डिजिटल माध्यमबाट सञ्चारमाध्यम र पत्रकारमाथि आक्रमण बढ्दो

लोकपथ
91
Shares

काठमाडौं । यसवर्ष डिजिटल माध्यमबाट सञ्चारमाध्यम र पत्रकारमाथि आक्रमण भएको पाइएको छ । नेपाल पत्रकार महासंघका अनुसार अनलाइन सञ्चारमाध्यमको सिएमएसमा अनधिकृत प्रवेश गर्ने, संगठितरूपमा अनफलो अभियान चलाउने, सामाजिक सञ्जालमार्फत् विभिन्न प्रकारका धम्की दिने, सामाजिक सञ्जाललाई बन्द गर्न प्रयास गर्ने र विमुख बनाउने तथा ह्याक गर्ने काम भएको छ ।

प्रकाशित तथा प्रसारित समाचारमा असहमति राख्ने व्यक्ति वा समूहले सञ्चार संस्था र पत्रकारमाथि नयाँ नयाँ तरिका अपनाएर आक्रमण गरेका पाइएको छ । महासंघले आज सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२२ मा प्रेस स्वतन्त्रता हननका ५३ वटा घटना भएका छन् ।

नेपाल पत्रकार महासंघको प्रेस स्वतन्त्रता अनुगमन शाखाको अभिलेखअनुसार ५३ वटा घटनामा एक सय ३२ पुरुष र १८ महिला पत्रकारसहित छ वटा सञ्चारसंस्था प्रभावित भएका छन् । सन् २०२१ मा प्रेस स्वतन्त्रता हननका ६२ वटा घटना अभिलेख भएका थिए । जसमध्ये एक सय ९० जना पत्रकार तथा चार सञ्चारमाध्यम प्रभावित भएका थिए ।

सन् २०२२ मा संघ, प्रदेश र स्थानीय सरकारले ल्याएका सञ्चारसम्बद्ध विचाराधीन कानुन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएको पाइएको छ । त्यस्ता कानुनले नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थालाई समेत चुनौती थपिदिएको महासंघको भनाइ छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषयमा सन् २०२२ निकै नै चुनौतीपूर्ण वर्ष बनेको महासंघका महासचिव रोशन पुरीले बताए । नयाँ प्रविधि र शैलीको विकाससँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धका घटनामा पनि नयाँ–नयाँ तरिका अपनाउने गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?