खेलमा पस्नेबित्तिकै कोही खेलाडी पनि च्याम्पियन हुँदैन: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयतालाई लिएर खेलमा पस्नबित्तिकै कोही खेलाडी च्याम्पियन नहुने बताएका छन् । ओलीले आज बसेको अन्तर प्रदेश परिषद्को सिंहदरबारमा बसेको पहिलो बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

साथै उनले संघ, प्रदेश र स्थानीय तहको सहकार्यबाट देशलाई अगाडि बढाउनुपर्ने बताए । उनले नेपालमा संघीयता कार्यान्वयनको प्रारम्भिक चरणमा भएकाले आफ्ना अनुभवबाट सिक्दै बलियो बनाउन पहल गर्न सबैलाई आग्रह समेत गरे । नेपालको विषयमा संघीयता नयाँ विषय भएकाले यसलाई बलियो बनाउनुपर्ने धारणा राखे ।

‘मुख्यमन्त्रीको कार्यालय, प्रदेश मन्त्रीको कार्यालय, आवासजस्ता विषय केही समयअघिसम्म हाम्रो सोचमा थिएनन्, अहिले तिनलाई व्यवहारिक रुपमा प्रयोग गर्दा केही असजिलो महसुस गरेका हौँला,’ ओलीले भने, ‘खेलमा पस्नेबित्तिकै कोही खेलाडी च्याम्पियन हुँदैन, अभ्यास गर्दै गएपछि च्याम्पियन हुन्छ, हाम्रा लागि संघीयता त्यस्तै नयाँ खेल हो, यसमा हामी च्याम्पियन सावित हुनेछौँ ।’

उनले संघीयता कार्यान्वयनका लागि सरकारले गति बढाउनुपर्ने समेत बताए । उनले सरकार गलत बाटोमा नगएको तर गति बढाउन बाँकी भएको बताए ।

आजको बैठकमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्ना धारणा राखेका थिए ।

बाँकी तीन प्रदेशका मुख्यमन्त्रीहरुले भोलि सोमबार बस्ने बैठकमा आफ्ना धारणा राख्नेछन् । भोलि १० बजे सिंहदरबारमा पुनः बैठक बस्ने भएको छ ।

सङ्घ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्ने निकाय अन्तर प्रदेश परिषद्को पहिलो बैठक आजदेखि शुरु भएको हो । विभिन्न क्षेत्रमा देखिएक विवाद, संविधान, कानून, बजेट, नीति तथा कार्यक्रम र अधिकार लगायतका विषय उठाउँदै बैठक माग गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?