साबुन–तेलको जोहो गर्न झोलामा ‘हजारे पसल’

लोकपथ
39
Shares

बझाङ। अगाडितिर गाउँतर्फ धार फर्किएको जडारीगाड । आवतजावत गर्नेहरू गाउँ भएरै हिँड्थे । किनमेल गर्न जानेको लर्को । विश्रामस्थल खातीगाउँ । गाउँमा पसलको कमी ।

यस्तै कारणले प्रेमबहादुर खातीले सुरु गरे, ‘हजारे पसल’ । रु एक हजारमा दैनिक प्रयोगमा आउने सलाई, साबुनदेखि चकलेट, बिस्कुट सुपारीसम्मको पसल ।

बर्खे भेलले सडक बगाएको मौकामा सुरु गरेको पसललाई अहिले पनि उनले निरन्तरता दिएका छन् । पहिले खोलाले फर्काएको धारमा अहिले सडक बनेको छ । आवतजावत गर्नेहरू सडकबाटै गए पनि उनको पसलका ग्राहक गाउलेहरू नै छन् ।

खप्तडछान्ना गाउँपालिका–१ खातीगाउँका उनी गत वर्ष आएको बाढीपछि बेसहारा बनेका हुन् । बाढीले सर्वस्व गुमाएसँगै उनको परिवारले आफन्तको छानोमा टाउको लुकायो । आफन्तहरूले लुगाकपडादेखि भाँडाकुँडा, खानेकुरा सबै सहयोग गरे । दाताले उपलब्ध गराएको खाद्यान्नले अहिलेसम्म गुजारा भएको छ ।

मध्यम वर्गीय खाती परिवारलाई गत वर्षेदेखि खाने गाँस न कमाउने जमिन भएको छ । “घर न घाटजस्तै भयो”, उनले भने, “वर्षभरि खाद्यान्न पुग्ने, सडकमै घर, उत्पादित वस्तु बेच्न सक्ने अवस्थामा थियौँ । गत वर्ष जडारीगाडले सम्पूर्ण जायजेथा लुट्यो ।”

अहिले उनको परिवारलाई न गाउँमा स्थापित हुने अवस्था छ, नत विस्थापित भएर अन्य ठाउँ जाने नै । त्यही अवस्थालाई भुलाउने काम उनको पसलले गरिरहेको छ । उनको त्यो पसल पनि कारूणिक छ । गाउँमा बाटो खन्ने योजना आएपछि उनी आफैँ काममा गए । गरिबी निवारणबाट आएको योजनामा बाटो काट्ने काम गरेका खातीले दुई–तीन दिन काम गरेको पैसा मागे । बिहानै तमैल बजार गएर रु एक हजारसम्मको सामान ल्याए ।

बाटो बनाउने कामदारलाई चकलेट, बिस्कुट, बिँडीलगायतका सामान चाहिने भएपछि उनले सामान ल्याएर काम गर्ने ठाउँमै लिए पछि बाटोको काम सकिएपछि घरमै राखे । “गाउँदेखि बयलपाटासम्म २५–३० मिटरसम्म बाटो काट्यौँ”, खातीले भने,“बाटो काट्दा हामीले दैनिक रु सात सय ज्याला पायौँ । त्यसबाट आएको पैसाले पसलकै सामान थपेँ ।”

उनका अनुसार आठ दिनसम्म गरेको कामबाट रु पाँच हजार मिल्यो । पसल थपेपछि आफूलाई साबुन सरप किन्न फाइदा भएको उनले बताए । “दैनिक दुई अढाइ सय बराबरको सामान बिक्री हुन्छ”, उनले भने, “त्यसबाट फाइदा त रु २०–२५ मात्रै हो । कहिलेकाहीँ रु एक सय जति पनि फाइदा हुन्छ । त्यसबाट साबुन सरप आउँछ ।”

घरमा रोजगारी कोही नभएको हुँदा नुनतेलका लागि भए पनि केही राहत हुने भन्दै पसल सुरू गरेको उनले बताए । “कमाउने मान्छे कोही छैन । आफू वृद्ध भइसकेँ । खेतबारी नि छैन । छोरोको अवस्था (प्यारालाइसिसको बिरामी) त्यस्तै छ ।” उनले आफू वृद्धले केही गर्न सक्ने बताए । “अब म बूढो कसरी के गरिखाउँ ? दिन बिताउनै निकै आपत् परेको छ ।”

अहिले उनको परिवारमा छ जना सदस्य हुनुहुन्छ । नाति नातिनीसहित छोरा–बुहारी र उहाँको दम्पती सबै बेसहाराजस्तै बनेको उनले सुनाए । प्रेमबहादुरकी बुहारीले घरमा एक गाई पालेकी छन् । उनको दैनिकी दिनभर त्यसको स्याहारमै बित्छ । “अलि–अलि भएको खानेकुरा पनि निल्न सकिँदैन, त्यसैले एउटा सानो गाई पालेका छौँ”, उनले भने ।

अहिले खातीको परिवार बसेको छिमेकीको घर पनि सुरक्षित छैन । “यता सुरक्षित खासै छैन । तलपट्टी पूरै खोलै छ । घरवाला तराई गएका हुनाले त्यसैले यहाँ बसेका हौँ”,उनले भने । खाती दिनभरि पसल बाहिर फिजाएर राख्छन् भने साँझ बोरामा हालेरभित्र लिन्छन् । “मेरो दैनिकी पनि यस्तै बितेको छ”, उनले भने ।

अहिले खातीका चार–छ वर्षका नाति–नातिनी बयलपाटा खातीगाउँकै विद्यालयमा पढछ्न् । उनीहरुलाई कापी–कलम पनि हुन्छ कि भनेर पसल सुरू गरेको उनले बताए । “काम केही छैन, कतै जाने ठाउँ पनि छैन”, उनले भने , “दिन काट्न पनि निकै गाह्रो हुन्छ । जग्गा–जमिन केही छैन । दिनभर म वृद्धसँग बस्ने कोही छैन । त्यसैले यो पसलमा भुलिरेहको छु ।”

प्रेमबहादुरका छोरा निकै अपाङ्ग छन् । केही वर्ष पहिले त खाना पनि अरूले नै खुवाउनुपथ्र्यो । अहिले पनि हातखुट्टा चल्दैन । “छोराको हात–खुट्टा चल्दैन । दायाँ हात, दायाँ खुट्टाको भाग पूरै नचल्ने छ । अहिले खाना खुवाउनु त पर्दैन । बायाँ हातले खान सिकिहाल्यो”, उनले भने ।

“छोराको समस्या भएको (प्यारालाइसिस) छ–सात वर्ष भइसक्यो । उपचारका लागि धेरै ठाउँमा लियौँ, कतै सम्भव नभएर अहिले घरमै थन्किनुपरेको छ”, उनले भने ।

अस्पतालदेखि गाउँघरतिर सबैलाई सहयोग मागेको उपचारीय सहयोग खर्चमात्रै भएको तर, निको नभएको उनले बताए । “के पो भयो खै ! कहाँ हड्डीमा रोगले समात्यो भन्ने छ । जडीबुटी पनि सबै गरेका हौँ तर केही भएन ।”

अहिले उनले परिवारको गुजारा कसैले दिए खाने नत्र भोकै बस्ने छ । “खोला नजिक भएको हुँदा कहिलेकाहीँ त माछा मारेर भए पनि छाक टार्छौँ । जालमा तीन–चार माछा परे पनि त्यसैमा पानी हालेर झोल बनाउँदै एक–एक रोटी खाएका छाक धेरै छन् ।”

खातीगाउँमा प्रेमबहादुरको जस्तै धेरै परिवारको समस्या छ । गाउँमा घरबाहेक केही नभएका सबै गाउँले अहिले कामको खोजीमा भौँतारिरहेका छन् । “दुई परिवारको घरसहित केही बाँकी रहेन”, स्थानीय सुरेन्द्र खातीले भने, “बाँकी गाउँलेको पाइला टेक्नलाई पनि जमिन रहेन । अहिले सबै रोजगार तथा अन्य ठाउँको खोजीमा छन् । सरकारी निकायबाट सधैँ बेवास्ता भइरह्यो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?