सरकारले शिक्षामा विभेद गर्दा यौन व्यवसाय अँगाल्न बाध्य छौँ : बादी समुदायका युवतीहरु

लोकपथ
35
Shares

काठमाडौं । बादी समुदायका युवतीहरुले आफ्नो समुदायका लागि सरकारी तवरबाट छुट्टै कोटाको व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । सोमवार बादी समुदायका युवतीहरुले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै पिछडीएको वर्गले अर्को पिछडीएको वर्गसँग भिडिरहनुपरेको भन्दै बादी समुदायलाई छुट्टै कोटाको व्यवस्था सरकारले गरिदिनुपर्नेमा जोड दिएका हुन् ।

उनीहरुले संविधानमा लेखिएका कुराहरु कागजमा मात्रै सिमित हुँदा बादी समुदायलाई झनै पीडा थपिएका महशुस आफूले गरेको बताए । बादी समुदायबाट पहिलो पटक उच्च शिक्षा हासिल गरेका बादी युवतीहरुले सरकारले बादी युवतीहरुको शिक्षामा विभेद गरेका कारण बादी युवतीहरु बाध्यात्मक यौन व्यवसाय अँगाल्न बाध्य भएको बताए ।

कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग बोल्दै बादी समुदायबाट पहिलो पटक व्यापारमा स्नातकोत्तर गरीरहेकी देवीसरा बादीले बादी समुदायलाई शिक्षामा विभेद गरिँदा बादी युवतीहरु बाध्यात्मक यौन व्यवसाय अँगाल्न बाध्य भएको बताईन् । उनले पहिला अशिक्षाका कारण यौन व्यवसायमा लाग्ने गरेको भएपनि पछिल्लो समय सरकार सहयोगी नबन्दा यौन व्यवसायमा लागिरहेको बताएकी हुन् ।

उनले बादी समुदायका महिलाहरु घर खर्च धान्नका लागि भएपनि सानै उमेरबाट यौन व्यवसायमा लाग्ने गरेको बताइन् । उनले आमाको नाममा नागरीकता बन्ने कानून बनेपनि बुबाको पहिचान खोज्दा हजारौँ बादी युवाहरुले दुःख व्यहोरिरहेको बताईन् । उनले तीन तहकै सरकार बादी समुदायका समस्याप्रति उदासिन बनेका कारण बादी समुदायका समस्या जस्ताको तस्तै भएको बताईन् ।

त्यस्तै बादी समुदायबाट अधिवक्ता बनेकी सीता बादीले व्यवस्था बदलिँदा पनि बादी समुदायको अवस्था परिवर्तन हुन नसकेको बताईन् । उनले नागरिकता पाउन पनि बादी समुदायले हात पाउ जोड्नुपर्ने अवस्था रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराईन् । उनले राजनीतिक दलहरुले निर्वाचन ताका ठूलो आश देखाउने तर अघिपछि हेप्ने प्रवृत्ति रहेको बताईन् ।

सरकारले बादी समुदायका बालबालिकाको शिक्षामा सहयोग नगर्ने र अन्य संस्थाले पनि कक्षा १० पछि पढाउन नपाउने कानून हुँदा बादी समुदायका युवतीहरु यौन व्यवसायमा फर्किन थालेको बताईन् । आर्थिक अवस्थाका कारण यौन व्यवसायमा लाग्न बाध्य भएका बादी समुदायका युवतीहरुको उद्धारका लागि सरकारले आवश्यक कदम चाल्नुपर्ने बादी समुदायको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?