सरकार निरंकुशता तर्फ उन्मुख : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र सरकारी काम कावारहीले सरकार निरंकुशता तर्फ उन्मुख भएको पुष्टि गरेको बताएका छन् ।

कर्मचारी यूनीयन संघ तनहुँले दमौलीमा गरेको कार्यक्रममा नेता पौडेलले अन्य सरकारी संरचनालाई पंगु बनाई प्रधानमन्त्री कार्यालयलाई मात्र बलियो बनाएर प्रधानमन्त्रीले प्रशासनमा नांगो हस्तक्षेप गरेको आरोप लगाए । “ठूल–ठूला आयोजनाहरु आफ्नै मातहतमा ल्याई देशभक्त इमान्दार कर्मचारीको मनोबल गिराउँदै स्वयं सर्वशक्तिमान बन्ने दाउमा प्रधानमन्त्री हुनुहुन्छ” पौडेलले भने । आफ्नो विरोध सुन्नै नसक्ने असहिष्णु प्रधानमन्त्री ओलीले बुद्धिजीवीहरुलाई नानाभाती गाली गलौज गरेर आफ्नो असली चरित्र देखाएको पौडेलको भनाइ थियो ।

२१ औं शताब्दीमा अलोकतान्त्रीक सोचको नेतृत्व नगर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिँदै पौडेलले आफ्ना विरोधीलाई अरिंगालले झै झम्टन निर्देशन दिने प्रधानमन्त्री अहिले अन्यत्र कहीँ नभेटिने दाबी गरे । निरंकुश शैलीले अघि बढिरहेको वर्तमान सरकारबाट संविधान कार्यान्यन हुने लक्षण नभएकाले नेपाली कांग्रेसको नेतृत्वले धैर्यता नगुमाई कार्य सम्पादन गर्नुपर्ने पौडेलले बताए ।

“प्रधानमन्त्री ओलीलाई उनलै दलका शीर्ष नेताहरुले समेत बहिष्कार गर्न थालिसके, तर उहाँलाई अझै आफू जस्तो कोही छैन भन्ने दम्भ छ” पौडेलले भने । यसैबीच नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर तीनले पोखरामा गरेको प्रशिक्षण कार्यक्रममा नेता पौडेलले वर्तमान सरकार सबै दृष्टिकोणले असफल भइसकेको दाबी गरे ।

“भ्रष्टाचार, कुशासन, महंगी, असुरक्षा र गिर्दो अर्थतन्त्रमा  अब्बल प्रमाणित भएको वर्तमान सरकारबाट अब जनताले के आशा गर्ने” पौडेलले भने । “बुद्धजीवीलाई गाली गर्ने प्रधानमन्त्री, पूजीँवादका कारण निर्मला पन्तको बलात्कारपछि हत्या  भएको ठोकुवा गर्ने निर्लज्ज गृहमन्त्रीबाट कसरी देश चल्छ ?” पौडेलको प्रश्न थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?