बाक्सिला बजार आगलागी पाँच घर जलेर नष्ट हुँदा पाँच करोड क्षति

लोकपथ
39
Shares

खोटाङ । केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा सोमवार साँझ भएको भीषण आगलागीमा करिब पाँच करोड बराबरको क्षति भएको छ । स्थानीय दीपक गुरुङको घरबाट शुरु भएको आगोले पाँच घर तथा दर्जन बढी पसल जलेर नष्ट हुँदा चार करोड ९९ लाख ३३ हजार रुपैयाँ बराबरको क्षति भएको हो ।

आगलागीबाट दीपक गुरुङ, रमेश परियार, शुभराज राई र डिल्लीकुमार श्रेष्ठको घर पूर्णरुपमा जलेर नष्ट भएको थियो । उक्त आगो नियन्त्रणमा लिन स्थानीय अकबर राईको घर भत्काइएको थियो । परम्परागत रुपमा एकआपसमा जोडेर ढुङ्गामाटो तथा काठ प्रयोग गरेर बनाइएको जस्तापाताको छाना भएको घरमा लागेको आगो स्थानीय बासिन्दा र प्रहरीले करिब चार घण्टा लगाएर नियन्त्रणमा लिएको थियो ।

आगलागीमा दीपकको तीनतले घर तथा घरमा भएका नगद एक लाख रुपैयाँ, पसललगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा ५४ लाख ८५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । सोही घर भाडामा लिएर पसल गर्ने रत्ना गुरुङको नगद ७५ हजार रुपैयाँसहित पसललगायत बन्दोबस्तीका सामग्री जलेर नष्ट हुँदा १३ लाख ७२ हजार रुपैयाँ क्षति भएको प्रहरीको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

रमेशको तीनतले घर, घरमा भएको नगद एक लाख रुपैयाँ, टेलर्स पसललगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा ७१ लाख नौ हजार बराबरको क्षति भएको छ । शुभराजको तीनतले घर भाडामा लिएर गाउँपालिका प्रमुख समिर राईले सञ्चालन गरेको कपडा, किराना तथा पुस्तक पसल, नगद दुई लाख रुपैयाँ लगायतका सामग्री जलेर नष्ट हुँदा एक करोड २५ लाख रुपैँया क्षति भएको छ ।

सोही घरमा सञ्चालित इन्द्रा राईको होटल जलेर नष्ट हुँदा सात लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए । शुभराज भने घर भाडामा दिएर काठमाडौंमा बस्दै आएको स्थानीय बासिन्दाले बताएका छन् ।

अकबरको तीनतले घर तथा घरमा भएका सम्पूर्ण सामग्री जल्दा त्रीसाठी लाख रुपैयाँ क्षति भएका जनाइएको छ । सोही घरमा सञ्चालित नेपाली कांग्रेस गाउँपालिका समितिको कार्यालय जलेर नष्ट हुँदा दुई लाख रुपैयाँ बराबरको क्षति भएको कांग्रेसले जनाएको छ ।

डिल्लीकुमारको तीनतले घर, नगद ५० हजार रुपैँया, भाँडा तथा कपडा पसल जल्दा एक करोड ४१ लाख ७७ हजार रुपैँया बराबरको क्षति भएको प्रहरीले जनाएको छ । सोही घरमा डिल्लीकुमारको छोरा पवन श्रेष्ठले सञ्चालन गर्दै आएको भाँडा पसल र नगद ४० हजार रुपैँया जल्दा २० लाख ४० हजार रुपैँया बराबरको क्षति भएको छ ।

बाक्सिला बजारमा आगलागी हुनुको कारण अहिलेसम्म पुष्टि हुन नसकेको प्रहरीले जनाएको छ । आगलागीमा ठूलो मात्रामा धनमाल जलेर नष्ट भए पनि मानवीय क्षति हुनबाट जोगाइएको प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक मुकारुङले जानकारी दिए।

बाक्सिला बजारका आगलागी पीडितलाई तत्काल पुनः स्थापना गर्दै राहत प्रदान गर्ने गाउँपालिका कार्यपालिकाले निर्णय गरेको छ । घटना लगत्तै गाउँपालिकाका उपप्रमुख गुरुराज राईको अध्यक्षमा बसेको बैठकले आगलागी पीडित परिवारलाई लागि क्षतिपूर्ति उपलब्ध गराउन सङ्घीय सरकार, प्रदेश सरकार लगायतका सम्पूर्ण सरकारी तथा गैरसरकारी निकायलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

बाक्सिला बजारका आगलागी पीडित परिवार अहिले आफन्तका आश्रय लिएर बसिरहेका छन् । आगलागी पीडित परिवाराई तत्काल राहत उपलब्ध गराउन तथा पुनःस्थापनाका लागि विभिन्न निकायसँग पहल भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?