चिकित्सक संघको चुनाव : वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष निर्विरोध, दुबै प्रजातान्त्रिक प्यानलका

लोकपथ
35
Shares

काठमाडौं । नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । यसका साथै अरु चार पदमा पनि निर्विरोध निर्वाचित भएका छन् ।

संघको आसन्न निर्वाचनका लागि पाँच पदमा एक/एक जनाको मात्र उम्मेदवारी परेको तथा एक पदका प्रतिष्पर्धीको योग्यता नपुगेका कारण उनीहरु निर्विरोध निर्वाचित भएका हुन् । यद्यपि, यसको आधिकारिक घोषणा भने हुन बाँकी छ ।

निर्विरोध निर्वाचित हुनेमा वरिष्ठ उपाध्यक्ष डा. बद्री रिजाल र कोषाध्यक्ष डा. प्रमोद जोशी छन् ।

डा. रिजालको पदमा कसैले पनि उम्मेदवारी दिएनन् भने कोषाध्यक्षमा भने उम्मेदवारी दिएकी प्रगतिशील समूहकी डा अन्जना महर्जनको निर्वाचनका लागि तोकिएको योग्यता नपुगेपछि उम्मेदवारी नै खारेज भएको हो ।

यसैगरी लुम्बिनी प्रदेश उपाध्यक्षमा डा नन्दाकुमारी गुरुङ, कर्णाली प्रदेश उपाध्यक्षमा डा केशरबहादुर ढकाल, सहकोषाध्यक्षमा डा विक्रान्त ढकाल र सहसचिवमा डा लिजन महर्जन निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध हुने सबै जना प्रजातान्त्रिक समूहका उम्मेदवार हुन् ।

नेपाल चिकित्सक संघको आसन्न निर्वाचनका लागि सोमबार मनोनयन दर्ता गरिएको हो । जसमा अध्यक्ष पदका लागि प्रजातान्त्रिक समूहबाट डा. अनिल विक्रम कार्की र प्रगतिशील समूहबाट डा. सन्तोष पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन कार्यतालिका अनुसार माघ ६ र ७ गते उपत्यका बाहिर र माघ १९, २० र २१ गते उपत्यकाभित्र मतदान हुनेछ ।

संघको केन्द्रीय कार्यकारिणी समितिका लागि एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ७ उपाध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, एक सहसचिव, एक सहकोषाध्यक्ष र ६ सदस्य गरी १९ जनाको निर्वाचन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?