पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

लोकपथ
7
Shares

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि सञ्चालनमा आउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहान ११ बजे विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम छ ।

सरकारले अंग्रेजी नयाँ वर्ष सन् २०२३ सुरू भएको अवसर पारेर उक्त विमानस्थल सञ्चालनमा ल्याउन लागेको हो । उद्घाटनका दिन आज हिमालय एयरलाइन्सले ‘डेमो’ उडान गर्नेछ । तर, अन्तर्राष्ट्रिय उडान फागुन दोस्रो सातापछि मात्रै खुल्ने नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।

आज बिहान पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने जहाजका पाइलटलगायतलाई पनि फूलमालाले स्वागत गर्ने कार्यक्रम छ । अन्तर्राष्ट्रिय उडानको प्रक्रिया पूरा भइनसकेकोले आइतबार आन्तरिक उडान मात्र हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जानकारी दिएको छ ।

चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण तथा अनुदान सहयोगमा विमानस्थल बनाइएको थियो । खुसियालीमा आज पोखरा महानगरले सार्वजनिक बिदा घोषणा गरेको छ ।

पुरानो विमानस्थल पनि सञ्चालनमै

पोखरास्थित पुरानो विमानस्थलमा पनि उडान रोकिने छैन । ठूला जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे पनि साना जहाज पुरानो विमानस्थलमा अवतरण गर्न पाउँछन् ।

मुस्ताङको जोमसोम र मनाङको हुम्देमा पुरानो विमानस्थलबाटै उडान हुनेछ भने हेलिकप्टर पनि पुरानो विमानस्थलबाटै उडान तथा अवतरण गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?