चार्ल्स शोभराजलाई छाड्नेबारेमा कारागार विभाग अलमलमा, आदेश अस्पष्ट भएको भनाइ

लोकपथ
91
Shares

काठमाडौं । बिकिनी किलरका रुपमा चिनिएका चार्ल्स शोभराजलाई छाड्न अदालतले आदेश दिएपनि केन्द्रीय कारागार विभाग भने अलमलमा परेको छ ।

सर्वोच्च अदालतले बुधबार गरेको आदेश स्पष्ट नभएको भन्दै शोभराजलाई आज छाड्ने अवस्था नभएको कारागार व्यवस्थापन विभाग स्रोतले जानकारी दिएको हो । यसबारेमा विभागका सूचना अधिकारी रामचन्द्र शिवाकोटीले केही थप विवरण संकलन नहुँदासम्म छोड्न अफ्ठ्यारो परेको लोकपथसँग बताए ।

शोभराजलाई राखिएको काठमाडौं जगन्नाथ देवल कारागारका कार्यालय प्रमुख वेद खरेलले पनि उनका बारेमा विभिन्न स्थानबाट विवरण संकलनको कार्य भइरहेको र अहिलेसम्म प्राप्त भइनसकेकाले छुट्ने सम्भावना कमै रहेको बताए ।

सर्वोच्चको आदेश अस्पष्ट भएकाले छाड्न अफ्ठ्यारो भएको हो भन्ने प्रश्नमा ‘आदेशले सबै प्रष्ट नगरेको’ प्रतिक्रिया दिए । बुधवार भने सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद सजायँ भोगिरहेका ७८ वर्षीय फ्रेन्च नागरिक शोभराजलाई तत्काल थुनामुक्त गरी १५ दिनभित्र आफ्नो देश फर्काउन आदेश दिएको थियो ।

उच्च सुरक्षा खतराको कैदी भएको भन्दै केन्द्रीय कारागारको गोलघरमा राखिँदै आएका शोभराजाका वकील शकुन्तला विश्वासले पनि भेट्न नपाएको गुनासो गरेकी छिन् । सन् १९७५ मा एक अमेरिकी र एक क्यानेडियन नागरिकको हत्या गरेको आरोपमा सन् २००३ मा काठमाडौंबाट पक्राउ पर्नुअघि उनले भारतको कारागारमा झन्डै २१ वर्ष बिताएका थिए ।

सर्वोंच्च अदालतले ज्येष्ठ नागरिकले पाउने कैद छुटको सुविधा देखाउँदै रिहा गर्न आदेश गरेको थियो । शोभराज रिहाईको खबर सार्वजनिक भएलगत्तै संसारका प्रतिष्ठित सन्चार माध्यमहरुले समाचार पनि दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?