दामोदरको दुःख हर्ने सिताके च्याउ ! (भिडियोसहित)

देशमा कामै पाइएन, केही गर्नै सकिएन, नेपाल बसेर जिन्दगी बन्ला जस्तो छैन, अब सके युरोप,अमेरिका नभए खाडी मुलुक भएपनि छिर्नुपर्यो १ हो, यी र यस्तै वैराग्य सोंचले अधिकांश युवा ग्रसित छन् ।

तर, केही युवा यस्ता छन् जसले विदेशको पनि सपना देखे, विदेशी भूमिमा पसिना पनि बगाए । कालान्तरमा यही नेपाल भूमिमा भविष्य देखे । त्यसको उदाहरण हुन्, काठमाडौं तारकेश्वरका दामोदर जमकटेल । जो यतिबेला विदेशिने र विदेशिएपछि मातृभूमी बिर्सनेहरुका लागि गतिलो पाठशाला बनेका छन् ।

४० औँ वसन्तको उकाली लाग्दै गरेका दामोदर कुनैबेला कतार एयरवेजमा पसिना चुहाउँथे । कतार एयरवेजमा उनले बगाएको पसिनाले कुनै मूल्य दिएन । त्यसपछि नेपालमै कुनै उद्यम गरेर उद्यमशील बन्ने हुटहुटी जाग्न थाल्यो । एकदिन मार्केट गए । मार्केटमा बेच्न राखिएको सिताके च्याउ देखे । नाम सुनेको तर नचाखेको हुनाले किनेर कोठामा ल्याए । सिताकेको स्वादले उनलाई सिताङ्ग बनायो अनि चेत खुलायो । त्यसपछि नेपाल फर्किएर सिताके च्याउ खेती गर्ने सोच बनाए । अनि १४ वर्षको कतार बसाईलाई बिट मारेर उनी नेपाल फर्किए ।

नेपाल आएर सिताके च्याउ खेतीसम्बन्धि एक हप्ताको तालिम लिए । जमकटेल कृषि फार्म दर्ता गरेर आफ्नै खेतमा च्याउ खेती सुरु गरे । चार वर्षको यो दौरानामा दामोदर एउटा दरिलो कृषि उद्यमीको रुपमा चिनिएका छन् । चार वर्षअघि १० लाख लगानीबाट सुरु गरेको च्याउ खेतीमा अहिलेसम्म ३५ लाखभन्दा बढी लगानी भइसकेको उनी बताउँछन् ।

कतारमा चुहाएको पसिनाभन्दा आफ्नै माटोमा बगाएको पसिनाको मोल बढी हुँदो रहेछ । अहिले दामोदरलाई यस्तै लाग्छ । उनी मासिक ५० देखि ६० हजार रुपैयाँसम्म आम्दानी गर्छन् ।

सिताके च्याउको खेती गर्न लाकुरी, ओखर, उत्तिस, कटुसजस्ता रुखका मुढाहरुको प्रयोग गरिएपनि कटुसको काठ निकै उपयुक्त मानिन्छ ।

सिताके च्याउका लागि चिसो मौसम अति नै उपयुक्त हुन्छ । तर, चिस्यान केन्द्र बनाउन सके यसबाट बाह्रै महिना उत्पादन लिन सकिने उनी बताउँछन् ।

सिताके च्याउको सेवन क्यान्सर, पायल्स, दम, मधुमेह तथा कलेजो, मुटु, मिर्गौलाका रोगीका लागि फलदायी मानिन्छ । यसको माग धरै रहेकाले उत्पादन बढाउने उनको योजना छ । हाल ६ रोपनी क्षेत्रफलमा फैलिएको फार्मलाई वैज्ञानिक ढंगले अघि बढाउने उनको सोच छ ।

कृषि फार्म सञ्चालन गरेर सिताके च्याउ खेती सुरु गरेपछि ललितपुरस्थित कृषि ज्ञान केन्द्रबाट ३ लाख रुपैयाँ अनुदान पाए । तर,राज्यले युवा कृषि उद्यमी र कृषीमा नविनता ल्याउन कस्सिएको किसानका लागि भने खासै वास्ता नगरेको प्रति दामोदरको गुनासो छ ।

दामोदर त एक प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्ता देशमा भविष्य खोजिरहेका युवाको जमात थुप्रो छ । त्यसो त राज्यले ती युवाहरुको क्षमता पहिचान गरी देशमा स्वरोजगार हुने वातावरण मिलाइदिने मात्र हो भने हजारौँ युवाशक्ति स्वदेशमै अडिन सक्छन् ।

हेर्नुहोस् भिडियो : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?