उदयपुरको गाईघाटमा स्तन क्यान्सर परीक्षण र जनचेतना जगाउन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

लोकपथ
28
Shares

काठमाडौं ।  गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिको आयोजना तथा पहलमा उदयपुरको गाईघाट त्रियुगा हाईस्कुलमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना सम्पन्न भएको छ । शिविरमा उदयपुरका विभिन्न ग्रामीण भेगबाट ३ सय भन्दाबढी महिलाले सहभागीता जनाएका थिए ।

स्वास्थ्य शिविरमा त्रियुगा नगरपालिका वडा नम्बर ११ र उदयपुर जेसीको सहयोग रहेको थियो । परराष्ट्रमन्त्री डा. नारायण खड्काले स्वास्थ्य शिविरको उद्घाटन गर्दै यस्तो नोबेल र मानवीय कार्यका लागि गैरआवासीय नेपाली संघलाई धन्यवाद दिएका थिए ।

स्वास्थ्य शिविरको संयोजन स्वास्थ्य समितिका सभापति डा. सञ्जीव सापकोटाले गरेका थिए । महिलाहरुको जाँच गर्ने विज्ञहरुमा क्यान्सर रोग विशेषज्ञ डा अरुण शाही रहेकी थिईन भने डा पूनम केसी, नर्भिक अस्पतालका नर्सिङ निर्देशक; उदयपुर जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. अमृत कर्णले परिक्षणका दौरान सक्रियताका साथ सहयोग गरेका थिए ।

उदयपुर जेसिसकी सुश्री साबु थापाको सहयोगमा स्वास्थ्य शिविरको तयारी र व्यवस्थापन; गाईघाटका फर्मासिस्ट ब्रम्हदेव महतो र त्रियुगा नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष सुमन्त कोइरालाको पनि उपस्थिति रहेको थियो । स्वास्थ्य शिविरको बारेमा समुदायले राम्रो प्रतिक्रिया दिँदै यसपटक सहभागी हुन नसकेका महिलाले स्वास्थ्य लाभ लिन सक्ने गरी यस्तो शिविर दोहोर्‍याउनुपर्ने बताएका थिए ।

यस अघि गत महिना संघकी कार्यकारी अध्यक्ष रविना थापाले गाईघाटको भ्रमण गरेको र सो क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए । उनले स्वास्थ्य शिविर सञ्चालन गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?