काठमाडौं । क्रान्तिकारी पार्टी र संगठनको अन्तरराष्ट्रिय को–अर्डिनेसन (आईसीओआर) ले युक्रेन युद्धका कारण विश्व साम्राज्यवादी संरचनात्मक पद्धतीलाई संकटग्रस्त बनाएको ठहर गरेको छ । साम्राज्यवाद र फासिवादमाथिको संकटले समाजवाद स्थापनाको आधार खडा गर्नसक्ने आईओआरले जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (मसाल) को निमन्त्रणामा हालै काठमाडौं आएकी आइकोर संयोजक मोनिका गार्टनरले युक्रेन–रसिया युद्धले गुणात्मक छलाङ मारेको बताइन् । यसले विश्व साम्राज्यवादमाथि आर्थिक, राजनीतिक, सैनिकलगायतका संकट उत्पन्न गरेको भन्दै युद्धले समग्र मानव जातीका लागिसमेत नयाँ नयाँ संकट खडा गरेको बताइन् ।
नेकपा (मसाल) ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै जर्मन कम्युनिष्ट पार्टी (एमएलपीडी) की नेत्री गार्टनरले भनिन्, ‘अहिलेको संकटको मुख्य विन्दु युक्रेन युद्ध हो । यसले साम्राज्यवादी संरचनात्मक पद्धतीमा व्यापक संकट ल्याएको छ । परम्परागत साम्राज्यवादी शक्तिहरुमा यसले राजनैतिक, आर्थिक, सैनिक संकट बढाएको छ । साथसाथै, आर्थिक, वित्तिय उपनिवेशवादी परनिर्भरता, भोकमरी, महंगी, वातावरणी विनाश, शरणार्थी समस्या जस्ता संकटहरु पनि निम्त्याएको छ ।’
साम्राज्यवादी स्थायित्व अब युक्रेन युद्धपछि अस्थायित्व बनेको उनले बताइन् । यसले मुलतः दुईवटा विकल्प तेस्रो विश्वयुद्ध वा समाजवादी क्रान्ति ल्याउने गार्टनरको भनाइ छ ।
‘युक्रेन युद्ध अगाडि बढ्दै गए तेस्रो विश्वयुद्ध हुन पनि सक्छ । तेस्रो विश्वयुद्ध हुने अवस्थामा आणविक हतियार प्रयोगका कारण मानव जातीकै अस्तित्व संकटमा पर्न सक्छ’ आईसीओर संयोजक गार्टनरले भनिन्, अथवा साम्राज्यवादी अन्तरविरोध बढ्दै जाँदा जनताको प्रतिकारबाट समाजवादी क्रान्ति हुन सक्छ । यस्तो अवस्थामा र्माक्सवादी लेनिनवादीहरुले मजदुर वर्गलाई अझ बढी क्रान्तिमुखी बनाउनुपर्छ ।’
गार्टनरले अमेरिकाले नाटो (सैनिक संगठन)को नेतृत्व गरिरहेको र यो नै विश्व शान्ति खलल पु¥याउने मुख्य नाइके भएको बताइन् । साथै, रसियाले युक्रेनको आत्मनिर्णयको अधिकार र शान्ति भंग गरिरहेको आरोप पनि लगाउनु भयो ।
विश्वभरको मार्क्सवादी लेनिनवादी संगठनहरुलाई कुनै पनि युद्धरत पक्षको साथ नदिन आह्वान गरिन् । ‘यदी युद्धरत कुनै पनि पक्षलाई समर्थन गर्छौं भने त्यो सामाजिक धोका हुन जान्छ’ उनले भने, ‘वर्गीय एकता बलियो बनाएर, अन्तर्राष्ट्रिय सर्वहारा वर्ग जो हाम्रो हतियार पनि हो, त्यो हतियारद्वारा साम्राज्यवादविरुद्धको संघर्षलाई अघि बढाउनुपर्छ ।’
उनले आईसीओरले युक्रेन युद्ध तत्काल रोक्न माग गरेको बताए । रसिया र युक्रेनको सिमा क्षेत्रलाई असैनिक क्षेत्र घोषणा गर्न तथा युक्रेनमाथि भएको क्षतिको रसियाले क्षतिपुर्ती भर्नुपर्ने र अमेरिकाले नाटोलगायत सैनिक संगठन विघटन गर्नुपर्ने बताइन् ।
साथै, साम्राज्यवादी युद्धका कारण विश्वभर मानवजातीमाथि परेका आर्थिक, सामाजिक, सांस्कृतिक संकट एवम् वातावरणीय विनासविरुद्ध विश्वभरका मजदुरलाई आवाज उठाउन आह्वान पनि गरिन् ।
आईकोरको पछिल्लो गतिविधिबारे जानकारी दिँदै संयोजक गार्टनरले साम्राज्यवादी–फासिवादी मोर्चा ‘युनाइटेड फ्रन्ट’ ले महत्वपूर्ण प्रयासहरु गरिरहेको बताइन् । उनका अनुसार हालै सो संगठनले एक अन्तर्राष्ट्रिय वेविनार आयोजना गरेको थियो, जसमा २० देशका १०० बढी प्रतिनिधिहरु सहभागि थिए ।
पछिल्लो समयमा आईकोरप्रति विश्वका विभिन्न मुलुकबाट चासो बढिरहेको पनि उनले जानकारी दिइन् । यसै सन्दर्भमा आगामी सेप्टेम्बर ५ र ६ तारिखमा पेरिसमा विश्व साम्राज्यवाद तथा फासिवादविरुद्ध अन्तर्राष्ट्रिय सम्मेलन हुने र त्यो भन्दा अघि आउँदो जनवरीमा मजदुरहरुको एउटा कार्यक्रम पनि आयोजना गरिएको उनले बताइन् ।
गार्टनरले सडेगलेको साम्राज्यवादलाई प्रतिस्थापन गर्न आइकोरले विश्वभरका समाजवादी संगठनहरुबीच संयोजनको प्रयास गरिरहेको भन्दै नेपालमा नेकपा (मसाल) ले खेलेको भूमिकाको प्रशंसा पनि गरिन् । नेकपा (मसाल) आइकोरको सदस्य संगठन हो ।
नेपाल आएका जर्मन कम्युनिष्ट पार्टी एमएलपीडीका नेताहरुलाई नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले स्वागत गरेकी थिइन् । काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत मसाल सम्बद्ध विभिन्न जनवर्गीय संगठनका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
अखिल नेपाल बुद्धिजीवी संगठनका अध्यक्ष प्राध्यापक डा. श्रीधर गौतमले भाषा अनुवाद गरेको कार्यक्रममा सहभागीहरुका विभिन्न जिज्ञासाबारे आइसीओर संयोजक गार्टनरले स्पष्ट पारेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया