भृकुटीमण्डपमा मानवताका लागि नेपथ्यको लाइभ कन्सर्ट हुँदै

लोकपथ
52
Shares

काठमाडौं । मानवता प्रर्वधनका लागि आज शनिवार काठमाडौंको भृकुटीमण्डपमा ‘नेपथ्य लाइभ कन्सर्ट’ हुँदैछ । उक्त कन्सर्टको तयारी पुरा भएको आयोजक मानवसेवा आश्रमले जानकारी गराएको छ ।

काठमाडौंको रानीवनस्थित हिजो शुक्रवार मानवसेवा आश्रममा आज आयोजित नेपथ्य व्याण्डका मुख्य गायक अमृत गुरुङसँगको चियापान तथा भेटघाट कार्यक्रममा आश्रमका अध्यक्ष रामजी अधिकारीले उक्त कुरा जानकारी गराएका हुन् ।

अध्यक्ष अधिकारीले अन्य नौ शहरमा सम्पन्न भएको उक्त कार्यक्रम शनिवार भृकुटीमण्डपमा अन्तिम कन्सर्टमा रुपमा मुलुकका विशिष्ट व्यक्तिसहित झण्डै ६ हजार दर्शकको उपस्थितिमा आयोजना हुने बताए । उनले सङ्गीतमार्फत मानवता प्रर्वधन गरी सडक आश्रित बेसहारा व्यक्तिहरुलाई सडकको चिसो छिँडी र सडकपेटीहरुमा बस्नुपर्ने अवस्थाको अन्त्यका लागि समाजमा सचेतना जगाउन एक महिने संगीत अभियान चलाइएको पनि जानकारी दिए ।

उक्त समारोहमा नेपथ्य व्याण्डका प्रमुख गायक अमृत गुरुङले आश्रमले जे काम गरिरहेको छ, त्यो काम धेरै मान्छेले गर्न नसक्ने बताए । उनले यो काम कसैले गरिदिए हुन्थ्यो भनेर विगतदेखि नै आफूले सोचेको अन्तत आश्रमले गरेको थाहा पाएर खुसी लागेको बताए । उनले धन हुनेसँग भन्दा मन हुनेसँग मानवता रहेको उल्लेख गर्दै आश्रमको अभियानमा जे सकिन्छ सहयोग गर्न अनुरोध पनि गरे । काम गर्नेहरुलाई प्रश्न उठ्ने भएकाले कसैले प्रश्न गर्दैमा नहिच्किचाइकन अभियान अघि बढाउन आग्रह गरे ।

समारोहमा आश्रमका संरक्षक तथा समाजसेवी राधिका शाक्यले आश्रमको भवन निर्माणका लागि नागर्जुनमा जग्गा प्राप्त भएको तर त्यसका लागि मन्त्रिपरिषदबाट निर्णय गराउनुपर्ने भन्ने आफूले सुनेकाले छिटोभन्दा छिटो भवन निर्माण सम्पन्न गरी काठमाडौंका सडकअािश्रत मानवहरुको व्यवस्थापन अति जरुरी रहेकाले सम्बद्ध निकायको ध्यानाकर्षण गराए ।

उनले रानीवनको भवनमा सुकुम्बासी राख्नुपर्नेमा आश्रम राखिएको भनेर केही आलोचनाहरु सुनेको स्मरण गर्दै भने, “ति सुकुम्बासी भन्दा पनि यहाँ बस्ने मानिस झन् सुकुम्बासी हो, जसको कोही छैन, जसको केही छैन, उनीहरु रहेका छन् ।” उनले स्वच्छ मनले काम गर्दा पनि कतिपय मानिस आआफ्नै स्वार्थमा लगेर अनावश्यक बखेडा निकाल्दै हिँड्नु नहुने बताए ।

कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव डाक्टर मानबहादुर विकेले आश्रमले विसं २०८२ सालसम्ममा सडकआश्रित मानवमुक्त देश बनाउने लक्ष्य लिएकाले त्यो लक्ष्य पुरा भयो भने नेपाल विश्वमै मानवीयताको पहिलो देश हुने बताए ।

उनले अहिले मानवताका लागि सङ्गीत भनेर जुन सङ्गीत यात्रा भइरहेको छ, यसले संगीतमार्फत मानवता प्रर्वधनमा एउटा नयाँ सिद्धान्त निर्माण भएको प्रतिक्रिया दिए । आश्रमका प्रमुख संरक्षण डाक्टर गोविन्द टण्डनले परोपकारी नेपालीहरुको साथ र सहयोगले नै नमूना काम गर्न सकिन्छ, विदेशीको बाटो हेरिरहनुपर्दैन भन्ने उदाहरण आश्रमले प्रस्तुत गरेको जानकारी दिए ।

कार्यक्रमका सहभागिहरुले सरकारले गर्नुपर्ने काम आश्रमले गरिरहेकोमा प्रशंसा गरेका थिए । समारोहमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव रामप्रसाद थपलिया, सरकारका सहसचिव जितेन्द्र बस्नेत, वाग्मती सफाइ अभियन्ता डाक्टर राजु अधिकारी, बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामा, चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठ, बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठलगायतले सडकआश्रित मानव तथा बेसहाराहरुको उद्धार र संरक्षण गर्ने दायित्व सबैको भएको बताउका थिए । उनीहरुले आश्रमले थालेको अभियानमा साथ दिन पनि अनुरोध गरे ।

महिनाव्यापी उक्त कार्यक्रमको शुरुवात मङ्सिर १६ गते विराटनटरको हाटखोला मैदानबाट भएको थियो । मङ्सिर १९ गते वीरगञ्जको आदर्शनगर रङ्गशाला, २२ गते हेटौँडाको भुटनदेवी स्कुलचौर, २५ गते भरतपुरको क्याम्पाचौर, २९ गते नेपालगञ्जको रङ्गशाला, पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ मैदान र १२ गते पोखराको प्रदर्शनी केन्द्रमा कार्यक्रम गरेको थियो । अभियानको अन्तिम कार्यक्रमको रुपमा आज १६ गते काठमाडौँको भृकुटीमण्डपमा हुन लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?