बिकिनी किलर चार्ल्स शोभराज थुनामुक्त, अध्यागमन विभाग लगियो

लोकपथ
119
Shares

काठमाडाैं । बिकिनी किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराज थुनामुक्त भएका छन् । नेपालको कारागारमा १९ वर्ष दुई महिना बिताएका उनी आज थुनामुक्त भएका हुन् ।

उनलाई केन्द्रीय कारागार सुन्धाराले अध्यागमन विभागको जिम्मा लगाएको छ । अब विभागले उनलाई डिपोर्ट गर्ने प्रक्रिया अघि बढाउने बताएको छ ।

सर्वोच्च अदालतले शोभराजलाई रिहा गर्न दिएको आदेशमा “निरन्तर कैदमा राख्नु कैदीबन्दीको मानव अधिकार मापदण्ड र संविधान, कानुन प्रदत्त अधिकार अनुकूल नदेखिएको” भनिएको छ । आदेशमा “अन्य मुद्दामा थुनामा राख्नुपर्ने नभए निजलाई आजै कैदबाट छाडिदिन तथा यो आदेश भएको १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन,” भनिएको छ ।

कारागार नियमावली, २०२० का अनुसार ७० वर्ष उमेर नाघेका र असल आचरण भएका नेपाली कैदीलाई ७५ प्रतिशतसम्म कैद मिनाहा गर्न सकिने कानुनी व्यवस्था छ । नेपाली नागरिकलाई जस्तै विदेशी नागरिकको हकमा पनि उक्त व्यवस्था कार्यान्वयन हुनुपर्ने भन्दै शोभराजले कैदमुक्तिको मागसहित पटक पटक निवेदन दिएका थिए ।

उनले आफ्नो रिहाईका लागि राष्ट्रपति विद्या भण्डारीसम्मलाई गुहारेका थिए । फ्रेन्च वकिलमार्फत् उनले आफूलाई रिहा गरिदिन डेढ वर्षअघि पत्र लेखेका थिए ।

निवेदकको उमेर ७४ वर्ष भइसकेको तथ्यमा विवाद नरहेको, निज मुटुसम्बन्धी रोगबाट पीडित भई नियमित उपचारको अवस्थामा रहेको र निजलाई तोकिएको कैदमध्ये करिब ७५ प्रतिशत कैद भुक्तान भइसकेको देखिँदा निजका सम्बन्धमा मानवोचित र विवेकपूर्ण निर्णय तत्काल हुनु वाञ्छनीय देखियो, आदेशमा भनिएको छ ।

सन् २००३ मा काठमाडौंमा पक्राउ परेका उनलाई, सन् १९७५ मा दुई विदेशी पर्यटकको हत्या गरेको अभियोगमा दोषी ठहर गरी सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको थियो । सन् २००९ मा पाटन पुनरावेदन अदालतले उनलाई जाली राहदानी प्रयोग गरेको छुट्टै अभियोगमा दोषी ठहर गर्दै एक वर्षको कैद सुनाएको थियो ।

को हुन बिकिनी किलर शोभराज ?

७८ वर्षीय बिकिनी किलर शोभराज फ्रान्सेली नागरिक हुन् । उनका बुबा भारतका हुन् भने आमा भियतनामी हुन् । उनी भारतमा २१ वर्ष कारागारमा बसेका थिए । फ्रान्सका पर्यटकलाई विष दिएको अभियोगमा दोषी ठहर भएपछि सन् १९७६ मा शोभराजलाई भारतमा २१ वर्षको जेल सजाय सुनाइएको थियो । तर, जेलमा १० वर्ष बसेपछि उनी १९८६ मा दिल्लीस्थित तिहाड जेलबाट भागेका थिए । ७८ वर्षीय शोभराजले ४० वर्ष अर्थात् आफ्नो जीवनको आधाभन्दा बढी समय जेलमा बिताएका छन् । चार दशकअघि शोभराजले नेपालमा अमेरिका र क्यानडाका दुई महिलाको हत्या गरेको अभियोगमा उनी दोषी ठहर भएका थिए ।

शोभराजको अपराधका चाङ

शोभराजलाई हालसम्म २० जनाभन्दा बढी मानिसको हत्या गरेको अभियोग रहेको छ । भारत, थाइल्यान्ड, टर्की, इरान लगायतका मुलुकमा भएका विभिन्न हत्यामा शोभराजको संलग्नता भएको आरोप छ । यी घटना सन् १९७२ देखि १९८२ सम्म भएका थिए । तर सन् २००४ सम्ममा ती आरोपहरू पुष्टि हुन नसकेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?