बैतडीमा ‘सूचना प्रविधि सहायता कक्ष’ सञ्चालनमा

लोकपथ
39
Shares

बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले ‘सूचना प्रविधि सहायता कक्ष’ सञ्चालन गरेको छ । राष्ट्रिय परिचयपत्र र राहदानीका लागि आउने सेवाग्राहीहरुका समस्यालाई ध्यानमा राखेर प्रशासन हाताभित्रै ‘सूचना प्रविधि सहायता कक्ष’ सञ्चालन गरिएको हो ।

प्रमुख जिल्ला अधिकारीका सुरेश पन्थीका अनुसार राष्ट्रिय परिचय पत्र र राहदानीको प्रि–इनरोलमेन्ट फारम भर्न सेवाग्राहीलाई समस्या भएको गुनासो आएपछि ‘सूचना प्रविधि सहायता कक्ष’ सञ्चालनमा ल्याइएको बताए । उनले भने, ‘प्रि–इनरोलमेन्ट फारम भर्न सेवाग्राहीले महँगो शुल्क तिरेर भर्नुपर्ने बाध्यता रहेका थियो ।

सेवाग्राहीको समस्यालाई मध्यनजर गरेर फारम निःशुल्क रुपमा भर्नका लागि ‘सूचना प्रविधि सहायता कक्ष’ सञ्चालन गरेका हौँ ।’ सूचना प्रविधि कक्षबाट सेवाग्राहीलाई आवश्यक फारम उपलब्ध गराइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले ‘टाइम कार्ड’ पनि लागू गरेको छ । प्रजिअ पन्थीका अनुसार सेवाग्राहीलाई एक घण्टाभित्रै सेवा प्रदान गर्नका लागि ‘टाइम कार्ड’ लागू गरिएको हो ।

सेवाग्राहीको उच्च चाप, न्यून जनशक्ति, कमजोर पूर्वाधारलगायत चुनौतीका बावजुत कार्यान्वयनमा ल्याउन खोजिएको उक्त परीक्षण हाललाई पूर्ण कागजातसहित सम्बन्धित शाखाले रुजु गरेको एक घण्टाभित्र सेवाग्राहीलाई सेवा दिन थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?