घ्याङ्फेदी माविमा ‘आविष्कार केन्द्र’ स्थापना

लोकपथ
42
Shares

त्रिशुली । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ मा रहेको घ्याङ्फेदी माध्यमिक विद्यालयका विद्यार्थीले ‘घ्याङ्फेदी आविष्कार केन्द्र’को स्थापना गरेका छन् ।

घ्याङ्फेदी मावि अध्ययनरत विद्यार्थीले विज्ञानको नवप्रवर्द्धन तथा नव आविष्कारको लागि केन्द्रको स्थापना गरेको विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर स्याङ्ताङले जानकारी दिए । उनको अनुसार यसअघि विद्यालयको समन्वय तथा विद्यार्थीको स्वःस्फूर्तरुपमा वैज्ञानिक आविष्कार हुँदै आएकाले विद्यालयमार्फत संस्थागत व्यवस्थापन गर्न केन्द्र स्थापना गरिएको हो ।

“वैज्ञानिक संस्कारको विकास गर्दै खोज तथा अनुसन्धानमा सक्रिय विद्यार्थीलाई प्रोत्साहन गर्न केन्द्र निर्माण गरिएको हो ।” उनले भने, “केन्द्रमार्फत नवप्रवद्र्धक विद्यार्थीलाई आवश्यक उपकरण, वैज्ञानिक जानकारी तथा परामर्श उपलब्ध गराइने छ ।” विद्यालयमा अध्ययनरत विद्यार्थीले आविष्कार गर्ने उपकरण तथा प्रविधिलाई समावेश गरेर छिट्टै विज्ञान प्रदर्शनी गर्ने योजना रहेको सहयोगी संस्था आधार डेभलपमेन्टका राष्ट्रिय निर्देशक प्रह्लाद ढकालले बताए।

जिल्लामा गएको साता भएको माध्यमिक तह जिल्लास्तरीय विज्ञान प्रदर्शनीमा उक्त विद्यालय तेस्रो भएको थियो । बाढी आउँदा र भूकम्प जाँदा पूर्वजानकारी दिने उपकरण बनाएर तेस्रो भएका विद्यार्थीले स्थानीय स्रोत र साधनको उपभोग, स्थानीय क्षेत्रको लागि आवश्यक थप एक दर्जन उपकरण आविष्कार गरिरहेकाले पालिकाको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने गाँउपालिका अध्यक्ष शङ्कर थापाले प्रतिबद्धता जनाए।

घ्याङ्फेदी विद्यालयमा दश जोड दुईतर्फ विज्ञान सङ्काय र माध्यमिक तहको कक्षा ९ र १० मा कानुन विषय अध्यापन गराउन आधार डेभलपमेन्टले आर्थिक र प्राविधिक सहयोग पु¥याउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?