पूर्वीनाकामा छ लेनको ‘मितेरी पुल’ सञ्चालन

लोकपथ
78
Shares

झापा । एसियाली राजमार्गअन्तर्गत पूर्वीनाका काँकडभिट्टाको अन्तर्राष्ट्रिय सीमामा निर्मित ६ लेनको नयाँ पुल आजदेखि सञ्चालन भएको छ ।
काँकडभिट्टाबाट भारत पश्चिम बङ्गालको पानीटङ्की नाकासँग जोड्ने मेची नदीमा निर्माण गरिएको ‘मितेरी पुल’ का रुपमा परिचित नयाँ पुल पाँच सय ७५ मिटर लामो रहेको छ ।

डेढ वर्षअघि नै निर्माण कार्य सम्पन्न भए पनि यो पुल सञ्चालनमा आएको थिएन । एसियाली मुलुकहरूलाई सडक यातायातको सञ्जालमा जोड्ने परियोजनाअन्तर्गत नेपालतर्फ एसियाली राजमार्गमा यही एउटा पुल र पाँच सय मिटरको पहुँच मार्ग मात्र निर्माण भएको छ ।

मेची भन्सार कार्यालय र भारतीय भन्सार कार्यालयका अधिकारीहरूले आज दिउँसो १ बजे आ–आफ्नो मुलुकको झण्डा फहराउँदै यातायातका साधनलाई प्रस्थान अनुमति दिएर एसियाली राजमार्गको पुल सञ्चालनको संयुक्त सुरुआत गरेका थिए ।

नेपालतर्फबाट मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठक र भारतका तर्फबाट नक्सलबारी भन्सार डिभिजनकी उपआयुक्त लहाछिरिङ शेर्पाले पुलको संयुक्त सुरुआत गरेका हुन् ।

विसं २०७३ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले पुल निर्माणको सम्झौता गर्नुभएको थियो । भारत सरकारले निर्माण गरेको यस पुलको आधा भाग नेपाली सीमाभित्र पर्दछ । एसिया उपक्षेत्रीय आर्थिक सहयोग–सडक सञ्जाल परियोजनाअन्तर्गत एसियाली विकास बैंकको भारु एक अर्ब ६० करोड ऋण सहयोगमा भारत सरकारले नै पुलको निर्माण गरेको हो ।

निर्माणका क्रममा पुलको पश्चिमी भागमा पाँच सय मिटर एप्रोच सडक बनाउँदा त्यहाँ बसोबास गरेका ४३ परिवारलाई रु तीन करोड ३७ लाख मुआब्जा नेपाल सरकारले प्रदान गरेको थियो । नयाँ पुल फराकिलो र सुविधाजनक भएको हुँदा पूर्वीनाका हुँदै गरिने व्यापार सहज बन्ने मेची भन्सार कार्यालयका प्रमुख पाठकले बताए ।

उनकाअनुसार नयाँ पुलबाट सबै प्रकारका यातायातका साधनलाई आवागमनको अनुमति दिइएको छ । दक्षिणतर्फ रहेको पुरानो पुलबाट तीन चक्के टेम्पो, रिक्सा, मोटरसाइकल र साइकललाई प्रवेश दिइने भएको छ । नेपालले पूर्वीनाका काँकडभिट्टाबाट भारत र बङ्गलादेशको बन्दरगाहसम्म व्यापार सञ्चालन गर्दै आएको छ भने यो नाकाबाट बङ्गलादेशको बङ्गलाबन्ध र च्याङ्ग्राबन्ध सीमानाका करिब ५० किलोमिटरभन्दा कम सडक दूरीमा रहेको छ ।

उक्त पुल सञ्चालनका लागि निरन्तर द्विपक्षीय बैठक भएका थिए । तर भारतीय पक्षले नै सुरक्षा संवेदनशीलता देखाएर पुल सञ्चालनमा ढिलाइ गरेको हो । नयाँ पुल सञ्चालनमा नआउँदा पुरानो पुलमा यातायात र पैदल यात्रीको खेपिनसक्नु चाप थियो ।

यसबाट दुवै देशका नागरिक र व्यवसायीहरूलाई नाका पार गर्न सास्ती थियो । मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषिराज तिम्सिनाले नयाँ पुल पूर्णरुपमा सञ्चालनमा आएपछि नाकाको अस्तव्यस्तता हट्ने र यात्रीलाई सहज हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?