रुपन्देहीमा नेपाल–भारत संयुक्त सैनिक अभ्यास शुरु

लोकपथ
65
Shares

काठमाडौं । नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास शुरु भएको छ । यही पुस एक गते देखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याट्ल स्कूलमा मध्य पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी याम प्रसाद ढकालले एक विशेष कार्यक्रमका सैन्य अभ्यासको शुभारम्भ गरेका हुन ।

विपद् व्यवस्थापनको समयमा उद्दार र स्वास्थ्य उपचार लगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषयहरु समावेश गरी सञ्चालन भएको उक्त संयुक्त अभ्यासको यो १६ औं संस्करण हो । नेपाली सेनाबाट प्रमुख सेनानी विमल कुमार वाग्लेको नेतृत्वमा तीन सय ३४ जना र भारतीय सेनाबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा तीन सय ३४ जना सहभागी गराई सञ्चालन भएको उक्त संयुक्त अभ्यास आगामी पुस १४ गते सम्पन्न हुने कार्यक्रम रहेको छ ।

यसअघि नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सुर्य किरणको पन्ध्रौं संस्करण मित्रराष्ट्र भारतको पिथौरागढमा सम्पन्न भएको थियो । वि.सं. २०६७ सालबाट नेपाल र भारतमा वार्षिक रुपमा आलोपालो गरि सञ्चालन हुँदै आएको संयुक्त अभ्यास हालसम्म दुवै देशमा गरी १५ पटक सफलता पूर्वक सञ्चालन भई सकेको नेपाली सेनाले जनाएको छ ।

यो संयुक्त अभ्यासमा फौजहरुले प्रतिविद्रोह तथा प्रतिआतंकवाद लगायत जंगलमा गर्नुपर्ने युद्धकला र विपद् व्यवस्थापन सम्बन्धि सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा अभ्यास गर्ने छन् । यस अभ्यासमा नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान हुनेछ ।

यस किसिमको सैनिक अभ्यासले दुई देश बीच सदियौं देखि रहेको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने तथा दुवै देशका सेनाहरु बीच आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?