कोहलपुर । कोहलपुर नगर प्रहरीले नगर क्षेत्रमा ठेला तथा फुटपाथ पसल सञ्चालनमा निषेध गरेको छ । गएको मंसिर २७ गतेको कार्यपालिकाको बैठकमा नगरक्षेत्रमा अव्यवस्थित तरिकाले ठेला तथा फुटपाथ पसल व्यवसाय सञ्चालन गर्न निषेध गर्ने निर्णय भएसँगै नगर प्रहरीले त्यसको कार्यान्वयनसमेत शुरु गरेको हो ।
कोहलपुर नगरपालिका क्षेत्र भित्र ठेलागाडा, सडक तथा फुटपाथ व्यवसायीहरुको व्यवस्थापन गर्न कार्यदलनै गठन गरिएको थियो । वडा नम्बर १२ का वडाअध्यक्ष वीरेन्द्रकुमार शाहको संयोजकत्वमा गठित समितिले प्रतिवेदन समेत बुझाइसकेको र प्रतिवेदनमा औल्याइएका सुझावलाई कार्यान्वयनमा लैजाने निर्णय गर्दै कार्यपालिका बैठकलले तत्कालका लागि ठेला तथा फुटपाथ व्यवसायीहरुलाई व्यवसाय गर्न कोहलपुर उद्योग वाणिज्य संघ परिसरसँगै पछाडी रहेको खाली स्थान छुट्याएको थियो ।
उद्योग वाणिज्य संघसँगको सहकार्यमा ती व्यवसायीलाई संघको पछाडीको खाली जग्गामा व्यवसाय गर्न दिइएको छ । व्यवसाय सञ्चालनका लागि संघमा सूचिकृत हुनुपर्नेछ । त्यहाँ कपडा, फलपूmल र तरकारी व्यवसायीहरु बस्न सक्ने छन् । ति स्थानबाहेक नगर क्षेत्रमा ठेला तथा फुटपाथमा पसल व्यवसाय सञ्चालन गरेको पाइएपछि केही व्यवसायीहरुलाई नगर प्रहरीले कारबाहीको दायरामा ल्याउन शुरु गरेको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए ।
आज चारवटा ठेला व्यवासायीलाई कारबाहीको दायरामा ल्याइएको छ । ‘नगर क्षेत्रमा ठेला घुमाएर–डुलाएर व्यवसाय गर्नेलाई अब निश्चित स्थान तोकिएको छ थापाले भने ‘त्यो बाहेक अन्य ठाउँमा पसल व्यवसाय सञ्चालन गरेको पाइए कारबाही हुन्छ ।’
नगर क्षेत्रमा अव्यवस्थित तरिकाले ठेला व्यवासाय सञ्चालन गर्दा दुर्घटनाको जोखिम पनि हुने र शहरलाई समेत कुरुप देखाउने भएकाले त्यसलाई व्यवस्थित गर्ने कामलाई कडाई गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया