माघीको तयारीमा थारु समुदाय

लोकपथ
0
Shares

कैलाली । थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएसँगै सो समुदाय तयारीमा जुटेको छ । खाद्यान्नको जोहो गर्ने, दुना टपरी बनाउने, दाउरा सङ्कलन गर्ने, तेल पेल्ने, घर लिपपोत, आँगन सरसफाइलगायत काममा थारु समुदाय व्यस्त छ ।

धनगढी उपमहानगरपालिका–३ का शेरबहादुर चौधरी माघीमा विशेष गरी बङ्गुरको मासु, माछा, घोंगी, गंगटोलगायत खाने चलन रहीआएकाले त्यसको तयारीमा जुटेको बताए । यस पर्वमा परिवारका सदस्यका लागि नयाँनयाँ लुगा किनमेल गर्न थालेको उनको भनाइ छ ।

रोजगारीका लागि बाहिरिएका परिवारका सदस्य यतिबेला पर्व मनाउन घर फर्कन थालेका छन् । ‘माघीमा पाहुना धेरै जम्मा हुने गर्छन्, पाहुँनाका लागि थरीथरीका खानाका परिकार अहिलेदेखि नै बनाउने तयारीमा जुटेका छौँ’, चौधरीले भने ।

पुसलाई बिदाइ गर्दै माघ १ गतेलाई स्वागत गर्नका लागि रातभर नाचगान गरेर जाग्राम बस्ने चलन रहेको थारू अगुवा बताउँछन् । माघे सङ्क्रान्तिको अघिल्लो दिन अर्थात पुस महिनाको अन्तिम दिन जिता मार्ने (बङ्गुर काट्ने) चलन छ । थारू समुदायको मुख्य पर्व भएकाले तामझामका साथ मनाउने तयारी भइरहेको थारु कल्याणकारी सभाका कार्यवाहक सभापति माधव चौधरीले बताए ।

‘माघे सङ्क्रान्तिका दिन विशेष गरी थारु समुदायमा बिहानै उठेर नजिकैको नदी तलाउमा गई नुवाइधुवाइ गरी घरमा अलग्गै छुट्याएर राखिएको चामल, नुन, तेल र बेसारलगायत खाद्यान्न छुने गरिन्छ’, उनले भने, ‘त्यसपछि आफूभन्दा ठूलाबाट आशिर्वाद लिने र सानालाई आर्शिवाद दिने गरिन्छ ।’

कोरोना संक्रमणका कारण केही वर्ष माघीको चहलपहल घटे पनि यस वर्ष भने हर्सोल्लासका साथ माघी पर्व मनाउने तयारीमा थारु समुदाय जुटेको छ । माघी पर्व मनाउन गाउँगाउँमा मेला तथा महोत्सवको आयोजना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?