काठमाडौं । वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले राष्ट्रपति पद आफ्नो लागि नबनाएको बताएका छन् ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रश्नमा उनले राष्ट्रपति पदमा आफ्नो इच्छा नरहेको बताएका हुन् ।
उनले आफूले गर्ने कामको बारेमा राम्रोसँग जानकार रहेको र राष्ट्रपति पदमा गएर भन्दा बाहिर रहेर नै आफूले गर्नुपर्ने कामहरु धेरै रहेको बताए । उनले राष्ट्रपति पदलाई राम्रो बनाउनका लागि गर्नुपर्ने धेरै कामहरु रहेको पनि बताए । हालै बहराइनको प्रतिष्ठित इशा अवार्ड पाएपछि उनले आज पत्रकार सम्मेलन गरेका थिए । इशा अवार्ड पाएपछि सामाजिक सञ्जालमा डा. रुइतलाई राष्ट्रपति बनाउनुपर्ने आवाज उठेका थिए ।
उनले भने, ‘लोकतन्त्रमा राष्ट्रपतिको क्रेडेन्सियल र क्रेडिबिलिटी निकै ठूलो हुन्छ, चाहे रबरस्टाम्प नै किन नहोस् । हामी सबै मिलेर राष्ट्रपतिको गरिमा बढाउनुपर्ने छ । भारतमा कस्तो छ राष्ट्रपतिको पद, त्यसलाई पनि हेर्नुपर्छ । तर यो मेरो लागि होइन । मैले आफ्नो लिमिटेसन र स्थान राम्रोसँग बुझेको छु ।’
डा. रुइतले अन्तर्राष्ट्रिय अवार्ड एक नेपालीले पाउनु भनेको विश्व मानचित्रमा नेपालको आत्मसम्मान र प्रतिष्ठा बढ्नु रहेको बताए । उनले आफ्नो जीवनकै ठूलो कमाइका रुपमा इशा अवार्डलाई हेरेको बताए । उनले राज्यले यो अवार्डलाई कसरी लिन्छ भन्ने बारेमा आफूले ध्यान दिइरहेको पनि बताए ।
उनले नेपालमा आँखा उपचारको क्षेत्रलाई सबैतिर बिस्तार गर्न आवश्यक रहेको पनि बताए ।
उनले भने, ‘यस्तो खालको एउटा ग्लोवल अवार्ड नेपालीलाई दिनु गर्वको कुरा हो । संसारको मानचित्रमा नेपालले पनि यस्तो गर्दो रहेछ भन्नेकुरा थाहा भयो र नेपालीहरुको आत्मसम्मान, प्रतिष्ठा जुन अहिले अन्तर्राष्ट्रिय क्षेत्रमा गिर्दो अवस्थामा छ त्यसलाई बचाउन धेरै ठूलो सहयोग गरेको छ । यो जीवनकै कमाइ हो । यो जिन्दगीको तपस्याको फल हो । यही कुरा विदेशीले भन्दा नेपालीले दुई,तीन गुणा बढी मेहनत गर्नुपर्छ । मैले पहिला पनि पाउँथे होला यस्तो तर नेपाली भएको हुनाले समय लाग्यो । यो राज्यले बुझ्नुपर्ने कुरा हो की यो अवार्डले नेपालको आत्मसम्मान र चिनारीलाई कति माथि लगेको छ भन्ने । म राज्यले मलाई कसरी रेस्पोन्स गर्छ भनेर हेरिरहेको छु । हामीले अझैपनि नेपालमा पहुँच नपुगेका ठाउँमा धेरै ठाउँमा छ, त्यहाँ आँखाको क्षेत्रमा पहुँच बिस्तार गर्नुपर्छ । राज्यले स्वास्थ्यको क्षेत्रलाई धेरै बिस्तार गर्न आवश्यक छ । तिलगंगा आँखा प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय इन्स्टिच्युशन बनाउनुपर्छ ।’
डा. रुइतले आफ्नो पछिल्लो उपलब्धीलाई सरकारले कसरी लिन्छ भन्नेकुरा नियालीरहेको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया