ट्रिपरको ठक्करले युवकको मृत्यु भएपछि तारकेश्वरमा तनाव, हत्या भएको स्थानीयको आरोप

लोकपथ
208
Shares

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकास्थित चिसापानीमा ट्रिपरको ठक्करबाट स्थानीय सविन फुयाँलको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ । त्यसक्रममा प्रहरीले अश्रु ग्याँस नै प्रहार गरेको छ ।

आइतबार राती करिब १० बजे चिसापानी पेट्रोलपम्प नजिक मोटरसाइकलमा सवार २३ वर्षीय फुयाँल ट्रिपरको ठक्करबाट गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएपछि आक्रोशित स्थानीयले विरोध प्रदर्शन गरेका हुन् ।

ट्रिपरले ठक्कर दिएको भनिए पनि उनको मृत्यु रहस्यमय तरिकाले भएको भन्दै स्थानीयहरुले विरोध प्रदर्शन गरेका हुन् । आन्दोलनमा उत्रिएका स्थानीयले घटनाको सत्यतथ्य छानबिनको माग गरेका छन् । आन्दोलनकारी र प्रहरीबीच भिडन्त बढेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्याँस नै प्रहार गरेको हो ।

दुर्घटना सडकमा भएको भएपनि फुयाँल सडकभन्दा निकै पर रहेको बालुवाको थुप्रोमा छट्पट्याइरहेका भेटिएको स्थानीयले बताएका छन् । उनको घाँटीमा धारिलो हतियार प्रहार गरिएकाले दुर्घटना मात्रै मृत्यु कारण नभएको स्थानीयको आशंका छ । प्रहरीले पनि घटनास्थलबाट रगतको टाटो भएको सावेलसमेत भेट्टाएको छ ।

आक्रोशित स्थानीयले दुईवटा ट्रिपर तोडफोड गरेका छन् भने परिस्थिति नियन्त्रण बाहिर जान नदिन प्रशासनले उक्त स्थानमा ठूलो संख्यामा प्रहरी खटाएको छ ।

घटना रहस्यमय हुनुमा सडकमा ट्रिपरसँग ठोक्किएको फुयाँलको मोटरसाइकल घटनास्थल भन्दा ठीक पारी पट्टीको डिपोभित्र भेटिनु पनि रहेको स्थानीयले बताएका छन् । सोहीस्थानमा ठक्कर दिने ट्रिपर पनि पार्क गरेर राखिएको उनीहरुको भनाइ छ ।

सडकमा भएको दुर्घटनामा फुयाँल सडक पारी पट्टी बालुवाको थुप्रोमा हुनु र उनी सवार मोटरसाइकल भने डिपोभित्र पार्क हुनुलाई स्थानीयले संयोग मान्न सकेका छैनन् । उक्त डिपोको ट्रिपरले नै फुयाँललाई ठक्कर दिएको थियो । हाल उक्त ट्रिपर चालक र डिपोका मालिक फरार रहेको प्रहरीको बालाजु वृत्तले जनाएको छ ।

मृतक फुयाँलको शव भने पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

हेर्नुहोस् भिडियो :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?