सुदूरपश्चिम प्रदेशसभा : समानुपातिकमा कैलाली र कञ्चनपुरको बर्चश्व

काठमाडौं । दलहरुले समानुपातिक प्रणाली अन्तर्गत बन्दसूचीमा रहेका उम्मेदवारको नामावली विवरण निर्वाचन आयोगमा पेश गरेका छन् । सुदूरपश्चिम प्रदेश सभामा ६ राजनीतिक दलले शनिबार समानुपातिक तर्फका सांसदको सूची आयोगमा बुझाएका हुन् ।

यहाँ ‘थ्रेसहोल्ड’ कटाएर समानुपातिक सिट सुरक्षित गरेका नेपाली कांग्रेसले ७, नेकपा (एमाले) ले ७, नेकपा (माओवादी केन्द्र) ले ३, नागरिक उन्मुक्ति पार्टीले २, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ र नेकपा (एकीकृत समाजवादी) ले १ जना समानुपातिक सांसद चयन गरी पठाएका हुन् ।

आयोगमा पठाइएका सांसदको सूचीमा अधिकांश कैलाली र कञ्चनपुरका छन् । समानुपातिक तर्फका २१ सांसदमध्ये कञ्चनपुरबाट ८ जना र कैलालीबाट ५ जना छन् । बैतडीबाट १, बाजुराबाट २, डोटीबाट १, डडेल्धुरा २ र दार्चुलाबाट १ जना छन् ।

प्रदेश सभामा नेकपा (एमाले) ले खस–आर्यतर्फ राजेन्द्रसिंह रावल (बैतडी), धर्मराज पाठक (कैलाली), सन्तोषकुमारी शर्मा थापा (बाजुरा), जानकी बम ऐर (कञ्चनपुर) पिछडिएको क्षेत्रतर्फ निर्मलादेवी साउद (डोटी), थारुतर्फ कोइलीदेवी चौधरी (कञ्चनपुर) र दलिततर्फ हीरा सार्की (कञ्चनपुर) को नाम बुझाएको छ ।

त्यस्तै, प्रदेश सभाको अर्काे ठूलो दल नेपाली कांग्रेसले खस–आर्यतर्फ मधु भारती (कञ्चनपुर), सरस्वती खड्का (डडेलधुरा), जुनाकुमारी दानी (बाजुरा), डम्मरी महरा (रक्षा) (कञ्चनपुर) र तुलसी देवकोटा (कैलाली) छन् । थारुतर्फ गीताकुमारी चौधरी (कञ्चनपुर) र दलिततर्फ ललिता सुनार (कैलाली) को नाम छनोट गरी पठाएको छ । नेकपा (माओवादी केन्द्र) ले खस–आर्यतर्फ गीतादेवी माल (डडेल्धुरा), जानकीदेवी कुँवर (कञ्चनपुर) र दलिततर्फ लक्ष्मी विक (दार्चुला) को नाम पठाएको छ ।

नेकपा (एकीकृत समाजवादी) ले खस–आर्यतर्फ माया पन्त (कञ्चनपुर) को नाम पठाएको छ भने, नागरिक उन्मुक्ति पार्टीले (महिला र समावेशी नमिलेको) खस–आर्यतर्फ दामोदर पण्डित (प्यूठान) र थारुतर्फ सुनिता चौधरी (कैलाली) बाट सिफारिस गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले खस–आर्यमा खीमादेवी विष्ट (कैलाली) को नाम पठाएको छ ।

नामावलीमाथि जाँचबुझ गर्दै आयोग

निर्वाचन आयोगले दलहरुले पेश गरेको समानुपातिक सांसदको सूचीमाथि जाँचबुझ थालेको छ । आयोगले समानुपातिकतर्फको उम्मेदवार निर्वाचित गर्न दलहरूलाई गत बुधबार तीन दिनको समय दिएर क्लस्टरअनुसार सांसदको नाम पठाउन पत्राचार गरेको थियो । दलहरूलाई दिइएको उक्त समयसीमाभित्र शनिबार दलहरुले नामावली बुझाएका हुन् ।

शनिबार अपरान्ह ४ बजेभित्र सांसदका नाम पठाउन समय दिइए पनि राति अबेर दलहरूले नाम पठाएका थिए । सोही अनुसार ‘थ्रेसहोल्ड’ कटाएका सबै दलले समानुपातिक तर्फको उम्मेदवार निर्वाचित गर्न नामावली बुझाएका हुन् । दलहरुले बुझाएका समानुपातिक सूचीमाथि निर्वाचन आयोगले ‘कलस्टर’ या समावेशी भए, नभएको जाँचबुझ गर्नेछ ।

समानुपातिक समावेशी सिद्धान्तअनुसार ‘कलस्टर’ मिलाएर दलहरुले नाम नदिएको अवस्थामा आयोगले नाम सच्चाउन आइतबार र सोमबारको समय दिएको छ । दलहरुले पठाएका नाममा कुनै त्रुटी पाइए या ‘कलस्टर’ मिचेर खसआर्य, महिला, पिछडिएको क्षेत्र, दलित, अल्पसंख्यक वर्गको प्रतिनिधित्व नभएमा आयोगले सच्चाएर नाम पठाउन पत्राचार गर्ने आयोगका सूचना अधिकारी एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

सबै सूची मिलेर आएको छ भन्नेमा आयोग विश्वस्त छ भन्दै अर्यालले भने, ‘आयोगले खासगरी महिलाको एकतिहाई पुगे नपुगेको, दलहरुको प्रतिनिधित्व भए नभएको र सबैै कलस्टर अनुसार भए नभएको हेर्ने हो । त्यहीअनुसार जाँचबुझ गर्ने काम भएको छ ।’ दलहरूको समानुपातिक सूची केन्द्र र प्रदेश गरी आठ ठाउँमा छ । आवश्यक जाँच र दलहरूको तयारीअनुसार सबै कार्य सम्पन्न गरी आयोगले सम्भवतः सोमबार समानुपातिक सांसदको नामावली सार्वजनिक गर्ने छ ।

यी सबै प्रक्रिया सम्पन्न गरी यही मंसिर अन्तिमसम्ममा प्रतिनिधि सभाको राष्ट्रपतिलाई र प्रदेशमा सम्बन्धित प्रदेश प्रमुखलाई निर्वाचनको विवरण बुझाउने आयोगको लक्ष्य रहेको सहायक प्रवक्ता अर्यालले बताए । त्यसपछि नयाँ सरकार गठन र नयाँ संसद् बैठकको तयारी प्रारम्भ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?