काठमाडौं । विकिनी किलरका रुपमा कुख्यात अपराधी चार्ल्स शोभराजलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले शोभराजलाई छोड्न आदेश दिएको सर्वोच्चका प्रवक्ता बिमल पौडेलले जानकारी दिए ।
शोभराजले आफ्ना कानून व्यवसायीमार्फत सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दिइरहेका थिए । जसमा ज्येष्ठ नागरिकले पाउनुपर्ने कैद छुटेको सुविधा दिन माग गरेका थिए ।
साथै, थुनामा बसेका कैदीबाट आफुलाई तोकिएको अवधिभन्दा बढी कैद राखिएकाले कैदमुक्त हुन पाउँ भन्दै निवेदन पेश गरेका थिए। जेष्ठ नागरिकले पाउनु पर्ने ७५ प्रतिशत कैद छुटको सुविधा दिलाउन माग गर्दै सर्वोच्चमा रिट हालेका थिए।
उक्त निवेदनमाथि सुनुवाइ गर्दै इजलासले सुनुवाइपछि निवेदनको माग जायज ठह¥याएर थुनामुक्त गर्नु भनी आदेश दिएको हो ।
२०३२ साल मंसिर २८ गते अमेरिकी नागरिक ब्रोन्जिजलाई काठमाडौंको मनाेहरामा मारेको दुई दिनमै उनले क्यानेडियन नागरिक लरेन्ट अरमान क्यारिअरेलाई भक्तपुरको साँगामा हत्या गरेका थिए । हत्यापछि फरार भएका शोभराज २०६१ सालमा काठमाडौं आएका थिए। त्यही बेला उनलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेपछि काठमाडौं र भक्तपुर जिल्ला अदालतमा हत्या मुद्दा अघि बढेको थियो। शोभराजलाई दुवै जिल्ला अदालतले सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
यता काठमाडौं जिल्ला अदालतमा चलेको उनको मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो। जिल्ला अदालतले उनलाई गरेको जन्मकैदको फैसला सर्वोच्च अदालतले सदर गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया