काठमाडौं । नेपाल सरकार कोरोना भाइरसविरुद्धको मौज्दात रहेको ‘साइनोभ्याक’ खोप प्रयोग गर्नका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को निर्णय पर्खने भएको छ ।
अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि प्रयोग गर्न मिल्ने वा नमिल्ने सम्बन्धमा डब्लुएचओले ‘साइनोभ्याक’ खोपको अनुमति दिएपछि मात्र प्रयोग गर्न भएकाले निर्णय कुरेर बसेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लालले मौज्दात रहेको ‘साइनोभ्याक’ खोपका सम्बन्धमा डब्लुएचओले निर्णय गरेपछि मात्र प्रयोग गर्न मिल्ने बताए । ‘साइनोभ्याक खोप बुस्टर डोजका लागि त्यति प्रभावकारी रहेको छैन’, उनले भने, ‘त्यही भएर हामीले बुस्टर डोजका लागि प्रयोग गरेका छैनौँ । बुस्टर डोजका लागि प्रयोग गर्नका लागि डब्लुएचओले अनुमति दिनुपर्दछ ।
अनुमति दिएपछि मात्र हामीले प्रयोग गर्छौँ ।’ उनका अनुसार डब्लुएचओले अनुमति दिएपछि नेपालको खोप सल्लाहकार समितिले पनि अनुमति दिनुपर्ने हुन्छ, अनि मात्रा प्रयोग गर्न मिल्छ ।
‘डब्लुएचओले नियमित रुपमा खोपको प्रभावकारिताबारे अध्ययन गरिरहेको हुन्छ,’ उनले भने, ‘डब्लुएचओले गरेको अध्ययनमा बुस्टर डोजका लागि प्रयोग गर्न मिल्छ भनेपछि मात्र हामीले प्रयोग गर्दर्छौँ ।’ चीन सरकारले सन् २०२२ मार्च २६ र २८ तारिखमा करिब ४० लाख मात्रा ‘साइनोभ्याक’ खोप उपलब्ध गराएको थियो ।
महाशाखा निर्देशक डा.लालले कुनै मुलुकलाई प्रयोग गर्न दिन सकिने बताउँछन् । सरकारले माथिल्लो तहले नेपाल जस्तै महामारी फैलिएको मुलुकमा प्रयोग गर्न सकिने भएकाले अन्य मुलुकलाई पहिलो र दोस्रो मात्राको प्रयोगका लागि दिन सकिने बताउँछन् ।
उनले नेपालमा पनि कुनै ठाउँबाट पहिलो र दोस्रो मात्रा प्रयोग गर्नका लागि माग गरिएमा पठाउन सकिने बताए । आगामी २०२३ को अक्टोबर महिनासम्म उक्त खोपको म्याद रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए । अहिले ती खोपलाई केन्द्रीय भण्डारण टेकुमा राखिएको छ ।
सरकारले बुस्टर डोजका लागि प्रयोग गर्न नमिल्ने भएपछि अमेरिकाबाट कोभ्याक्समार्फत १५ लाख फाइजर खोप ल्याउन थालेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया