जिल्ला सभापतिको भेलामा किन अनुपस्थित भए सभापति देउवा ?

नुवाकोट । नुवाकोटको ककनीमा बुधवारदेखि शुरु भएको जिल्ला सभापति भेलामा नेपाली कांग्रेस सभपति शेरबहादुर देउवा अनुपस्थित भएका छन् । 

जिल्ला सभापति भेलाको उद्घाटन देउवाबाटै गर्ने तयारी गरिएको थियो । तर, अन्तिम समयमा उनी अनुपस्थित भएका हुन् । 

देउवा भेलामा अनुपस्थित भएपछि जिल्ला सभापतिहरूले औपचारिक उद्घाटन नगरीकनै पार्टी विधानका विषयमा छलफल गरेको थियो । 

सभापतिलाई मनोनयन अधिकार बढी दिने, केन्द्रीय कार्यसमितिको आकार बढाउने तर पदाधिकारी संख्या नबढाउने, केन्द्रीय सदस्यलाई स्वतः महाधिवेशन प्रतिनिधि हुने प्रावधानलगायत विषयमा जिल्ला सभापतिले असन्तुष्ट जनाएका छन् । 

भेलामा करिब ५० जिल्लाका सभापतिको उपस्थिति छन् ।

नुवाकोट कांग्रेस सभापति जगदीशनरसिंह केसीले विधानका अधिकांश विषयमा साझा धारणा बनाएर केन्द्रीय कार्यसमितिमा सुझाव पठाइने बताए ।

उनका अनुसार विधान संशोधन र संगठनलाई अघि बढाउने सवालमा समान धारणा बनाउने दिशामा भेलाको छलफल केन्द्रित छ । यो छलफलबाट आएको निष्कर्ष केन्द्रीय समिति हुँदै आगामी महासमिति बैठकसम्म पुग्नेछ ।

महासमिति बैठक मंसिर २८ देखि पुस ३ सम्म राजधानीमा हुँदैछ ।

बुधवार बोल्ने अधिकांश जिल्ला सभापतिले पार्टीका तल्ला संरचनालाई बलियो र अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिएका छन् । उनीहरूले केन्द्रीय सभापतिलाई २५ प्रतिशत सदस्य मनोनयन गर्ने प्रस्तावित विधानको प्रवाधानप्रति समेत असन्तुष्टि जनाएका छन् ।

भेला आज (बिहीवार)सम्म चल्नेछ । बिहीवारै ककनी घोषणापत्र जारी गर्ने तयारीसमेत जिल्ला सभापतिहरूको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?