अष्ट्रेलियाका राजदूत शेर्पामाथि छानबिन गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले अष्ट्रेलियाका लागि नेपाली राजदूतमाथि छानबिन गर्न माग गरेको छ ।

बुधवार प्रेस नोट जारी गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि छानबिन गर्न माग गरेको हो । 

शेर्पामाथि ‘मानव तस्करीमा संलग्न’ भनी लागेको आरोपको सरकारले गम्भीर रुपमा लिनुपर्ने भन्दै छानविन माग गरेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी प्रेस नोटमा लेखिएको छ, ‘कुनै पनि देशमा प्रतिनिधित्व गर्ने राजदूत व्यक्तिगत जागिर नभई सिंगो राष्ट्र र राष्ट्रकै छविको प्रतिनिधित्व गर्ने गरिमामय जिम्मेवारी भएकाले राजदूतका बारेमा उठेको प्रश्न उपर तत्कालै सत्य तथ्य निरुपण गर्ने कर्तव्य नेपाल सरकारको रहेको स्मरण हामी गराउन चाहन्छौँ ।’

कांग्रेसले छानबिनका क्रममा दोषी ठहरिएमा तत्काल बर्खास्त गर्ने कदम चाल्न समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

राजदूतवासले यसअघि जारी गरेको विज्ञप्तिमा ओङ्छु शेर्पाले २०१७ नोभेम्बर २१ का दिन राजदूत निवासमा कोही नभएको मौका छोपी बहुमूल्य सामान चोरी गरी फरार भएपछि सो जानकारी परराष्ट्र मन्त्रालय, अस्ट्रेलियाको परराष्ट्र मन्त्रालयलगायत अन्य सम्बन्धित निकायमा गराइसकेको उल्लेख गरेको छ ।

यसअघि एक टेलिभिजन कार्यक्रममा राजदूत शर्पाका पूर्व चालक ओङ्छु शेर्पाले मानव तस्करीमा संलग्न भएको आरोप लगाएका थिए । 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?