हनुमन्ते करिडोर शिलान्यास, ८१ करोड लागतको ठेक्का सम्झौता, निर्माणकार्य शुरु

भक्तपुर ।  भक्तपुरको हनुमन्ते नदीमा करिडोर निर्माण कार्य शुरु गरिएको छ । 

सांसद महेश बस्नेतले अरनिको राजमार्ग अन्तर्गत भक्तपुर र मध्यपुरथिमिको सिमानामा रहेको हुनमन्ते खोलाको पुलमा आज करिडोर निर्माणको शिलान्यास गरेका छन् ।  

पहिलो चरणमा दुई किलोमिटर करिडोर निर्माणका लागि  ८१ करोड लागतको ठेक्का सम्झौता गरी निर्माणकार्य शुरु गरिएको अधिकार सम्पन्न बागमती आयोजनाका प्रमुख आशिष घिमिरेले जानकारी दिए। 

हनुमन्ते खोलाको चौडाइ साँघुरिँदै गएकाले सो क्षेत्रको खोलाको चौडाइ फराकिलो बनाइ करिडोर निर्माणकार्य शुरु गरिएको आयोजनाले जनाएको छ । 

बागमती नदीको सहायक नदीका रुपमा बहने हनुमन्ते खोलाले वर्षायाममा बस्ती डुबान गर्न थालेपछि आयोजनाले दुई किमि नदी क्षेत्रमा करिडोर निर्माण शुरु गरेको हो । भक्तपुरका चारवटै नगरपालिका चाँगुनारायण, भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमि क्षेत्र भएर बग्ने हनुमन्ते नदीको कूल लम्बाइ नौ किमि छ । त्यसपछि यो नदी बागमतीमा मिसिन्छ । 

आयोजना प्रमुख घिमिरेले करिडोर निर्माणका लागि हनुमन्ते नदीलाई चार भागमा विभाजन गरी करिडोर निर्माणको प्याकेज तयार गरिएको र पहिलोचरणमा दुई किमि नदी क्षेत्रमा काम शुरु गरिएको जानकारी दिए । 

करिडोर निर्माण अन्तर्गत रिटेनिङ वाल लगाउने, नदी किनारामा बाटो बनाउने, हरियाली कायम गर्ने र डुबान क्षेत्रको संरक्षण गरिने छ । आगामी दुई वर्षभित्रमा हनुमन्ते करिडोर निर्माण गरिसक्ने आयोजनाको लक्ष्य रहेको छ । 

सो अवसरमा सांसद बस्नेतले आगामी दुई वर्षभित्र करिडोर निर्माण सम्पन्न गर्ने बताउँदै भक्तपुरलाई सवारी चापमुक्त बनाउने र हनुमन्तेको पानी बस्तीमा पस्नबाट रोकिने बताउनुभयो । अब हनुमन्ते ढल नदीमा मिसाए कडा कारवाही गरिने बताउँदै उनले भक्तपुरको विकासलाई अब कसैले रोक्न नसक्ने दाबी गरे । 

भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले हनुमन्ते करिडोर निर्माणले भक्तपुरको विकासमा नयाँ खुट्किलो थपिएको बताए। सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले जनप्रतिनिधि आएपछि भक्तपुरको विकासले फड्को मारेको बताउँदै आगामी चार वर्षभित्र भक्तपुरको गाउँ गाउँको मुहार फेरिने दावी गरे । 

नेपाली काङ्ग्रेस भक्तपुरका युवा नेता अष्टकुमार कबेले भक्तपुरको विकासमा कुनै दल वा पार्टी भनेर विभाजित नभइ सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । त्यस अवसरमा पूर्वमध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनकृष्ण श्रेष्ठले विकासमा कुनै समस्या आएमा सबै मिलेर छलफल र वार्ता गरी समाधान गरेर अगाडि बढ्नुपर्ने बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?