सत्ताले जुराइदिएको भेट : बोल्नेहरुको असली परीक्षा शुरु

असम्भव केही छैन । सपना देख्नुपर्छ, हल्ला पिट्नुपर्छ एक न एक दिन साकार हुनेछ । अनि खबरदारी गर्दागर्दैै माग सम्बोधन गर्ने ठाउँमा पुगेपछि असली परीक्षा शुरु हुनेछ ।

वैशाखको स्थानीय निर्वाचनदेखि मंसिरको आमनिर्वाचनसम्म आइपुग्दा नेपाली राजनीतिको नाटकीय रुप देखिएको छ । निर्वाचनमार्फत् कसैले कल्पना नगरेका परिणामलाई जनताले सत्य सावित गरिदिए ।

त्यही परिणामलाई जनतामा परिवर्तनको भोक भनिरहेका हामीहरु परिवर्तित अनुहारहरुसँग पनि पूर्ण विस्वस्त भने छैनौँ । राजनीतिमा देखिएको नाटकीय परिणामको समिक्षा र कामको दिनगन्ती भने शुरु भएको छ ।

निर्वाचनको नाटकीय परिणाम कुनै गलत बाटो भन्न खोजिएको पक्कै होइन । विधि र प्रक्रियाबाटै तत्काल सम्भव नहोला कि भन्ने संशय चिर्दैै केही व्यक्ति, पार्टीको उदय र सत्ता यात्राले सबैलाई रोमाञ्चक बनाएको छ ।

पुस्तौनी राजनीतिक विरासतको संस्कार बसेको देशमा नयाँ पार्टी र नेताको उदय केही अपत्यारिलो पनि छ । तर जन अनुमोदनपछि अब जनताले परिवर्तन खोजेको भन्दै परम्परागत राजनीतिक दललाई चुनौती थपिएको छ ।

विश्वमा हामीले सुन्थ्यौँ पूर्व कमेडियन देशको राष्ट्रपति भएको, हामीले सुन्थ्यौ प्रोफेसर देशको प्रधानमन्त्री, हामीले हे¥यौं पूर्व क्रिकेटर देशको प्रधानमन्त्री । तर नेपालमै देख्थ्यौँ, पूर्व प्रधानमन्त्री पुनः अर्कोपटक प्रधानमन्त्री, ०५१ को मन्त्री ०७४ मा प्रधानमन्त्री, पार्टीका विश्वास पात्र मन्त्रीदेखि राष्ट्रपतिसम्म ! पछिल्लो निर्वाचनले त्यसखाले प्रवृत्तिलाई रोक्न खोजेको हो कि ? एउटा शंकाको सुबिधा भने दिएको छ ।

नेपालको सन्दर्भमा राजनीतिभन्दा फरक पृष्ठभूमिबाट राजनीतिको केन्द्रमा पुगेकाहरुको नाम विरलै मात्र छ । नेता, सांसद मन्त्री बन्ने योग्यता आन्दोलनमा संघर्ष गरेको वा ढुंगा हानेर टाउको फुटाएकालाई मात्रै मानिँदै आएको थियो, छ । चाकडीको रसातलमा फसेको राजनीतिमा नयाँ कुरा खोज्नु भनेको काँडा नभएको गुलाब खोज्नुजत्तिकै कठिन होला ।

तर बितेको निर्वाचनले परिणाम उल्ट्याउँदै केही सुधारको संकेत देखाएको पक्कै छ । राजनीतिका लागि मात्रै जीवन बिताएकाहरुलाई निर्वाचनको परिणामले झस्काइदिएको छ ।

विज्ञता बिनाको फोकट्टया राजनीतिले समाजलाई पर पुर्याउन नसकेको तीतो यथार्थको राम्रो चाल पाएका राजनीतिक हस्तीहरुको अस्तित्व नै संकटोपन्न छ । आफूलाई समाज परिवर्तनको संवाहक मानिरहेकाहरु मतदाताले निर्वाचन मार्फत चाखेको नयाँ स्वादबाट राजनीतिक रुपमा ‘गर या मर’को अवस्थामा पुगेका छन् ।

यस पटकको चुनावले सरकारमाथि निरन्तर खबरदारी गर्ने अभियानकर्मीदेखि जनताको पक्षमा बोल्नेहरुलाई सदनमा पुर्याएको छ । मन्त्रिमण्डलमा भित्र्याइएको छ । आमसञ्चारदेखि सडकबाट समेत सरकारलाई खबरदारी गर्नेहरु संसद र सरकारको यात्रामा पुगेका छन् । योसँगै उनीहरुको लोप्रियतावादको पनि परीक्षा शुरु भएको छ ।

एक अर्कालाई होचो अर्घेल्याई गर्ने नेपाली राजनीतिको कुरुप पाटो संस्कार र संस्कृति नै बनेको छ भन्दा अतिशयोक्ति नहोला । बाहिर हुँदा एक अर्कालाई गाली गलौज गर्नेहरु प्रश्न सोध्ने ठाउँबाट उत्तर दिने ठाउँमा पुगेपछि विगतबाट कत्तिको पाठ सिकेर अघि बढ्छन् हेरिँदैछ ।

जनताको पक्षमा भन्दै खरो रुपमा आवाज उठाउने मध्येका एक हुन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं हालका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने । लामिछानेको राजनीतिक छलाङ लोभलाग्दो छ । लामो समय सञ्चार कर्म गरेका लामिछाने चर्चित कार्यक्रम प्रस्तोता थिए ।

टेलिभिजनको पर्दाबाट उनले समाज परिवर्तनका लागि दिएको योगदान र गरेको खबरदारी इतिहासको बहिखातामा दर्ज भएकै छ । अब उनका लागि हिजो आफैले बोलेका कुराहरु अबका चुनौती बन्ने देखिन्छ ।

टेलिभिजनको पर्दाबाट राजनीतिका बेथिती विसंगतीप्रति उनले गरेको खबरदारीको आधारमा उनलाई नेता वा मन्त्रीको रुपमा देख्न चाहने पंक्ति ठूलो थियो । टेलिभिजन प्रस्तोताका रुपमा काम गर्दागर्दै राजीनामा दिएर गत असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणासहित पुस ११ गते गृहमन्त्रीको रुपमा शपथ लिएसँगै उनको असली परीक्षा शुरु भएको छ । उत्तीर्ण होलान् या नहोलान् त्यो उनमै भरपर्ने विषय भयो ।

रवि एक प्रतिनिधि पात्र मात्र हुन्, परीक्षा शुरु हुनेमा । लामिछाने हुन् वा भिडभाडले बनाएको नेता राप्रपा सांसद ज्ञानेन्द्र शाही वा अरु । ती सबैको पनि असली परीक्षा शुरु भएको छ । जसले सडकमा रहँदा सत्तालाई औँला तेस्र्याए, उनीहरुले नै सत्ताको बागडोर सम्हालेपछि कस्तो हुनेछ त्यो त समयले नै बताउला ।

अर्को मुख्य कुरा सांसदको रुपमा आउनुअघिका अभिव्यक्ति नै नव सांसदहरुलाई भारी पर्ने देखिन्छ । जनताको अभिमतबाट संसदको यात्रा तय गरेकाहरुको अघिका अभिव्यक्ति र पछिका अभिव्यक्ति एवं काम गराइमा कत्तिको तादाम्य रहन्छ, हेर्न बाँकी छ ।

नेपाली राजनीतिमा रोचक पक्ष के छ भने, सत्ताको लागि नेताहरुले आफूले मान्दै आइरहेको वाद र सिद्धान्त रद्दीको टोकरीमा फालेर सत्ता लिप्सामा लिप्त हुन्छन् । अनि सार्वजनिक समारोहमा घोर्को सुकाएर कराएको र विरोध गरेको कुरा एउटा सामान्य स्पष्टीकरणबाट मेटाइदिन्छन् । जो वर्षौँदैखि गरिँदै, भोगिँदै र गराइँदै आएको कुरा हो भोलि पनि नहोला भन्न सकिन्न ।

नत्र भने हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई स्वीकारै गरिन्न भन्ने एमाले अध्यक्ष केपी ओली र एमालेसँग मिलेर सरकार बनाउने कुरा कल्पनासमेत गर्न सकिन्न भन्ने प्रचण्डको कसरी, कस्ले घाँटी जोडी दियो ?

सरकारमा सामेल भएकाहरुको बोलीको तादाम्यता नमिलेको उदाहरणका फहरिस्त त कति छन् कति । तत्कालिन प्रधानमन्त्री ओलीको संसद विघटनलाई प्रतिगमनको कदम देख्ने माओवादी र माओवादीलाई साथ दिएर सरकारमा सामेल भए ‘नोट अफ डिसेन्ट’ लेख्ने एमाले नेताहरुको बोलीलाई व्याख्या नगरी बुझ्दा पनि राजनीति भित्रको बेइमानी र झूठलाई राम्ररी बुझ्न सकिन्छ ।

सधैँ सत्ता र शक्तिको रोधीमा नाच्न चाहने नेताहरुको व्यवहारले सत्तायात्राका लागि अघिल्ला बोली, वाद र सिद्धान्त केवल पार्टीको विधान पुस्तिकामा थन्किन पुग्छ ।

अहिले सत्ताको रोदीमा अनौठो किसिमको अन्तर्घुलन छ । जहाँ राजा जोगाउनुपर्छ भन्ने, राजा फाल्नुपर्छ भन्ने अनि प्रतिगमन आधा सच्चियो भन्दै राजाको मन्त्रिमण्डलमा सहभागि हुनेहरु एकसाथ छन् । पटकपटक असफल भइसकेकाहरुलाई स्वीकार्दैनौँ भन्नेदेखि नेतृत्वको विकल्प नदेख्नेहरु पनि त्यही छन् ।

हिन्दू राज्यको नारा बोक्नेदेखि धर्म निरपेक्षतालाई मूल मर्म बनाउनेहरु पनि एउटै टोकरीमा अटाएका छन् । अफ्ठ्यारो गरी संसदीय व्यवस्था स्वीकारेका र गणतन्त्र स्वीकार गर्न नसक्नेहरु एउटै तुलोमा छन् ।

फरक रङ र स्वाद बोकेका पार्टीहरुको झुण्डले सरकार चलाउँदा कतै पार्टीले बोकेको सिद्धान्तको आधारमा मत र मन भाँडिन थाल्यो भने देशले फेरि अस्थिरता भोग्नुपर्ने खतरा देखिन्छ ।

मुलुक संघीय संरचनामा गएपछिको पहिलो आवधिक निर्वाचन २०७४ लाई स्थिरताको मानक मानिएको थियो । तर तत्कालिन सरकारको नेतृत्वकर्ताको अधिरताले त्यो धेरै समय टिकेन । सत्तामोहकै कारण सत्ताधारी दल नै सडक आन्दोलनमार्फत पुनः प्रतिपक्षीलाई बोकेर पुनः सत्ताधारी बन्न पुग्यो ।

जसको कारण निर्वाचनले देशमा स्थिरता देला भन्ने भाष्य झूठो सावित भयो । अझ यस पटक त संसद नै त्रिशंकू, दल, नेता र सांसद लोभका भकारी । काम गर्न नसकेको अपजसको भारी सिस्टमलाई बोकाएर पन्छिने हामीहरु पुनः देश अस्थिरताको बाटोमा गयो भने फेरि त्यही अवाक् सिस्टमलाई दोष दिएर पन्छिने त होला नि !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?