काठमाडौं । प्रधनामन्त्री केपी शर्मा ओलीले नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न संवैधानिक परिषद् बैठक बोलाएको छ ।
प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आगामी पुस १७ गते अनिवार्य अवकाश पाउँदैछन् । मिश्रको अवकाश अगावै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।
सोमवार प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक परिषद् बैठकले नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नेछ ।
न्याय परिषद्ले एक साताअघि नै प्रधानन्यायाधीशका लागि योग्यता पुगेका दुई न्यायाधीश दीपकराज जोशी र चोलेन्द्रशमशेर राणाको नाम संवैधानिक परिषद्लाई बुझाएको छ ।
प्रधानन्यायाधीश हुन सर्वोच्चमा तीन वर्ष न्यायाधीश भइसकेको व्यक्ति हुनुपर्ने संवैधानिक व्यवस्था छ ।
परिषद्ले संविधानबमोजिम पद रिक्त हुनु एक महिनाअघि नै प्रधानन्यायाधीश सिफारिस गर्न लागेको हो । संविधानको धारा २८४ को उपधारा ३ मा ‘संवैधानिक परिषद्ले प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिना अगावै यस संविधानबमोजिम नियुक्तिका लागि सिफारिस गर्नुपर्नेछ’ भन्ने उल्लेख छ ।
प्रधानन्यायाधीश सिफारिस गर्ने संवैधानिक परिषद्मा प्रधानमन्त्री अध्यक्ष तथा सदस्यहरूमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभामा प्रतिपक्षी दलका नेता, प्रतिनिधिसभाका उपसभामुख तथा कानुनमन्त्री सदस्य रहने प्रावधान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया