राहदानी विभागमा सर्भर लोडको बहानामा मच्चाइन्छ लूटतन्त्र

'एजेन्टलाई ४५ सय रुपैयाँ दिए तत्काल अनलाइन आवेदन'

सल्यानका गगन धामी (नाम परिवर्तन)ले स्वदेशमा जागिर नपाएपछि विदेशिने विकल्प रोजे । नेपाल सरकारले राहदानी बनाउनका लागि राष्ट्रिय परिचयपत्र पनि अनिवार्य गरेको छ । उनले जिल्ला प्रशासन कार्यालय सल्यानमा नै आफ्नो राष्ट्रिय परिचयपत्र बनाए । त्यसपछि उनी राहादानी बनाउन काठमाडौंस्थित त्रिपुरेश्वरमा अवस्थित राहदानी विभाग हानिए ।

काठमाडौं आएपछि राहदानी बनाउन अनलाइन आवेदन दिनुपर्ने उनले थाहा पाए । अनलाइन आवेदन भर्न उनले पाँच दिन प्रयास गरे तर ट्राफिक भोल्यूम भन्ने मेसेजले उनको आवेदन बारम्बार रोकिन्थ्यो । राहदानी बनाउन मात्रै आएका उनी पाँच दिन बितिसक्दा पनि काम वरको पर नसर्दा राहदानी विभाग अगाडी नै रनभुल्ल अवस्थामा थिए । यत्तिकैमा उनको भेट एक दलालसँग भयो । जसले उनलाई ४५ सय रुपैयाँ दिए तत्काल अनलाइन आवेदन भरिदिएर डेट लिइदिने आश्वासन दिए ।

एक दुई दिनमा काम सकेर सल्यान फर्कने मनसाय बनाएका उनले पाँच दिन व्यर्थ बिताइसकेका थिए । आफैंले अझै कुरेर डेट लिनेतिर लाग्नुभन्दा दलाललाई ४५ सय दिए काम तत्काल हुने भएकाले उनी दलाललाई उक्त रकम दिन तयार भए । उनले दलाललाई उक्त रका तिरेपछि उनले भोलिपल्टकै डेट पाए । डेट पाइसकेका उनी अब राहदानी विभागमा पासपोर्ट तयार भएर आउने प्रतिक्षामा छन् ।

त्यस्तै, सर्लाहीका महेन्द्र यादव (नाम परिवर्तन) ले त एजेन्टलाई ६ हजार नै तिरे । उनको पनि कथा गगनको जस्तै छ । राहादानी बनाउन उनी पनि काठमाडौं आएका थिए । निकै दिन झुल्लिँदा पनि केही उपाए नलागेपछि उनले एजेन्टलाई पैसा दिए । उनको त अहिले पासपोर्ट नै हातमा परिसकेको छ । पासपोर्ट हातमा परेका उनी निकै खुशी देखिन्थे ।
लोकपथसँगको संवादमा उनले आफू जस्तै सैयौं युवा यसरी एजेन्टबाट ठगिइरहेको दुःखेसो गरे । उनीसँगै गाउँबाट पासपोर्ट बनाउन आएका साथिहरुको भने पासपोर्ट आउँदै छ । उनीहरुले पनि एजेन्टलाई पैसा बुझाएपछि मात्रै आवेदनको डेट पाएका थिए ।

त्यस्तै, झापाका अर्जुन परियार (नाम परिवर्तन) ले भने आफूलाई एजेन्टले पैसा तिरे सहजै आवेदनको डेट मिलाईदिने पटक पटक बताएपनि आफैंले डेट लिएको बताए । तर, यसरी आफैंले डेट लिन भने उनलाई करिब १२ दिन लागेको थियो । पैसा एजेन्टलाई नतिरी बनाउदा दुःख निकै पाएको उनले बताए । ‘निक्कै सास्ती भोग्नुपर्यो । जहिल्यै पनि सर्भरमा डाटा इन्ट्री गर्दा सर्भर क्रयास हुने, ह्याङ हुने समस्याले आवेदन भर्न सकेको थिइन । तर बिनासित्तैमा अरुलाई पैसा किन तिर्ने भन्ने सोचले आफैंले आवेदन फारम भरेँ तर १२ दिन लाग्यो । धेरैपटक त एजेन्टलाई नै पैसा दिएर बनाउने सोच आएको थियो तर आफैं भरेँ र ई–पासपोर्ट बनाए,’ उनले अनुभव सुनाए ।

गगन धामी, महेन्द्र यादव, अर्जुन परियार त केबल प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरु जस्ता हजारौँ सेवाग्राही राहदानी विभाग बाहिर ठगिने गरेका छन् । सयौंको संख्यामा राहादानी विभाग बाहिर त्यस्तै अलपत्र बनेर बसेका युवा युवतीको भीड देख्न सकिन्छ ।

सर्भरको समस्या भन्दै साता दिनसम्म लगातार प्रयास गर्दा पनि समय नपाइने तीतो यथार्थ हो । विभाग अगाडी पासपोर्ट बनाउन उभिएका अघिकांश मानिसको गुनासो नै विभागको अनलाइन साइटमा आउने समस्या (ट्राफिक भोल्यूम) हो । यस विषयमा न त राहदानी विभागले सोचेको छ, न त कुनै ठोस पहलकदमी नै गरेको छ ।

सूचना निकाल्छ तर समस्याको हल गर्दैन विभाग

राहदानी विभाग त्रिपुरेश्वरले २०७९।०४।१७ देखि दैनिक बिहान ११ बजे राहदानी आवेदनका लागि बुकिङ खोल्ने गरेको थियो । प्रायःजसो जिल्ला र ईलाका प्रशासन कार्यालयले पनि सोही समयको आसपासमा बुकिङ खोल्ने गरेकाले विभागको सर्भरमा अत्याधिक चाप पर्ने गरेको विभागको प्रस्टोक्ति छ ।

त्यसैले विभागले अहिले बुकिङ खोल्ने समय नै परिर्वतन गरेको जनाएको छ । सर्भरमा परेको अत्यधिक चापको समाधान खोज्न भन्दै विभागले पुनः अर्को सूचना निकालेको छ । जसमा विभागले यही पुस ५ गतेदेखि दिउँसो ३ः३० बजे अपोइन्टमेन्ट बुकिङ खोल्ने जनाएको छ ।

समय सार्ने कि विकल्प खोज्ने ?

राहदानी विभागले सबै सेवाग्राही एकैपटक राहदानी (पासपोर्ट) का लागि आउँदा समस्या भएको बताउने गरे पनि त्यसको समाधान भने अझै गरेको छैन । अनलाईन आवेदनको समय ३ः३० बजे बनाउनु नै समस्याको समाधान भने होइन । यस विषयमा विभागले गम्भीर भएर सोच्नुपर्ने देखिन्छ ।

के भन्छ विभाग ?

अहिले दैनिक रुपमा दुई हजारको हारहारीमा अनलाइन आवेदन आउने गरेको राहदानी विभागका सूचना अधिकारी खिमानन्द भुसालको भनाइ छ । उनका अनुसार दुई हजार आवेदन मध्ये तीन-चार सय आवेदन जिल्लाबाट आउने गरेका छन् ।

‘सर्भरले धान्नै नसक्ने गरी आवेदन आउन थालेपछि हामीले नियमित ११ बजेको समयलाई परिवर्तन गरेर ३ः३० बनाएका छौं । यति गर्दा मात्रै पनि एक दुई दिनमा हामीले केही हदसम्मको राहत महशूस गरेका छौं’, राहदानी विभागका महानिर्देशक सुरेन्द्र कुमार यादवले भने । लोडको समस्या समाधानका लागि धेरै गृहकार्य गरिएको उनको दाबी छ ।

एजेन्टहरुको लूटतन्त्र

अनलाईन मार्फत् नै आवेदन दिन सकिने व्यवस्था मिलाइएको भएपनि सर्भर लोडका कारण आमजनता आवेदन भर्न असमर्थ बनेका छन् । तर राहदानी विभाग बाहिर रहेका केही एजेन्टले भने ४५ सयदेखि १० हजारसम्म पैसा बुझाए अनलाइन आवेदन भरी दिन्छन् । यो मिलेमतो नभए के हो ?

कसरी गर्छन् एजेन्टहरुले काम ?

विभाग अगाडीका मानिसको भीडमै मिसिएका हुन्छन् एजेन्टहरु । हातमा फारम र कागजात बोकेर आवेदन दिन आउनेलाई उनीहरु सजिलै चिनिहाल्छन् । विभागकै बाहिरपट्टी एजेन्टहरुले खुल्लमखुल्ला लेनदेन गर्न थाल्छन् । मानिस र उसको समय चाप हेरेर शुल्क निर्धारण गर्छन् । आवेदन भर्नलाई खाएको हन्डर सम्झेर उनीहरु एजेन्टले मागेको पैसा तिर्न बाध्य हुन्छन् । एजेन्टहरुले कहिलेको डेट लिने सोही अनुसार रकमको बार्गेनिङ गर्ने गरेका छन् । यी सबै कुरा विभागको आँगनमै भइरहँदापनि विभाग मूकदर्शक बनेको सेवाग्राहीको गुनासो छ ।

आम सेवाग्राहीले चाहँदा राहदानी विभागको सर्भर नखुल्ने तर यस्ता बिचौलियाले पैसाको मूठो समात्ने बित्तिकै काम हुने कारण के हो ? सेवाग्राहीको प्रश्न छ । सेवाग्राही भन्छन्–‘विभागका कर्मचारीहरुकै मिलेमतोमा एजेन्ट सक्रिय हुने र दलालले लिएको पैसाको हिस्सा कार्यालयमा रहेका अधिकारीहरुसम्म पुग्ने भएकै कारण प्रणालीले काम नगरेको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?