सबिन फुयाँल मृत्यु प्रकरण : घटनास्थल तनावग्रस्त, स्थानीय आक्रोशित

लोकपथ
1.2k
Shares

काठमाडौं । काठमाडौंको तारकेश्वर–३ चिसापानीमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएसँगै घटनास्थल तनावग्रस्त भएको छ ।

आइतबार राति चिसापानी पेट्रोलपम्प नजिक मोटरसाइकलमा सवार २३ वर्षीय सबिन फुयाँललाई ट्रिपरले ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका फुयाँलको उपचारको क्रममा मृत्यु भएको हाे।

ट्रिपरको ठक्करबाट मृत्यु भएको भनिए पनि उनको मृत्यु रहस्यमय तरिकाले भएको भन्दै स्थानीयहरुले विरोध गरेका छन् ।

चिसापानीमा स्थानीयहरुले घटनाबारे सत्यतथ्य छानबिनको मागसहित आन्दोलन  गरेका छन् ।

सडकमा ठक्कर दिए पनि फुयाँल सडकभन्दा केही तल फेला परेका थिए । दुर्घटना भएको भए पनि मृतक फुयाँलको घाँटीमा काटेको जस्तो देखिन्छ । जसको कारण उनको मृत्यु ट्रिपरको ठक्करबाट मात्र नभइ हत्या भएको जस्तो देखिने एक स्थानीयले लोकपथलाई बताए ।

‘ट्रिपरको ठक्करबाट मृत्यु भएको भनिए पनि उनको शरिर सडकबाट निकै तल भेटिएको थियो । ठक्करपछि पनि उनीमाथि आक्रमण भएको जस्तो देखिन्छ ।’ ती स्थानीयले भने, ‘मृतकको घाँटीमा काटेको जस्तो देखिन्छ ।’

स्थानीयले विरोध गरेसँगै सो स्थानमा ठूलो संख्या सुरक्षाकर्मी परिचालन गरिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?