राजधानीका सडक धराप बन्दै : भत्काउन होडबाजी गर्नेहरु बनाउने बेला मुख लुकाउँछन्

उफ् काठमाडौंका सडक

काठमाडौं । हैट, नेपालका सडक ! यो एक वाक्य नै काफी छ, नेपालको सडक अवस्था चित्रण गर्न । सडकको बीच भागमै बडेमानका खाल्डाखुल्डी हुनु आम सडक उपभोक्ताका लागि कुनै अनौठो दृश्य होइनन् । वर्षौसम्म सडक कालोपत्रे नहुनु । भएकाको गुणस्तर पनि वर्ष नकट्ने हुनु नेपालीका लागि तीतो यथार्थ बनेको छ ।

बल्ल बल्ल कालोपत्रे भएको सडकमा खानेपानी, विजुलीका तार व्यवस्थापनका नाममा कालोपत्रे भत्काउनु त प्रथा जस्तै भइसकेको छ । सडक पक्की बनाउन ध्यान दिने सरकारले सडकको सुरक्षा र प्रवलीकरणमा चासो नदिँदा सडकमार्गहरु सवारी र यात्रुका लागि ‘मृत्युमार्ग’जस्तै बनिरहेका छन् । अझ यसरी समन्वय नगरी भटाभट सडक भत्काइनु निकै गम्भीर विषय हो । तर कोही कसैप्रति जिम्मेवार छैन ।

यो दृश्य काठमाडौंको मुटुमा रहेको लाजिम्पाटको हो । राष्ट्रपति भवन र प्रधानमन्त्रीको निवासकै आसपासमा रहेको यो क्षेत्रको सडकको दुर्दशा हेर्दा लाग्छ, यो काठमाडौं नभइ कुनै विकट स्थलको स्थान हो । ठिक अवस्थाको सडक एकाएक भत्काउने काम शुरु हुन्छ र महिनौंसम्म पनि बनाइन्न । जसका कारण यात्रु र सवारी चालक मारमा पर्दछन् । अनि कसैले पनि यस्तो मनपरी गर्नेलाई प्रश्न गर्दैन ।

काठमाडौंको लाजिम्पाटको यो सडकखण्डमा भेटिएका ट्याक्सी चालक राजु लामा सडक बेथितिप्रति रीसले मुरमुरिन्छन् । तर आफ्नो आक्रोश आफैंसँग भनेझै मात्र हुन्छ ।

विद्युतको लाइन भूमिगत गर्न खनेको सडक नबन्दै त्यहीँ खानेपानीको पाइप फुटेर अव्यवस्थित बनेको यो सडक भत्काइएको महिनौं हुँदा पनि कसैलाई चासो छैन । काम सकिएपछि पनि न विद्युत, न खानेपानी विभागले नै भत्काएको सडकमा पिच टाल्न आवश्यक ठान्छ, न त सडक विभागलाई तातो लाग्छ । अझ यही ठाउँमा खानेपानीको पाइप फुटेर हप्तौं अलपत्र हुँदा आवागमन नै बन्द गर्नुपरेको थियो । सडक निर्माणमा सरोकारवालाले चासो नदेखाएकामा स्थानीय रुष्ट देखिन्छन् । पानी आउँदा हिलो र घाम लाग्ला धुलो खानुपर्ने नियती बनेको उनीहरु बताउँछन् ।

सडक विभागले भने गुनासा आएपछि नेपाल दुरसञ्चार प्राधिकरण, खानेपानी मन्त्रालय लगायतहरुसँग सडक भत्काउन सीमित समय दिने र भत्काएको सडक मर्मत गर्न सम्झौता नै गरिसकेको जनाएको छ । सडक विभागका सूचना अधिकारी श्यामकुमार यादव समस्यालाई अर्काको काँधतिर मिल्काएर आफू चोखिन खोज्छन् ।

सबैको मस्ती गर्ने ठाउँ सडक बनेको छ । विद्युत, खानेपानी, ढलदेखि दुरसञ्चारसम्मले सडक अन्धाधुन्ध खन्छन् । समन्वय गर्दा एकै पटक खनेर हुने काम एकपछि अर्को गर्दै हुन्छ । एउटाले भत्काएको सडक टालेर सकिन्न अर्को निकाय बेल्चा र गैची बोकेर सडकमा उत्रन्छ । एकातिर दोहोरो कामले राज्यको ढुकुटी सत्यानाश हुने अर्कातिर नागरिकले सधैं दुःख पाउने यो नियती कहिले कस्ले सम्बोभन गर्ला ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?