राप्ती सोनारीका सबै वडामा प्रसूतिगृह निर्माण हुँदै

लोकपथ
7
Shares

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकाले एक वडा एक प्रसूतिगृह निर्माण गर्ने नीति कार्यान्वयन शुरु गरेको छ । प्रसूतिगृह नभएका वडामा भवन निर्माण शुरु गरिएको गाउँपालिका अध्यक्ष तप्त पौडेलले बताए ।

उनका अनुसार, प्रसूति गृह नभएको राप्ती सोनारी गाउँपालिका–६ मा भवन निर्माण शुरु गरिएको छ । वडा नं ६ फत्तेपुरको कमैयाँडाँडामा प्रसूति गृह निर्माण शुरु भएको छ । वडामा प्रसूति गृह नहुँदा सुत्केरी हुने महिलालाई वडा नं ७ स्थित फत्तेपुर स्वाथ्य चौकीमा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै गाउँपालिकाले प्रसूतिगृह निर्माणका लागि रू २५ लाख बजेट विनियोजन गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिए ।

राप्ती सोनारी–६ कमैयाँडाँडास्थित आधारभूत स्वाथ्य केन्द्र नजिकै तीन कोठे प्रसूतिगृह निर्माण शुरु भएको राप्ती सोनारी गाउँपालिका–६ नं वडाध्यक्ष लवराज खरेलले बताए । वडामा प्रसूतिगृह निर्माणपछि सुत्केरी हुन टाढा जानुपर्ने बाध्यता अन्त्य हुने उनले बताए । आधारभूत स्वाथ्य केन्द्रमा गर्भवती जाँच भए पनि प्रसूतिगृह नहुँदा सुत्केरी हुन फत्तेपुर स्वाथ्यचौकी जानुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

राप्ती सोनारी गाउँपलिका जनसंख्याको हिसाबले नेपालकै सबैभन्दा ठूलो गाउँपालिका हो । गाउँपालिकाकोे अधिकांश क्षेत्र बाँके जिल्लाको उत्तर भावर क्षेत्रलाई समेटेको छ ।

पूर्वमा दाङ जिल्ला, पश्चिममा कोहलपुर नगरपालिका र डुडुवा गाउँपालिका, उत्तरमा दाङ र सल्यान जिल्ला र दक्षिणमा नरैनापुर गाउँपालिका र भारतीय सीमानाको चौघेरामा यो गाउँपालिका रहेको छ । साविकका छवटा गाविस खासकुश्मा, कचनापुर, बैजापुर, बिनौना, फत्तेपुर र महादेवपुरी मिलेर निर्माण भएको यो गाउँपालिका ९ वडामा विभाजित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?