पूर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल सडक विस्तारको क्रममा पूर्वी नवलपरासीको सामुदायिक वनमा काटिएका काठ दाउरा कुहिँदै जान लागेका छन् ।
सडक विस्तारका क्रममा जिल्लाको मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक वनका तीन हजार आठ सय ३१ रुख काटेर सम्बन्धित सामुदायिक वनको घाटगददीमा राखिएका थिए । ती काठ दाउरा कुहिएर अहिले काम नलाग्ने अवस्थामा पुगेका हुन् ।
जिल्लाको सिख्रौली, शिसवार, र लामिचौर उपभोक्ता समितिअन्तर्गतका पाँच मध्यवर्ती वनमा काठ दाउरा करिब तीन वर्ष अगाडि काटेर राखिएको भए पनि सामुदायिक वन समितिले उपभोक्तालाई वितरण गर्न नपाउदा कुहिएर काम नलाग्ने अवस्थामा पुगेको कावासोती–१२ मा रहेको राजरत्न सामुदायिक वनका अध्यक्ष विष्णु लम्सालले बताए । “सडक निर्माण कम्पनी या चितवन राष्ट्रिय निकुञ्ज कस्को कारणले रोकिएको हामीलाई जानकारी छैन, वनमा काठ कुहिएर काम नलाग्ने अवस्थामा छन्”, उनले भने ।
नारायणघाट बुटवल सडक आयोजना विस्तार गर्ने क्रममा रुखबाट निस्किएका काठ र दाउरा आफूहरुले सम्बन्धित सामुदायिक वनमा घाटगददीमा सुरक्षा गार्डको निगरानी राखेको भए पनि चितवन राष्ट्रिय निकुञ्जले आवश्यक प्रक्रिया ढिलो गरेका कारणले काठ र दाउरा सामुदायिक वनका उपभोक्ताले पाउन नसकेको सडक आयोजनाको कावासोती कार्यालयका आयोजना व्यवस्थापक राकेश झाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया