लोकसेवामा उत्तीर्ण हुन चाहनुहुन्छ भने यसरी गर्नुस् तयारी : रोशन सारु (अन्तर्वार्ता)

काठमाडाैं । नेपालको प्रशासनिक क्षेत्र, सरकारी सेवामा प्रवेश गर्न चाहने सबैका लागि आकर्षणको केन्द्र बनेको छ, लोक सेवा आयोग । आजको दिनसम्म आयोग योग्यता, निष्पक्षता र स्वच्छताका आधारमा उम्मेदवार छनोट गर्ने आफ्नो प्रतिवद्धतामा प्रतिवद्ध रहेको कुरालाई कसैले नकार्न सक्दैन ।

सेवा सुविधा, सम्मान, प्रतिष्ठा साथै स्थायित्वको कारणले पनि लोक सेवा आयोग लोकप्रिय बनेको छ । साथै यही सेवा समूहबाट नै प्रमुख जिल्ला अधिकारी (सिडियो), विभिन्न विभागका महानिर्देशक, मन्त्रालयका सचिव हुँदा २४ सै घण्टा सुरक्षासहितका सरकारी सवारी साधन पाईने हुनाले पनि निजामती सेवा सबैको लागि अझ लोकप्रिय बनेको छ ।

यस्तै कारणले गर्दा सबैको चाहना हुन्छ सरकारी जागिर खाने । तर सरकारी जागिर भनेर निरन्तर लामो समयसम्म प्रयास गर्दा पनि सफल नहुने धरै छन् । तर कसैको लागि भने लोक सेवा आयोगद्वारा लिईने परीक्षा सामान्य नै लाग्ने गर्छ । जो लोक सेवाले लिने परीक्षामा पास भइरहेका हुन्छन् ।

त्यस्तै, अर्घाखाँची जिल्ला स्थायी घर भई हाल र्कीतिपुर बस्दै गरेका २७ वर्षिय युवा रोशन सारु मगर (हुमबहादुर सारु) ले लोक सेवा आयोगद्वारा लिएका विभिन्न संस्थान र निजामती सेवामा गरी दश पटकसम्म नाम निकालेका छन् । रोचक कुरा त अझ के भने उनी अहिलेसम्म आयोगद्वारा लिएका कुनै परीक्षामा फेल भएका छैन्न ।

उनले राष्ट्रिय बीमा संस्थान, काठमाडौं उपत्यका विकास प्राधीकरणको चौथो र पाचौँ तह, खाद्य संस्थान, नायव सुब्बा न्याय, नेपाल बीमा प्राधीकरण, नायब सुब्बा राजस्व, नेपाल टेलिकमको व्यापार अधिकृत, प्रशासकीय अधिकृत र संघीय लोक सेवा आयोगको शाखा अधिकृतमा नाम निकालेसँगै दश स्थानमा नाम निकालेका छन् । उनै बहुप्रतिभाका धनि रोशन सारुसँग लोक सेवामा उनको अनुभव, कसरी सफल भईन्छ भन्ने विषयमा गरिएकाे कुराकानीको सम्पादित अंश :

लोक सेवाले लिएको विभिन्न परीक्षामा दश पटक निरन्तर  सफल हुँदा कस्तो अनुभव हुँदोरहेछ ?

अहिले समग्रमा सम्झँदा त निकै खुशी लाग्छ । आफूले त्यस्तो मेहनत गरे जस्तो पनि लाग्दैन । लोक सेवामा पास भईरहँदा सबै कुरा नै म जान्ने छु, सबै मलाई थाहा छ भन्ने पनि हुदैन । लोकसेवाले मलाई माया गरेको हो भन्नु पर्छ ।

रात दिन मिहिनेत गरेर पनि लोक सेवामा सफल नभएका धेरै छन्, खासमा सफल हुन के गर्नुपर्ने रहेछ ?

मुख्य कुरा त, धेरै पढ्नेभन्दा पनि पढाई व्यवस्थित र निरन्तरता हुन जरुरी हुन्छ । पढाईको तरिका सन्तुलित हुनुपर्दछ । किताबमा चाहिनेभन्दा धेरै लेखिएको हुन्छ, जसलाई छानेर आवश्यक मात्र पढ्नु पर्छ । धेरै लेखेर धेरै नम्बर पाईने होईन । त्यसैले उपयुक्त हुने उत्तर छानेर पढियो भने सफल हुन सकिन्छ ।

आम मनासमा उब्जिने प्रश्न, लोक सेवा उत्तीर्ण गर्न कति समय पढ्नु पर्छ होला ? तपाईले कति समय पढ्नु भयो ?

समयकै कुरा गर्दा यति समय पढेर सफल भए भन्ने त छैन तर पनि निरन्तरता नै सफलता हो । मेरो सफलताको कारण नै निरन्तरता हो । दैनिक ४,५ घण्टा निरन्तर पढेँ । मलाई यसले नै सफलता दियो । सबैलाई यहि समयले सफलता नदिन पनि सक्छ । दुई चार घण्टा निरन्तर पाँच छ महिना पढ्यो भने सजिलै सफलता मिल्न सक्छ । त्यस्तो १४, १५ घण्टा पढ्नै पर्छ भन्ने छैन् । त्यसैले आफ्नो अवस्था हेरेर आफ्नो तरिकाले पढ्न आग्रह गर्दछु ।

संस्थान र निजामती सेवामा गरी दश पटक नाम निकाल्नु भयो । कति समयदेखिको तयारी थियो तपाईंको ?

मैले पढन् शुरु गरेको २०७५ देखि नै हो तर बीचमा लामो समयसम्म रोकियो । २०७५–२०७६ को बीचमा पाँच स्थानमा मेरो नाम आएको थियो भने अहिले पाँच स्थानमा गरी दश स्थानमा नाम निस्किएको छ । सेवा सुविधाको दृष्टिकोणले संस्थान मै रहेर कार्य गर्नेे निर्णय गरेको थिएँ । त्यसैले अलि समय लोक सेवालाई रोकेको थिएँ । तर सबैको सल्लाहले फेरी निजामती सेवामा आएँ । पहिलो पटक पाँच स्थानमा निकाल्दा त धेरै नै मिहिनेत गरे जस्तो लाग्छ तर पछिल्लो ५ वर्षमा भने समय पनि त्यति भएन । त्यसले गर्दा पनि होला कम मिहिनेत गरेँ तर पनि सफल नै भए । फरक पाठ्यक्रमले गर्दा संस्थानतर्फ नाम निकाल्न निकै कठिन हुँदोरहेछ । तर एउटा आधार बनेको भएकाले अहिले नाम निकाल्न सहज भएको मलाई महशुस भएको छ ।

अर्घाखाँची, गुल्मी, स्याङजालगायतका पश्चिमी जिल्लामा लोकसेवा आयोग युवा वर्गमा लोकप्रिय हुनुको कारण के होला ?

निजामती सेवा अन्तर्गत सेवा प्रवेश गरियो भने राज्य संयन्त्रमा जान पाउँछौं । निजामती सेवामा भएकालाई समाजले दिने जुन ईज्जत छ, त्यसले गर्दा पनि लोक सेवा आयोगप्रति युवाको आकर्षण बढिरहेको छ । अर्कोकुरा, मध्यम वर्गीय विद्यार्थीहरुको लागि आफ्नो क्षमता देखाएर जागिर खाने भनेको लोक सेवामा मात्रै हो है भन्ने सत्यता हुन्छ । जसले गर्दा म पनि सफल हुन्छु भन्ने विश्वासले धेरैको चाहना नै लोक सेवा आयोग हुने गरेको छ ।

खरिदार, नायब सुब्बा, शाखा अधिकृतलगायत संस्थानका विभिन्न परीक्षा लिईने प्रथम पत्रमा सामान्य ज्ञान पढ्न समस्या आएको तयारी गर्दै बसेका विद्यार्थीको गुनासो छ । यसलाई तपाईले कसरी पढ्नु भयो ?

वास्तवमा भन्ने हो भने सामान्य ज्ञान होईन यो अथाह ज्ञान नै हो । तर त्यति असजिलो पनि होईन । सामान्य ज्ञान पढ्दा एक आर्कोलाई लिंक गरेर पढ्न सकियो भने सहज पक्कै हुनेछ । कुनै राम्रो लेखको किताबलाई आधार मन्ने अनि बाकीँ सामग्रीलाई रिफ्रेन्स मानेर पढ्नु पर्छ । सिलसिलेवार रुपमा पढियो भने सफलता पाउन सकिन्छ । अहिले सामग्रीको अभाव छैन । बजारमा विभिन्न सामग्री उपलब्ध छन् । साथै सामाजिक सञ्जालमा पनि उत्तिकै पाईन्छन् । सरकारी कार्यालयका विभिन्न वेबसाईटबाट पनि आधिकारी सूचना प्राप्त गर्न सकिन्छ । निरन्तर पत्रपत्रिका पढ्ने बानी बसाल्नु पर्छ । जसबाट समसामयिक विषयमा धेरै जानकारी प्राप्त गर्न सकिन्छ । सामान्य ज्ञानको तयारीका लागि मुख्य प्राथमिकता नै निरन्तरतालाई दिनुपर्छ ।

लेखनमा नजानेर र भन्दा पनि धेरै जानेर असफल हुनेको सङख्या बढी छ, यसलाई कसरी लिनु हुन्छ ? लेखनसीप उत्कृष्ट कसरी बनाउन सकिएला ?

धेरैको समस्या नै लेखनमा हुने गर्छ । यसको लागि वृहत्तर ज्ञानको आवश्यकता पर्छ । लेखनमा उत्कृष्ट बनाउन निरन्तर लेखिरहने बानी बसाल्नु पर्छ । जसले गर्दा समय व्यवस्थापनका लागि सहज हुन सक्छ । निरन्तर लेखन प्रयासले नै लेखनसीप उत्कृष्ट बनाउन सकिन्छ ।

लामो समयसम्म संस्थानमा कार्यरत रहनु भयो, अनि अहिले निजामती सेवामा कार्यरत हुनुहन्छ । संस्थान र निजामती सेवामा के फरक पाउनु भयो ?

संस्थान र निजामती सेवामा धेरै फरक रहेछ । निजामती सेवा स्थायी सरकार हो भने संस्थान भोलिका दिनमा नरहन पनि सक्छ । जसले गर्दा संस्थानमा भविष्य अन्योल हुनसक्छ । भोलिका दिनमा जसको सरकार आए पनि हामी सरकारको प्रतिनिधि हौं भन्ने कुरा निजामती सेवामा हुन्छ । सेवा र सुविधाको दृष्टिकोणले संस्थान राम्रो नै हुन्छ तर निजामती सेवामा पाईने जुन ईज्जत हो, त्यो संस्थानमा पाईदैन । संस्थानमा ठूलो पदमा भएपनि राज्य शक्तिको अधिकार कम हुन्छ । तर, निजामती सेवामा सानो पदमा पनि राज्य शक्तिको अधिकार हुन्छ । एक कर्मचारी भएकै हकमा कुनै व्यक्तिलाई नेपाली नागरिक बनाउने अधिकार निजामती सेवामा हुन्छ ।

लामो समयदेखि लोक सेवाको तयारी गर्दै गरेका र पहिलो पटक तयारी गर्दै गरेका विद्यार्थीहरुलाई तपाईको सुझाव के छ ?

लामो समयदेखि नै लोक सेवाको तयारी गरेकाहरुले धैर्य गर्नुहोस्, तयारीलाई अझ व्यापक बनाउनु होस् । जीवनमा कहिलेकाहिँ उत्तारचढाव आउँछ तर त्यसलाई सामान्य रुपमा लिने कोशिस गर्नुहोस् । र, निरन्तर पढाईमा लाग्नुहोस भन्न चाहन्छु भने पहिलो पटक तयारी गर्दै गर्नु भएकालाई भने सर्वप्रथम मनमा उत्साह, उमंग ल्याउनुहोस् । प्रथम पटक नै मैले नाम निकाल्छु भन्ने आत्मविश्वास राख्नुहोस् । आत्मविश्वास बढाउँदै सामग्री छनोटमा ध्यान दिनुहोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?