राजस्व कार्यालयका कर्मचारी हाैँ भन्दै रकम असुल्ने आठ जना पक्राउ

लोकपथ
143
Shares

काठमाडौं । आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौँ भन्दै कर असुलीको नाममा ठगी र किर्ते काम गर्ने आठ जनालाई  प्रहरीले पक्रेको छ ।  उनीहरूलाई काठमाडौंको नयाँ बसपार्कबाट प्रकाउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

पक्राउ गरिएकामाथि अनुसन्धान भइरहेको परिसरका प्रमुख एवम् वरिष्ठ प्रहरी उपरीक्षक भरतबहादुर बोहाेराले जानकारी दिए । उनीहरूले आफूहरू आन्तरिक राजस्व कार्यालय लाजिम्पाटको कर्मचारी भएको भन्दै बसपार्क क्षेत्रका होटल, रेस्टुरेन्ट, पसलबाट रकम असुल गरेको प्रहरीले जनाएकाे छ ।

पक्राउ पर्नेमा पूर्वी नवलपरासीका मीनबहादुर विश्वकर्मा, अछामकी सागरजंग लुहार र दुधकला विश्वकर्मा, पाँचथरकी सृजना भट्टराई, सिन्धुपाल्चोककी प्रमिसा तामाङ, नुवाकोटकी अञ्जना तामाङ, कञ्चनपुरका राजीव विष्ट र डेविड धामी छन् ।

उनीहरूको साथबाट आन्तरिक राजस्व कार्यालयको नाममा छापिएको लेटर प्याड, नगद रसिदसहित पाँच लाख आठ हजार छ सय ४० रुपैयाँ पनि बरामद गरिएको वरिष्ठ प्रहरी उपरीक्षक बोहाेराले बताए ।

उनीहरूमाथि प्रहरीले ठगी र किर्ते गरेको अभियोगमा मुद्दा चलाउने तयारी गरिरहेको छ । अहिले पीडितहरूको उजुरी लिने काम भइरहेको पनि प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?