगिरहेकाहरुका लागि अन्याय हुन्छ । उनले प्रयास नगरेका होइनन्, उनले आफ्नो प्रयास आफू र परिवार धान्नका लागि मात्र गरिएको मात्र पनि पक्कै होइन र थिएन् पनि ।

जाँदाजाँदै उनले मृत्यु र सम्झना मात्रै छाडेर गएका छैनन् । उनले एकातिर कसरी देशमै केही गर्छु भन्नेलाई निरुत्साहित गरिन्छ भन्ने कुरा देखाएका छन् भने अर्कोतिर समस्या समाधानका विकल्प पनि सुझाएका छन् । ती उपायलाई प्रयोग गरिने हो भने राज्य सञ्चालनमा देखिएको निरीहपन केही हल हुनेछ ।

उनको मृत्युपछि व्यवसायी र आम नागरिकको मनोवैज्ञानिक पक्षबारे ठाडो कान लगाउनु पर्ने राज्य पेट्रोलियम पदार्थ खुला बेच्न रोक्ने निर्णय गर्न पुगेको छ । जसले रोग एकातिर, औषधि अर्कातिर जस्तो देखिएको छ ।

मनोविश्लेषक बासु आचार्य मान्छे विभिन्न कारणले आत्महत्या गर्न बाध्य हुने बताउँछन् । असफलता, दिग्दारीपन, दृृष्टिकोणको खराबी, न्यूरो केमिकलको गडबढी, आवेगी मृत्यु बोर्डरलाइन मृत्यु (झुक्किएर मर्न बाध्य हुने) लगायत मृत्यु प्रवृत्ति मनमा हाबी भइसकेपछि मानिस आफूलाई सकाउन लाग्ने उनले बताए ।

‘मान्छे धेरै बाच्नका लागि प्रेरित हुने भए पनि विविधि कारणले मर्न बाध्य हुन्छ । कुनै कुनै अवस्था यस्तो आउँछ की बाँचेको अर्थ देख्दैन । त्यसलाई मृत्यु मूल प्रवृत्ति भनिन्छ । मृत्यु नै समाधान हो भन्ने लाग्छ । असफलता, दिग्दारीपन, दृृष्टिकोणको खराबी, न्यूरो केमिकलको गडबढी लगायत, आवेगी मृत्यु मुल प्रवृत्ति, बोर्डरलाइन मृत्यु मुल प्रवृत्ति (झुक्किएर मर्न बाध्य हुने)’ जस्ता कारण रहने उनी बताउँछन् ।

प्रेमको सवालमा भने उनले आफूले आत्मदाह गरेर अन्य युवा जो आफूजस्तै समस्यामा छन्, उनीहरुको समस्या समाधान राज्यले गरिदिओस् भन्नेबाट प्रेरित भएको आचार्य बताउँछन् ।

‘आफू टिक्न नकसेपछि अरु युवालाई पनि टिक्न नसक्ने वातावरण नहोस् भन्नका लागि देश र जनताका लागि आत्महत्या भन्ने गरिन्छ । त्यस्तो चाँही अफगानिस्तान पाकिस्तानतिर भएको सुनिन्थ्यो । यस्तो मृत्यु सुसाइट बम जस्तै हो, केही उद्देश्य प्रयोजनका लागि आफू मर्दिनु । देशको लागि मरिने आत्महत्या जस्तो देखिन्छ ।’ उनी भन्छन्, ‘भलै उनी आफू पीडामा थिए । टिक्न सकेनन्, आफू मात्रै सुटुक्क मरेनन्, यत्रो बहस नगरेको भए पनि त्यति गरेपछि आफ्नो पनि समस्या समाधान हुने र आफूले जस्तो अरुले समस्या नभोगिदिएको भए हुन्थ्यो भन्ने कुराले मृत्युतिर पे्ररित भएको देखिन्छ ।’

काठमाडौंको तीनकुनेमा मनोविश्लेषण केन्द्र सञ्चालन गर्दै आएका आचार्य आफ्नो क्लिनिक र आफूसँग व्यवसायमा असफल हुनेहरु समेत ठूलो मात्रामा आउने गरेको बताउँछन् । व्यवसायमा असफल भएर आउनेहरु काउन्सेलिङ र औषधिको सपोर्टपछि पुनः आफ्नो काममा फर्किएको अनुभव उनीसँग छ ।

राज्यले आम नागरिकको मानसिक स्वास्थ्यलाई पनि ध्यानमा राख्नुपर्ने उनको जोड छ । विश्वमा नै मानसिक समस्या जटिल बन्दै गइरहेको अवस्थामा नेपालमा राज्यले त्यतातिर ध्यान दिन नसकेको उनको बुझाइ छ ।

सरकार, प्रेमको मृत्युले ठूलो बहस सिर्जना गरेको छ । प्रेम त मरेर गए । उनले आफ्नो आत्मा त खरानी बनाए तर वर्षौँदेखि राज्यको सम्पत्ति र नीतिलाई खरानी बनाएकाहरुको नांगो नाँचलाई उजागर गरिदिएका छन् । के राज्य अझै आँखामा पट्टी बाँधेर न्यायको भाषण मात्र गरेर बस्छ की नागरिकको ज्यान जोगाउनतिर लाग्छ आउने दिनमा देखिएला !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?