उपराष्ट्रपति पुनले भेटे चिनियाँ राजदूत होङलाई

काठमाडौं ।  उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि चीनका राजदूत यु होङले शिष्टाचार बिदाइ भेट गरेका छन् । 

उपराष्ट्रपतिको कार्यालय बहादुर भवनमा आज भएको सो भेटमा उनीहरुबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको छ । 

सो अवसरमा उपराष्ट्रपति पुनले नेपालको विकास र समृद्धिको यात्रामा चीनको सदैव साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।  

उनले बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआइ) परियोजनामा हस्ताक्षर तथा नेपाल र चीनबीच व्यापार तथा पारवाहनसम्बन्धी प्रोटोकलमा भएको समझदारीले नेपालको विकास र समृद्धिको यात्रामा योगदान पु-याउने विश्वास व्यक्त गर्नुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिए ।

चीनका राजदूत होङले विकास र समृद्धिको यात्रामा नेपाल अगाडि बढेको देख्दा चीन अत्यन्त खुशी भएको बताउँदै उहाँले नेपालको विकास र समृद्धिको यात्रामा चीन सदैव सहयोगी बन्न चाहेको र यसमा आवश्यक सबै प्रकारको सहयोग गर्न तयार रहेको बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?