नयाँ राष्ट्रपति : नेम्वाङ, शाक्य या नेपाल ?

काठमाडौं । सत्ता गठबन्धनमा नयाँ राजनीतिक समीकरण फेरिएपछि अबको राष्ट्रपति को बन्ला भन्ने चासो बढेको छ । प्रतिनिधि सभाको दोस्रो ठूलो दल नेकपा (एमाले) सहित सात राजनीतिक दलको समर्थनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गत पुस १० गते प्रधानमन्त्री बनेका थिए ।

प्रधानमन्त्री जत्तिकै कार्यकारी नभए पनि राष्ट्रको प्रतिनिधित्व गर्ने पद भएकाले अबको राष्ट्रपति को बन्ला भन्ने चासो सबैमा रहेको हो । नयाँ राष्ट्रपति गठबन्धनबीचको भागबण्डा हुने र उक्त भाग एमालेमा परेकाले एमालेले कसलाई यो पदमा पठाउला भन्ने जिज्ञासा रहेको छ । एकातिर एमालेमा राष्ट्रपति बन्न जाने पात्रको खोजी भइरहँदा अर्कातिर एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) लाई फेसरि एमालेमै फर्काउने प्रयास पनि थालिएको छ ।

यसले नेकपा एसलाई एमालेमा फर्काएर उक्त पार्टीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपति बनाइने गृहकार्य सँगै शुरु भएको त होइन भन्ने चर्चा राजनीतिक बजारमा गर्माएको छ । मूलतः एमाले र माओवादी एकीकरण गरी बनाइएको नेकपाको टूटसँगै दुई ध्रुवमा पुगेका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सत्ताको लेपले टाँसिदिएकाले सोही क्रममा विभाजित भएका नेकपा एसलाई पनि सरकारमा ल्याउनेबारेमा छलफल घनिभूत भएको छ ।

यसबारेमा नयाँ गठबन्धन र सरकार बनेसँगै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच नियमितजसो छलफल पनि भइरहेको छ । उक्त छलफलमा सरकार सञ्चालन, आगामी प्राथमिकता तथा न्युनतम साझा कार्यक्रमबारे मात्र नभई माधव नेपालसँगै ल्याउने विषयले पनि प्राथमिकता पाएको प्रचण्डनिकट स्रोतले बताएको छ ।

सानो आकारको मन्त्रिमण्डल बने पनि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र मन्त्रालयलगायत समग्र शक्ति बाँडफाँडका विषयमा प्याकेजमै सहमति गरी टुंगो लगाउनै बाँकी छ । त्यसका लागि उच्चस्तरीय संयन्त्रदेखि कार्यदल नै बनेका छन् ।

प्रचण्ड र ओलीबीचको समझदारीपछि सरकारमा सहभागि सत्ता साझेदार दलहरुबीच बाँकी मन्त्रिमण्डल विस्तारबारे टुंगो लगाउने आन्तरिक तयारी छ । प्रचण्ड भने संसद्मा विश्वासको मत लिएर मात्रै बाँकी मन्त्रिपरिषद विस्तार गर्ने रणनीतिमा छन् । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको पदावधि आउँदो फागुन २९ मा सकिने हुँदा माघ महिनाभित्र नयाँ राष्ट्रपतिको निर्वाचन गरिसक्नुपर्ने छ ।

संसदको दोस्रो ठूलो दलका हैसियतले एमालेले राष्ट्रपतिमा स्वभाविक दाबी गरेको छ । एमालेले राष्ट्रपति पाए पूर्वसभामुख एवं उपाध्क्ष सुवास नेम्वाङको सम्भावना बढी रहेको चर्चा छ । यसैगरी महिलामा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको पनि उतिकै सम्भावना रहेको बताइन्छ । यी दुई नेताबारे ओलीले हालसम्म कुनै निर्णय नलिनुमा पनि पार्टी एकीकरण भइहालेमा माधव नेपाललाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय रहेको उनी निकट स्रोत भन्छ ।

यता, नेकपा (एकीकृत समाजवादी) ले भने सरकारमा सहभागि हुने र नेकपा (एमाले) सँगको पार्टी एकता निराधार हल्ला मात्रै भएको बताएको छ । शनिबार बसेको समाजवादीको स्थायी कमिटी बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले एमालेसँग पार्टी एकता गरी अध्यक्ष माधव नेपाल राष्ट्रपति बन्न लागेको भन्ने हल्लामा सत्यता नभएको बताए ।

उनले पार्टी एकता हुने भन्ने हल्ला निराधार रहेको पनि बताए । त्यसो त एमालेसँगको पार्टी एकता या सरकारलाई समर्थन नगरेको अवस्थामा माधव नेपालको अबको राष्ट्रपति बन्ने बाटो देखिदैन ।

एमालेसँग मिल्नेबारे एसमा दुई धार

नेकपा (एकीकृत समाजवादी) को स्थायी समितिको बैठकमा यस विषयमा छलफल भइरहेको भए पनि कुनै निर्णय भएको छैन । आइतबार पनि बस्ने बैठकले कुनै निचोड निकाल्न सक्ने बताइएको छ ।

बैठकमा वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा संगठन निर्माणका कार्ययोजना, वामपन्थी एकतासँग सम्बन्धित विषयमा विभिन्न कोणबाट छलफल गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

खतिवडाले पार्टी अध्यक्ष माधव नेपालसँग राष्ट्रपति बन्नुस् भन्ने प्रस्ताव कुनै पार्टीले नगरेको पनि बताएका छन् । तर, पार्टीभित्र भने अधिकतर नेताहरु एमाले अध्यक्ष केपी अ‍ोलीसँग अध्यक्ष नेपालले संवाद अगाडी बढाउन् भन्ने चाहना राख्छन् । नेकपा एसको जारी बैठकमा नेताहरूले सरकारलाई समर्थन गरे पनि तत्काल एमालेसँग एकता गर्न नहुने धारणा राखेका छन् ।

केहीले भने सम्मानजनक हैसियतमा एकता हुनुपर्ने धारणा राखेका थिए । पार्टीका अधिकांश नेताहरूले प्रचण्ड नेतृत्वको सरकारलाई तत्काल समर्थन गर्न र विगतका गल्ती कमजोरीको समीक्षा गरी भावी दिनमा मनमुटाव नहुने ग्यारेन्टी सहितको एकतामा मात्रै गृहकार्य गर्न पार्टी अध्यक्ष नेपाललाई सुझाव दिएका छन् ।

माधवलाई फकाउँदै एमाले नेताहरु 

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागि हुँदै आमनिर्वाचनसम्म बनेको पाँच दलीय गठबन्धन एकाएक भत्किएपछि अलमलमा परेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई एमालेका दोस्रो तहका नेताहरु फकाउन लागि परेका छन् ।

प्रचण्ड नेतृत्वको सरकारमा सहभागि हुन र पार्टी एकतासम्मको प्रस्ताव लिएर उनीहरु आन्तरिक गृहकार्यमा जुटेका हुन् । एमाले नेता महेश बस्नेत र विष्णु पौडेल माधव नेपाललाई भेट्न कोटेश्वर नै पुगेका थिए । उनीहरु दुबैले भेटमा सरकारमा सहभागि हुन र पार्टी एकताको प्रस्ताव गरेका थिए । माधव नेपालले भने सकारात्मक जवाफ दिइनसकेको बताइएको छ ।

नेता बस्नेत भने सरकारमा सहभागी गराउने र एमालेमा नै एकीकरण गर्ने अभियान सुरु भएको बताउँछन् । त्यसैका लागि एमाले अध्यक्ष ओली र नेपालबीच भेटवार्ता गराउने प्रयास पनि जारी छ ।

आफ्नो पार्टीभित्र पनि अध्यक्ष नेपालले बुधबार भर्चुअल बैठक नै गरेर सरकारमा सहभागिता र वाम एकताका विषयमा सुझाव मागेका छन् । नेपालले केन्द्रीय कमिटीका सदस्य, जिल्लाका इन्चार्ज तथा सहइन्चार्ज र जिल्ला कमिटीका अध्यक्ष, सचिवहरूसँगको धारणा मागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?