सडक निर्माणमा ढिलाइ हुँदा खजुरावासीलाई सास्ती

लोकपथ
39
Shares

बाँके । नेपालगञ्ज–गुलरिया सडकखण्ड अन्तर्गत बाँकेको खजुरा बजारमा चार लेन सडक निर्माण कार्यमा ढिलाइ हुँदा स्थानीयवासीले सास्ती पाएका छन् । सडक निर्माण अधुरो हुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ हुनुका साथै धुलो उडेर आसपासका पसल तथा घरमा धुलाम्य हुँने गरेको छ ।

साढे दुई वर्षमा काम सक्ने गरी सम्झौता गरिएको खजुरा बजारको मुख्य सडक निर्माणको काम पाँच वर्ष आठ महिना वितिसक्दा पनि सम्पन्न भएको छैन । धुलो र हिलोका कारण व्यापार व्यवसाय प्रभावित भएको खजुरा बजारका स्थानीय व्यवसायी टेकप्रसाद शर्माले बताए। उनले मुख्य सडकमा सवारीसाधन आवतजावत गर्दा उड्ने धुलोले स्थानीयवासी श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित भएको गुनासो गरे ।

गतवर्ष धुलोका कारण खजुरा बजारका घर र पसलमा बस्न सक्ने अवस्था नरहेको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका थिए । सडक नै अवरुद्ध पारेपछि कम्पनीले गिट्टी हालेर ‘सरफेस ट्रेसिङ’ गरेको थियो । उक्त ट्रेसिङ पनि दुई साता नहुँदै उप्किएको थियो ।

विसं २०७४ वैशाखमा रु २१ करोड ४९ लाखमा निर्माणको लागि ठेक्का सम्झौता भएको उक्त सडक योजनाको काममा ढिलाइ हुँदा स्थानीयवासीले सास्ती भोगिरहेको खजुरा गाउँपालिकाका प्रवक्ता धनीराम वलीले बताए। उनले सडक निर्माण कार्यलाई सम्पन्न गर्न ठेकेदार कम्पनीलाई पटक–पटक आग्रह गरेपनि काम हुन नसकेको उल्लेख गरे । सडक डिभिजन कार्यालय नेपालगञ्जमार्फत सञ्चालित उक्त योजना निर्माणको जिम्मा गजुरमुखी निर्माण सेवाले लिएको छ ।

निर्माण कम्पनीले समयमा काम नसकिनुमा कोरोना महामारीको कारण देखाउँदै पटक–पटक म्याद थपाउँदै आएको छ । अब भने काम अन्तिमचरणमा पुगेको कम्पनीका सञ्चालक बामदेव रेग्मी बताउछन् । खजुराको चार लेन खण्डसँगै बर्दियाको गुलरियाको चार लेन खण्ड पनि एकैपटक ठेक्का लिइएको उनले बताए । अब गुलरियाको काम सकिएकोले केही हप्तामै खजुराको सडक पनि निर्माण सम्पन्न भइसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?