खुलामञ्चलाई पार्किङस्थल बनाउन लागिएका महानगरपालिका अगाडि विरोध

लोकपथ
52
Shares

काठमाडौं । खुलामञ्चलाई पार्किङस्थल बनाउन लागिएको भन्दै टुँडिखेल संरक्षण अभियान ‘अक्युपाई टुँडिखेल’ले विरोध गरेको छ । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा ३ तले भूमिगत पार्किङ बनाउने योजना अगाडि सारेपछि अभियन्ताहरुले सोमवार महानगरको निर्णयको विरुद्धमा विरोध गरेका हुन् ।

उनीहरुले महानगरपालिकाको केन्द्रीय कार्यालय बागदरबार अगाडि विरोध प्रदर्शन गरेका छन् । अभियन्ताहरुले टुँडिखेल (खुलामञ्च) को ऐतिहासिक तथा पुरातात्विक महत्व मासिने गरी पार्किङ बनाउन नहुने बताउँदै विरोध गरेका थिए । स्थानीयवासी र संरक्षण अभियान्ताहरुले सोमवार विरोध जनाउँदै महानगरपालिकाका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डंगोललाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

टुँडिखेललाई पुरानै अवस्थामा फर्काउनुपर्ने उनीहरुको माग छ । उनीहरुले खुलामञ्चमा अण्डरग्राउण्ड पार्किङको सोच नै गलत रहेको बताउँदै आएका छन् । विरोध कार्यक्रममा बोल्दै ‘अक्युपाइ टुँडिखेल’ अभियानका प्रवक्ता सञ्जय अधिकारीले सार्वजनिक जग्गालाई हामी सबैले संरक्षण गर्नुपर्ने अहिलेको आवश्यक्ता भएको बताए । उनले जनतादेखि जनप्रतिनिधिहरु सार्वजिनक जग्गा संरक्षणका लागि गम्भीर हुनुपर्ने आवश्यक्ता रहेको बताएका छन् ।

उनले महानगरपालिकाको अहिले आएको युवा नेतृत्वले सार्वजनिक जग्गालाई सरकारी जग्गा बुझेर जनभावना विपरित काम गरिरहेको आरोप लगाए । उनले महानगरपालिका सार्वजिनक जग्गाको संरक्षक भएपनि मालिक नभएको बताए ।

त्यस्तै, अभियानको कार्यक्रममा सहभागी बनेका पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले काठमाडौं जस्तो ऐतिहासिक र सांस्कृतिक ठाउँमा जथाभावी संरचना बनाउन नमिल्ने बताए । उनले टुँडिखेलजस्तो ऐतिहासिक स्थानमा अण्डरग्राउण्ड पार्किङजस्ता कुनैपनि संरचना बनाउन दिनु नहुने बताए । उनले पार्किङ चाहिएको भए भृकुटीमण्डपमा अण्डरग्राउण्ड पार्किङ बनाउन सुझाव दिए ।

गत कात्तिकमा काठमाडौं महानगरपालिकाको १० औँ कार्यपालिका बैठकले खुलामञ्चमा ‘ट्रिपल बेसमेण्ट’ पार्किङ र पानी पुनर्भरण पिटको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्ने निर्णय गरेको थियो । अहिले महानगरपालिकाको उक्त निर्णय विवादित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?