निर्माण व्यवसायीका जायज काममा सरकारी हस्तक्षेप अस्विकार्य : मन्त्री महासेठ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीका जायज  काममा सरकारी हस्तक्षेप अस्विकार्य भएको बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघले एघारौँ राष्ट्रिय निर्माण दिवसको अवसरमा शनिवार विहान राजधानीमा गरेको प्रभात फेरि कार्यक्रममा मन्त्री महासेठले व्यवसायीका काममा सरकारी हस्तक्षेप हुन नदिने बताएका हुन् । देश बनाउने जिम्मेवारी निर्माण व्यवसायी कै हो भन्दै मन्त्री महासेठले पूर्ण शक्तिका साथ देश निर्माणमा जुट्न व्यवासायीलाई अनुरोध गरे ।

“विगतमा व्यवसायी र सरकार दुवै पक्षबाट कमीकमजोरी भएहोेलान्, अब त्यस्ता कमीकमजोरी सच्चाएर अघि बढ्नुको विकल्प छैन”मन्त्री महासेठले भने । २०५२ साल देखि विभिन्न कारणले पूरा नभएका योजनाको म्याद थप गर्ने प्रक्रिया शुरु भइसकेको जानकारी पनि मन्त्री महासेठले दिए ।

महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायलाई स्थापित पेशा बनाउन महासंघको वर्तमान नेतृत्व क्रियाशील रहेको बताए । अहिलेको सरकारको नारा समृद्ध नेपाल सुखी नेपालीलाई साकार बनाउन महासंघ प्रतिबद्ध रहेको भन्दै अध्यक्ष सिंहले निर्माण मैत्री वातावरण अहिलेको आवश्यकता भएको बताए ।

महासंघका उपाध्यक्ष आङ दोर्जी लामा(एडी)ले भौतिक पूर्वाधारको निर्माण विना समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताए । महासंघका महासचिव रोशन दाहालले सरकार र व्यवसायीबीचको सहकार्यबाट मात्र निर्माण क्षेत्रको विकास हुने बताए । उपमहा सचिव टंक प्रसाद चौलागाईले व्यवसायीले निर्माण दिवसको महत्वमाथि प्रकाश पारेका थिए ।

सोही अवसरमा मन्त्री महासेठले महासंघको मुखपत्र “निर्माण समाचारको” विमोचन गरे । प्रभाति फेरि त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल हुँदै अनामनगरस्थित महासंघको सचिवलाय आएर टुंगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?