आकर्षणको केन्द्र बन्दै ‘लक्ष्मीनारायण धर्मशाला’

लोकपथ
21
Shares

कुनै समय पुनः निर्माण हुन नसकेर ओझेलमा परेको लक्ष्मीनारायण धर्मशाला यतिबेला सबैको रोजाइमा पर्न थालेको छ । अहिले यहाँ दैनिक दुई सय बढी आन्तरिक पर्यटक अवलोकन गर्न पुग्ने गरेका छन् । जीर्ण अवस्थामा रहेको सो धर्मशालालाई पुरानै शैलीमा पुनःनिर्माण गरिएपछि सबैलाई लोभ्याएको छ ।

कलात्मक शैलीमा पुरानै स्वरुपमा बनाइएको धर्मशाला यतिबेला सामाजिक सञ्जाल, टिकटक, फेसबुकमा चर्चा बढ्दै गएको छ । आकर्षक बुट्टा भरेर चिटिक्क परेको धर्मशाला साथीहरुसँग अवलोकन गर्दै टिकटक बनाउन, फोटो तथा भिडियो खिच्न आएको कृष्णकला श्रेष्ठले बताए ।

“हेर्दै आकर्षक खालको धर्मशाला बनेको छ, पुराना काष्ठकलाको प्रयोग गरिएको हुँदा यसले सबैलाई लोभ्याएको छ, रामपुरमा परम्परागत शैलीमा सबैलाई आकर्षित बनाउने संरचना तयार भएको छ”, उनले भने । रामपुर नगरपालिका–४ स्थित खोप्टारमा रहेको धर्मशाला हालसालै पुनः निर्माणको संरचना तयार भएपछि अवलोकन गर्नकै निम्ति आन्तरिक पर्यटक पुग्दछन् । यहाँ विवाहको बेहुला बेहुली फोटो तथा भिडियो कैद गर्न आउने गरेको स्थानीय जयन्ती घिमिरे बताउछन् । विहान उज्यालो भएदेखि राति अबेरसम्म धर्मशालामा आउने जाने क्रम चलिरहेको घिमिरेले बताए ।

कालीगण्डकी बेँसीको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको धर्मशालामा २०७२ सालको भूकम्पबाट क्षति पुगेको थियो । त्यसको पौराणिक अस्तित्व बचाइ राख्न पुरानै शैलीमा पुनःनिर्माण गरिएको हो । लक्ष्मीनारायण गुठी सञ्चालन संस्थाको स्वामित्वमा धर्मशाला ९गुठी० का रुपमा सञ्चालन हुँदै आएको थियो । पुरातत्व विभागको विशेष पहलमा करिब रु तीन करोड छ लाख ५३ हजारको लागतमा पुनः निर्माण गरिएको छ ।

पुरानो धर्मशाला भुइँतलासहित तीनतले छ कोठा, दायाँ र बायाँ एक÷एक वटा बालापालीको थियो भने छानो झिँगटीको थियो । पहिला झिँगटीले छाइएको थियो भने अहिले लामो समयसम्म झिँगटीले काम नगर्ने भएपछि जस्तापाताले छाइएको छ । चन्द्रमा, सूर्य आकारका विभिन्न बुट्टाले भरिएका छन् । सुर्की, इँटा, ढुङ्गा, काठले तयार पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?