काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभामा नवनिर्वाचित सदस्यहरुले असहाय गाई बाच्छा संरक्षणका लागि विधि निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
असहाय गाई बाच्छा संरक्षण अभियानले नवनिर्वाचितहरुको सम्मानमा आज आयोजना गरेको स्वागत कार्यक्रममा विभिन्न जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा एवम् प्रदेशसभा सदस्यले राष्ट्रिय जनावरका रुपमा रहेको गाईलाई सडकमा असहाय बनाउन नहुनेमा जोड दिउका थिए।
कार्यक्रममा उनीहरुले गाईको दूध खाने र दूध दिन छोडेपछि सडक, नदी किनार र मठ मन्दिरमा छाड्ने क्रमलाई अन्त्य गरिनुपर्नेमा जोड दिएका हुन् ।
सो अवसरमा नेपाली कांग्रेसका सहमहामन्त्री एवम् बाजुराबाट निर्वाचित सांसद बद्री पाण्डे, काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद सन्तोष चालिसे, समानुपातिक सांसद प्रतिमा गौतम र शान्ति श्रेष्ठले असहाय गाई बाच्छा संरक्षण अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
प्रदेशसभा सदस्य विमल ठकुरीले अबको संसद् अधिवेशनमा सडकमा अलपत्र पारिएका गाई बाच्छाको अधिकार र संरक्षणको पक्षमा कानून निर्माणका लागि प्रदेशसभामा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा सेलेब्रेसन कोएड विद्यालयका प्रधानाध्यापक महेन्द्र भट्टराईले नेपाली संस्कारमा गौरक्षाको महत्वका बारेमा प्रकाश पारेको थियो ।
अभियानका संस्थापक उत्तम पुडासैनीले अभियानको उतारचढाव र यसको आवश्यकताका बारेमा जानकारी गराएका थिए । अभियानका कोषाध्यक्ष भगवान पुडासैनीले असहाय गाई बाच्छा संरक्षण अभियानका लागि सहयोग गर्नेको सङ्ख्या निरन्तर बढिरहेको उल्लेख गर्दै कानून निर्माण हुनुपर्नेमा जोड दिए। कानून निर्माण गरेर सडकलगायत सार्वजनिकस्थलमा आई बाच्छालाई छाड्ने वातावरण बन्न नदिने व्यवस्था गरिनुपर्ने वक्ताहरुको भनाइ थियो ।
असहाय गाईबाछा संरक्षण अभियानले विसं २०७५ जेठ १ गतेदेखि सडकमा अलपत्र पारिएका गाई बाच्छाको संरक्षण गर्दै आएको छ । अभियानले सुरुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरी भागस्थित वाग्मती नदी किनारको सार्वजनिक जग्गामा असहाय गाई बाच्छा संरक्षण गरेको थियो ।
असहाय गाई बाच्छाका लागि अभियानले खाना, छाना, उपचार र मायाको प्रबन्ध मिलाउँदै आएको छ । अभियानले खुला आकाशमा अबोध गाई बाच्छाले एक रात पनि बिताउनु नपरोस् भन्ने उदेश्यले सडकमा अलपत्र अवस्थामा रहेका गाई बाच्छाको उद्धार एवम् पालनपोषण गर्दै आएको छ । अहिले आश्रयस्थलमा करिब दुई सय असहाय गाई बाच्छालाई संरक्षण गरिएको छ ।
असहाय गाई बाच्छा संरक्षणका लागि पशुपति क्षेत्र विकास कोषले कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटारमा एक सय रोपनी जग्गा दिएको छ । कोषले दिएको जग्गामा अभियानले असहाय गाई बाच्छा संरक्षण गर्दै आएको छ । कोषको गुरुयोजनामा सो स्थललाई गौशालाका रुपमा विकास गर्ने लक्ष्य राखिएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया