बाँके । डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०७९–०८० को निति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ । गाउँपालिकाको आज सोमवार बसेको १२ औँ गाउँसभाले एउटा विधेयक, निति तथा कार्यक्रम र ६५ करोड ३१ लाख ९३ हजार रुपैयाँको प्रस्तावित बजेट सार्वजनिक गरेको हो ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, वन तथा वातावरण, विकास निमार्ण लगायतका १८ बुंदे महत्वपूर्ण निती तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
कन्या मुद्दती शिक्षा योजना, संस्कृत भाषा, अवधी भाषा र उर्दु भाषाको संरक्षण र संवर्द्धनको लागि मातृभाषाका गुरु÷शिक्षक÷सहजकर्तामार्फत मातृभाषाको संरक्षण र विकासमा जोड, एस.ई.ई उत्तीर्ण डुडुवा गाउँपालिकाका सबै छात्राहरुलाई प्रति छात्रा एउटा साइकल प्रदान गरी थप अध्ययनको लागि प्रोत्साहित, बाल उद्यानको स्थापना, तलाउ तथा पोखरीको संरक्षण,पिकनिक स्पटको निर्माण, राप्ती नदी र डुडुवा खोलामा डुंगा तथा ¥याफ्टिङ्ग सञ्चालन तथा प्राचिन मठ, मन्दिर, गुम्वा, चर्च ,मस्जिद एवम् गुरुद्वाराहरुको संरक्षण, मर्मत संभार तथा पुर्ननिर्माण गरी पर्यटकीय क्षेत्रहरुका विकास, राप्ती नदी किनारमा स्नानघर र आर्यघाट व्यवस्थितरूपमा सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण, आवधिक योजना, क्षेत्रगत योजना, रणनीतिक योजना र गुरु योजना कार्यान्वयन मार्फत गाउँपालिकाको समग्र विकास, घरघरमा डुडुवा सरकारको अवधारणा कार्यान्वयन गर्न घर घर स्वास्थ्य कार्यक्रम, जेष्ठ नागरीकसँग गाउँपालिका अध्यक्ष कार्यक्रम, घरघर पशुसेवा कार्यक्रम, वडा वडामा प्रयोगाशाला सुविधा, टोलटोलमा घटनादर्ता अभियान र मालपोत संकलन अभियानलाई निरन्तरता निति तथा कार्यक्रम प्रस्तुत गरिएको हो ।
यसैगरि ‘ग’ र ‘घ’ वर्गका अशक्त अपांगहरुलाई त्रैमासिक रुपमा सामाजिक सुरक्षा भत्ता, गाउँपालिकाको वनकट्टीमा नवनिर्मित प्रशासनिक भवनबाट सेवा प्रावाहलाई नियमित सहज, सूचना प्रविधिमैत्री, अशक्तमैत्री र सेवाग्राहीमैत्री, भूमिहिन सुकुमबासी तथा अव्यवस्थित बस्तीलाई प्रचालित भूमि ऐन बमोजिम कार्य प्रक्रिया अगाडि बढाउने, बाढी र डुवानको उच्च जोखिममा रहेको वस्तीहरुमा तटबन्धनको व्यवस्था, डुडुवा गाउँपालिक वडा नं –६ महाउत टोलमा सात सय मेटिक टन क्षमताको कोल्ड स्टोर निर्माण चालु आर्थिक वर्षमै सम्पन्न गरि किसानहरुको आलु विउ भण्डारण र तरकारी तथा फलफूल भण्डारण आत्मनिर्भर बनाईने उल्लेख गरिएको छ ।
साथै,डुडुवा–२ मा स्थापना भएको बिउ भण्डारण तथा प्रशोधन केन्द्रलाई सञ्चालनमा ल्याउने, पशुपती मावि नौरीगौडीमा गाउँपालिका स्तरीय क्याम्पस स्थापनाको लागी जग्गा प्राप्तीको आवश्यक प्रवन्ध गरिन बताइएको छ । डुडुवामा रहेका सबै सामुदायिक विद्यालयहरु र बालविकास केन्द्रहरुमा अग्रेजी माध्यमबाट पाठपाठन सिकाई कार्यमा जोड दिने, प्रयोगशाला नभएका वडाहरु वडा नं १, ३ र ४ मा क्रमशः प्रयोगशाला स्थापना गरिने र न्यूनतम दरमा सवै डुडुवावासीहरुलाई वडास्तरमा स्वास्थ्य परिक्षणको पहुचमा वृद्दि गरिने निति तथा कार्यक्रममा उल्लेख छ ।
कृषि बालीमा लाग्ने रोग किरा नियन्त्रण गर्न आवश्यक विषादी निःशुल्क रुपमा वितरण कार्यलाई निरन्तरता, कृषिको उत्पादन क्षेत्र विस्तार गर्न अन्य निकायसमेतको सहकार्यमा सिंचित क्षेत्रमा विस्तार गरिनेछ । उन्नत पशु स्रोत केन्द्रको विकास गर्न कृत्रि गर्भाधान कार्यक्रमबाट नश्ल सुधार गरि कृषकको आम्दानीमा वृद्धि गर्ने लगायत रहेको छ ।
सभामा डुडुवा गाउँपालिकाको आर्थिक विधयेक २०७९ प्रस्तुत गरिएको थियो । आज प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमाथी थप छलफल गर्न भोली मंगलवार दिउँसो पुन बैठक बस्ने गाउँपालिका अध्यक्ष चौधरीले बताए । सचिव तथा प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद पौडेलले सञ्चालन गरेकोे सभामा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वरी कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँ, झंकबहादुर थापा र मोहनराम मिश्र, सम्पूर्ण वडासदस्य, कार्यपालिका सदस्य लगायत सबैको सहभागिता रहेको थियो ।
आर्थिक वर्ष सुरु भएको पाँच महिनापछि डुडुवा गाउँपालिकाले सोमवार आफ्नो १२ औँ गाउँसभा गरेको छ । यसअघि समयमा गाउँसभा नहुँदा सबै सेवा ठप्प भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया